- सरिता दाहाल
तिमी छौ र त म पुर्ण भएको छु
तिमी हरपल मेरो पिछा गरिरहन्छौ,
मलाई भित्र भित्रसम्म छामिरहन्छौ
काहाँ नेर कमजोर छ, त्यहाँ हानौं भनेर,
र त,
म हरपल आफूलाई
दरीलो गरि उभ्याउने जमर्को गरिरहन्छु,
हरपल आफ्ना कमजोरीहरु सुधार्न तत्पर रहन्छु।
तिमीले अप्रत्यक्ष रुपमा मलाई दिएको प्रोत्साहन,
मैले मेरी आमाबाट प्रत्यक्ष पाएको
हिम्मत जत्तिकै मुल्यवान् लाग्छन् मलाई,
किन थाहा छ ?
किनकी तिमीले पलपल मलाई
नतड्पाएको भए,
म कहाँ यसरी संयमित हुन सक्थे र ?
म कहाँ अभ्यास्त हुन्थे र, यसरी आँफैंमा ।
आफूले आफैंलाई आफ्नो
काबुमा राख्न पनि तिम्रो
टिकाटिप्पणिको ठुलै देन छ ।
मेरो दुःखमा तिमीले खुच्चिङ मारेका यादहरु,
म बिछिप्त हुंदा तिमीले कोट्याई
कोट्याई छरेका नुनचुकहरु,
मेरा यात्रामा अदम्य साहस बनेर
उभिएका छन् मेरा अघिल्तिर ।
र त
तिमी मेरा लागि सधैं अपरिहार्य छौ,
तिमीले यसैगरी मलाई पछ्याईरहु,
यसैगरी घरीघरी
कोट्याईरहु, बिच्काइरहु, टुटाईरहु
मेरा मन भित्र भित्र छुनेगरी,
तानिरहु मेरा खुट्टाहरु,
धुजाधुजा परिरहु
मेरा गन्तव्यका डोरीहरू,
तिमीलाई लाख लाख शुभकामना छ ।
आगामी पल झन्झन् फुर्तिला बनुन,तिम्रा कुटिल हाँसोहरू
झन्झन् बेहद बढिरहुन तिम्रा, चालबाजीहरू,
र , म,
तिमीलाई शुभकामना भनिरहन पाउँ ।
शुभकामना ।
हेटाैडा–५ मकवानपुर

