मकवानपुर । प्राचीन संस्कृति र ऐतिहासिक सम्पदाकाे पनौती स्थित त्रिवेणीघाट क्षेत्रको संरक्षणका लागि पहल गरिएकाे छ।
काठमाडौं विश्वविद्यालयका आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले त्रिवेणीघाट क्षेत्रको सांस्कृतिक सम्पदाको विस्तृत नक्साङ्कन तथा संरक्षणका सम्भावित प्रस्तावहरू तयार पारी पनौती नगरपालिकाकालाई हस्तान्तरण गरेका छन् ।
आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका २६ जना विद्यार्थीको टोलीले त्रिवेणीघाट क्षेत्र संरक्षण प्रस्ताव पनौती नगरपालिका प्रमुख र उपप्रमुखलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । करीब ५ महिनाको सम्पदा अध्ययन, नापजाँच लगायतका काम पछि तयार पारिएको प्रतिवेदनको चित्रसहित पनौतीको लायकु स्थानमा प्रदर्शनी गरिएको थियो ।
विद्यार्थीहरूको टोलीले तयार पारेको प्रतिवेदनमा त्रिवेणीघाट क्षेत्रका मूख्य सम्पदाहरू – जस्तै ऐतिहासिक मन्दिरहरू, पुराना धारा–पाटी, प्राचीन वस्ती संरचना, घाट तथा धार्मिक आयोजनाका स्थानहरूको नक्साङ्कन गरिएको छ। यसैगरी उक्त क्षेत्र संरक्षणका लागि उपयुक्त निर्माण प्रविधि, हरित संरचना, संवेदनशील पुनःस्थापना उपाय, सामुदायिक सहभागिता तथा दीर्घकालीन व्यवस्थापन रणनीतिहरूसमेत समेटिएको आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थी अंकित श्रेष्ठले बताए ।
प्रस्ताव ग्रहण गर्दै पनौतीका नगरप्रमुख रामशरण भण्डारीले विद्यार्थीहरूबाट प्राप्त प्रस्तावलाई गम्भीरतापूर्वक लिइने र आगामी नगर योजना तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्रिवेणीघाटको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व स्मरण गर्दै यस किसिमको प्राविधिक अध्ययनले संरक्षण अभियानलाई दिशा दिने विश्वास व्यक्त गरेका छन् ।
‘त्रिवेणीघाट संरक्षण सम्बन्धी प्रदर्शनी’ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री एकालाल श्रेष्ठले आर्किटेक्ट अध्ययनरत विद्यार्थीहरूको अथक मेहनत कार्यले पनौतीको समृद्ध इतिहासलाई संरक्षण गर्न मद्दत पुर्याउने बताए । यस प्रतिवेदनले पनौतीको यस क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका-५ बुङदलमा मानबहादुर शिवभक्तीले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेका हुन् ।
माइतीमै बस्दै आएकी ४० वर्षीय दुर्गालक्ष्मी शिवभक्तीलाई शनिबार बिहान ४५ वर्षीय मानबहादुरले हत्या गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । दुर्गालक्ष्मी उच्च रक्तचापका कारण प्यारालाइसिस भइ बोल्न समेत नसक्ने अवस्थामा रहेकाे बताइएकाे छ । दुर्गालक्ष्मीको हत्या गरी मानबहादुरले आत्महत्या प्रयास समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मानबहादुरले आत्महत्या गर्न प्रयोग गरेको डोरी चुँडिएपछि प्रहरी समक्ष आत्मसमर्पण गरेकाे मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटा अस्पताल भर्ना हुनु भएकाे छ । प्रदेश प्रमुख देवकाेटा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल,धापासी काठमाडाैंमा बिहीबार भर्ना हुनु भएकाे हाे ।
चिकित्सहरुको परामर्श बमोजिम प्रदेश प्रमुख देवकोटा अस्पताल भर्ना हुनु भएकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । प्रदेश प्रमखुकाे स्वास्थ्यमा बुधबार राती एक्कासी समस्या आएपछि उहाँ बिहीबार बिहानै काठमाडौं उपचारकाे लागि जानु भएकाे प्रदेश प्रमुख कार्यालयले जनाएकाे छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुख बिरामी भएर काठमाडौं जानु भएकाे विषयमा “अस्पतालमा भेटिएनन्” भनेपछि प्रदेश प्रमुखकाे सचिवालयले ग्राण्डी अस्पतालमा उपचाररत तस्बिर सार्वजनिक गरेको हाे भने विज्ञप्ति समेत निकालेकाे छ । प्रदेश प्रमुखकाे सचिवालयले प्रदेश प्रमुख अचानक बिरामी पर्नु भएकाेले अस्पताल भर्ना गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ।

मकवानपुर । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार भएकाे दुर्घटनामा स्कुटरमा सवार अर्का एक जान गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर – ७ रमनटारमा ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौडा तर्फ आउँदै बागमती प्रदेश ०३-०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियो । ट्रककाे ठक्करबाट स्कुटर चालक चितवन भरतपुर महानगरपालिका-११ बस्ने ५२ वर्षीय मोति बहादुर क्षेत्रीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हाे । त्यसैगरी स्कुटरमा सवार भरतपुर महानगरपालिका ९ सरतपुरकी ३७ वर्षीय नरमाया गुरूङ घाइते भएकी छिन् । घाइते गुरुङकाे पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेकाे प्रहरीले जनाइएको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रक र चालक सप्तरी बाेदेबरसाइन नगरपालिका २ बस्ने ३५ वर्यीय अशोक यादव इलाका प्रहरी कार्यालय मनहरीकाे नियन्त्रणमा रहेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले ६ हजार ४४३ एम्पुल लागुऔषध डाईजेपामसहित ४ जना भारतीय नागरिक पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा देश भारत जिल्ला मोतीहारी गाँउ पाञ्चायत सुगौली पोष्ट थाना बन्जरीया ग्राम सुगौलीका २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत रहेका छन्।
शनिबार कुलेखानी हुदै काठमाण्डौ जादै गरेको BR05PA9093 नम्बरको भारतीय स्कारपियो गाडीलाई रोकी चेक गर्दा उक्त गाडी भित्र बिभिन्न भागमा फल्स बटम बनाई ल्याईएको अवस्थामा डाईजेपाम २ हजार २२६ एम्पुल, नुर्फिन २ हजार ३५६ एम्पुल, प्रोमेथाईजिन हाईड्रोक्लोराईड १ हजार ८६१ एम्पुल गरी जम्मा ६४४३ एम्पुल र ट्रामाडोल ४९ ट्याबलेट फेला पारी बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल बिपद व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएकाे प्रहरी टोलीले शनिबार बेलुका इन्द्रसरोवर गाउँपालिका – २ हेवीबाट उक्त लागुऔषध डाईजेपामसहित उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
उक्त लागुऔषध, सवारी साधन उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ ।