२०७८ सालको पहिलो दिन बिताएका छौ । नयाँ वर्षको पहिलो दिनलाई पर्वकै रुपमा मनाउने गरिए पनि यो वर्ष कोरोना भाइरसको कारण खासै उल्लाषमय बन्न सकेन । यसो त २०७७ साल पनि कोरोनाकै कहरको बेलामा सुरु भएको थियो । २०७७ साल नेपालको ईतिहासमा धेरैले दुखको साथ सम्झने वर्षको रुपमा रह्यो । कोरोनाको महामारी, राजनीतिक अस्थिरतालगायतको कारण धेरैले पीडादायी रुपमा विश्लेषण गर्ने भए २०७७ लाई । राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा २०७७ सालमा फेरी राजनीतिक अस्थिरताको लागि दाउपेच सुरु भयो । जसले केन्द्रीय स्तरमा मात्रै हैन, स्थानीय स्तरसम्म राजनीतिक रुपमा गहिरो प्रभाव परेको छ।
गत वर्ष आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउन तर्फ स्थानीय, प्रादेशिक तथा संघीय सरकारको तहबाट उल्लेख्य काम हुन सकेन । यसको दोष कोरोनालाई नै देखाइयो । जुन आमनागरिकको पनि जिम्मेवारी र दायित्वको सवाल थियो । स्वास्थ्य सुरक्षा र रोजिरोटीको जोहोमा मात्रै बितेको २०७७ लाई अब विस्तारै भुलेर नयाँ जोश, जाँगर र योजनाहरु लिएर हामी उठ्नुपर्छ । आम नेपालीले पीडादायी त्यो समयलाई बिर्सनको लागि प्रगतिका नयाँ आयामहरु खुल्नुपर्छ । तब मात्रै उल्लासका मुनाहरु टुसाउने छन्।
समृद्ध नेपाल र सुखी नेपाली नारालाई साकार पार्न, गलेका मनहरु, ढलेका जोश र हिम्मतहरु उठाउन अब नयाँ उत्साहको जरुरत छ । नयाँ उत्साहको लागि विगत जे जस्तो भए पनि त्यसलाई भुलेर, शोकलाई शक्तिमा बदलेर कर्म (काम) मा लाग्नु एकमात्रै विकल्प हो । तब मात्रै गन्तव्यलाई टु·ोमा पु¥याउन सकिन्छ । मर्म छाडौं कर्ममा विश्वास गरौं । नयाँ वर्ष २०७८ मा सबैलाई सकारात्मक उर्जा र सफलता प्राप्त होस् । बाधा व्यबधानबाट उन्मुक्ति मिलोस् सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रलयका अनुसार पीसीआर परीक्षणबाट ५ सय ८० जना र एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा देशभर ४ हजार २ सय ८९ जनाकाे पीसीआर र ४ सय २१ जनाकाे एन्टिजेन परिक्षण गरिएको थियो।
यस्तै पछिल्लाे २४ घण्टामा १ सय २९ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर ८० जना कोरोना संक्रमितको आइसीयुमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै मकवानपुरमा आज २ जनामा कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका २ का ४३ र ६० वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १५ जनामा गरिएको कोरोना परिक्षणमा थप २ जनामा संक्रमण देखिएको हो । यो संगै मकवानपुरमा पुष्टि हुनेको संख्या ३ हजार ९ सय १० पुगेको छ ।
मकवानपुरमा हालसम्म ३ हजार ८ सय ६० जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरानाको कारण हालसम्म ३२ जनाको ज्यान गएको छ ।
बाँकेमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि
यसैगरी बाँकेमा बुधबार एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा १ सय २३ जनाको पीसीआर परीक्षण गर्दा आज ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा १ सय २३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये आज ७५ जनामा संक्रमण पुष्टि भएको हाे ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्ने प्रयासमा प्रदेश सरकार लागि परेकाे बताएका छन् । मुख्यमन्त्री पौडेलले नयाँ वर्ष २०७८ काे शुभकामना दिदै नयाँ बर्षले समृद्ध नेपाल निर्माणको अभियानमा थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
“नयाँ वर्ष २०७८ को अवसरमा सामाजिक संञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित रहेको बताएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु”, शुभकामना सन्देशमा पाैडेलले भनेका छन् ।
सन्देशमा उनले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि निर्वाचनबाट प्राप्त जनादेशअनुसार जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको उल्लेख गरेका छन् । नयाँ संरचनाका अनेकौँ चुनौती सामना गर्दै यहाँसम्म आइपुग्दा केही उल्लेखनीय परिवर्तनहरु भएका छन् । विशेषगरी समाजका सबैभन्दा पछि रहेका वर्ग एवं समुदायको सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ ।
यसबीचमा उत्पादन एवं रोजगारी सिर्जना, कृषि, पर्यटन, उद्योग, यातायात, शिक्षालगायतका क्षेत्रमा महत्वपूर्ण परिवर्तनको बलियो आधार तय गरिएको छ । त्यसो त प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित छन् । हामी सबैको इमान्दार प्रयास, मेहनत र प्रतिबद्धताबाट समृद्ध नेपालको सपनालाई यथार्थतामा बदल्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।
- सरिता दाहाल
तिमी छौ र त म पुर्ण भएको छु
तिमी हरपल मेरो पिछा गरिरहन्छौ,
मलाई भित्र भित्रसम्म छामिरहन्छौ
काहाँ नेर कमजोर छ, त्यहाँ हानौं भनेर,
र त,
म हरपल आफूलाई
दरीलो गरि उभ्याउने जमर्को गरिरहन्छु,
हरपल आफ्ना कमजोरीहरु सुधार्न तत्पर रहन्छु।
तिमीले अप्रत्यक्ष रुपमा मलाई दिएको प्रोत्साहन,
मैले मेरी आमाबाट प्रत्यक्ष पाएको
हिम्मत जत्तिकै मुल्यवान् लाग्छन् मलाई,
किन थाहा छ ?
किनकी तिमीले पलपल मलाई
नतड्पाएको भए,
म कहाँ यसरी संयमित हुन सक्थे र ?
म कहाँ अभ्यास्त हुन्थे र, यसरी आँफैंमा ।
आफूले आफैंलाई आफ्नो
काबुमा राख्न पनि तिम्रो
टिकाटिप्पणिको ठुलै देन छ ।
मेरो दुःखमा तिमीले खुच्चिङ मारेका यादहरु,
म बिछिप्त हुंदा तिमीले कोट्याई
कोट्याई छरेका नुनचुकहरु,
मेरा यात्रामा अदम्य साहस बनेर
उभिएका छन् मेरा अघिल्तिर ।
र त
तिमी मेरा लागि सधैं अपरिहार्य छौ,
तिमीले यसैगरी मलाई पछ्याईरहु,
यसैगरी घरीघरी
कोट्याईरहु, बिच्काइरहु, टुटाईरहु
मेरा मन भित्र भित्र छुनेगरी,
तानिरहु मेरा खुट्टाहरु,
धुजाधुजा परिरहु
मेरा गन्तव्यका डोरीहरू,
तिमीलाई लाख लाख शुभकामना छ ।
आगामी पल झन्झन् फुर्तिला बनुन,तिम्रा कुटिल हाँसोहरू
झन्झन् बेहद बढिरहुन तिम्रा, चालबाजीहरू,
र , म,
तिमीलाई शुभकामना भनिरहन पाउँ ।
शुभकामना ।
हेटाैडा–५ मकवानपुर
मकवानपुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज बुधबारबाट ‘घटना दर्ता विशेष अभियान’ सुुरु गरेकाे छ । घटना दर्तालाई विशेष अभियानका रूपमा वैशाख १ देखि १६ गतेसम्म सबै स्थानीय तहमा सञ्चालन गरिएकाे विभागले जनाएकाे छ ।
सरकारले हरेक बर्ष वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवस र वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहकाे रूपमा यस अघी मनाउँदै आएकाे छ । सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले व्यक्तिगत घटना दर्तालाई उच्च महत्त्व दिँदै यस वर्ष घटना दर्तालाई विशेष अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागेको विभागले जनाएको छ ।
विभागले सबै स्थानीय तहलाई वैशाख १ देखि १६ गतेसम्म आ आफ्नो वडा तथा नागरिकलाई लक्षित गरी पायक पर्ने स्थानमा शिविर सञ्चालनमार्फत व्यक्तिगत घटना दर्तालाई अभियानका रूपमा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहयोग गरेको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए ।
२०७२ साल चैत्र १३ गतेदेखि काठमाडौँ महानगरपालिकाको वडा नं. १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुचारु गरेको विभागले हाल देशभरका ६ हजार सात सय ४३ वडामध्ये ४ हजार दुई सय ९६ वडामा अनलाइनमार्फत घटना दर्ता गरिरहेको छ ।
शिविरमा व्यक्तिगत घटना दर्ता गर्नेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको निवेदन सङ्कलन र व्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो दर्ता समेत गर्न सकिने बताइएकाे छ । देशभरका ६ हजार सात सय ४३ वटै वडा कार्यालय तथा स्थानीय तहले तोकेको स्थानमा अभियान सञ्चालन हुने विभागले जनाएकाे छ ।

अभियान सफल बनाउन आम नागरिकले सही समयमा सूचना प्राप्त गरेको अवस्थामा मात्रै उल्लेख्य सहभागिता रहने र सरकारको अभियान सफल हुने देखिन्ख । ‘नागरिक र राज्य दुबैका लागि घटना दर्ता महत्त्वपूर्ण छ, विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भने, ‘नागरिकलाई घटना दर्ता गर्दा राज्यबाट उपलब्ध हुने सेवा सुविधा लिन सहज हुन्छ र राज्यलाई नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन र विकास योजनाहरू तय गर्न मद्दत गर्छ ।’
अनलाइन व्यक्तिगत घटना दर्तालाई तीव्रता दिन सफ्टवेयर प्रणाली सञ्चालन गर्दै आएको विभागले २०७६/०७७ मा तीन हजार तीन सय वडाहरूमा अनलाइन प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, स्क्यानर, प्रिन्टर सफ्टवेयर लगायतका सामाग्री खरिदमा सहजिकरण गर्दै आएको छ ।
नागरिकको व्यक्तिगत घटना दर्ताका अभिलेख प्रत्यक्ष रूपमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित रहेकोले सरकारले जैविक विवरणसहित जारी गर्ने राष्ट्रिय परिचयपत्रका लागि जन्म दर्ता अनिवार्य रहेको छ । पञ्जीकरण(व्यक्तिगत घटना दर्ता), सामाजिक सुरक्षा भत्ता, तथा राष्ट्रिय परिचय पत्रको व्यवस्थापन सम्बन्धि जिम्मेवारी विभागले सम्हाल्दै आएको छ ।