मकवानपुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज बुधबारबाट ‘घटना दर्ता विशेष अभियान’ सुुरु गरेकाे छ । घटना दर्तालाई विशेष अभियानका रूपमा वैशाख १ देखि १६ गतेसम्म सबै स्थानीय तहमा सञ्चालन गरिएकाे विभागले जनाएकाे छ ।
सरकारले हरेक बर्ष वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवस र वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहकाे रूपमा यस अघी मनाउँदै आएकाे छ । सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले व्यक्तिगत घटना दर्तालाई उच्च महत्त्व दिँदै यस वर्ष घटना दर्तालाई विशेष अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागेको विभागले जनाएको छ ।
विभागले सबै स्थानीय तहलाई वैशाख १ देखि १६ गतेसम्म आ आफ्नो वडा तथा नागरिकलाई लक्षित गरी पायक पर्ने स्थानमा शिविर सञ्चालनमार्फत व्यक्तिगत घटना दर्तालाई अभियानका रूपमा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहयोग गरेको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए ।
२०७२ साल चैत्र १३ गतेदेखि काठमाडौँ महानगरपालिकाको वडा नं. १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुचारु गरेको विभागले हाल देशभरका ६ हजार सात सय ४३ वडामध्ये ४ हजार दुई सय ९६ वडामा अनलाइनमार्फत घटना दर्ता गरिरहेको छ ।
शिविरमा व्यक्तिगत घटना दर्ता गर्नेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको निवेदन सङ्कलन र व्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो दर्ता समेत गर्न सकिने बताइएकाे छ । देशभरका ६ हजार सात सय ४३ वटै वडा कार्यालय तथा स्थानीय तहले तोकेको स्थानमा अभियान सञ्चालन हुने विभागले जनाएकाे छ ।

अभियान सफल बनाउन आम नागरिकले सही समयमा सूचना प्राप्त गरेको अवस्थामा मात्रै उल्लेख्य सहभागिता रहने र सरकारको अभियान सफल हुने देखिन्ख । ‘नागरिक र राज्य दुबैका लागि घटना दर्ता महत्त्वपूर्ण छ, विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भने, ‘नागरिकलाई घटना दर्ता गर्दा राज्यबाट उपलब्ध हुने सेवा सुविधा लिन सहज हुन्छ र राज्यलाई नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन र विकास योजनाहरू तय गर्न मद्दत गर्छ ।’
अनलाइन व्यक्तिगत घटना दर्तालाई तीव्रता दिन सफ्टवेयर प्रणाली सञ्चालन गर्दै आएको विभागले २०७६/०७७ मा तीन हजार तीन सय वडाहरूमा अनलाइन प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, स्क्यानर, प्रिन्टर सफ्टवेयर लगायतका सामाग्री खरिदमा सहजिकरण गर्दै आएको छ ।
नागरिकको व्यक्तिगत घटना दर्ताका अभिलेख प्रत्यक्ष रूपमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित रहेकोले सरकारले जैविक विवरणसहित जारी गर्ने राष्ट्रिय परिचयपत्रका लागि जन्म दर्ता अनिवार्य रहेको छ । पञ्जीकरण(व्यक्तिगत घटना दर्ता), सामाजिक सुरक्षा भत्ता, तथा राष्ट्रिय परिचय पत्रको व्यवस्थापन सम्बन्धि जिम्मेवारी विभागले सम्हाल्दै आएको छ ।

