मकवानपुर । मकवानपुर प्रहरीले गुण्डागर्दीमा संलग्न ५ जना नियन्त्रणमा लिएकाे छ ।
हेटौडा उप-महानगरपालिका वडा नं. १८ रामधुनी चाेक नजिक बैशाख २२ गते राती १० बजेको समयमा हेटौडा १८ रामधुनी चोक नजिक बस्ने बर्ष २४ को अजित नगरकोटी र बर्ष ३१ को बिनोद पहेलीलाई छुरा प्रहार गरी घाईते बनाएकाे बनाएकाे अाराेपमा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा हेटाैडा १८ का बर्ष १९ को रोमश मोक्तान, बर्ष २१ को बिकेश मोक्तान, बर्ष १८ को रोमन भन्ने रामकुमार मोक्तान, बर्ष २२ को किशन बयलकोटी र बर्ष २६ को रोशन भन्ने खड्क बहादुर मोक्तान रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । आराेपित ५ जनाले एक्कासि गुण्डा गर्दी शैलीमा विना कारण नगरकोटी र पहेलीलाई छुरा प्रहार गरी घाईते बनाएको खबर प्राप्त भए पछी प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट प्रहरी टोली खटिई गई आराेपितलाइ बैशाख २२ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
छुरा प्रहारबाट घाईतेलाई चुरेहिल अस्पतालमा पठाईएकोमा अवस्था सामान्य रहेको बताइएकाे छ । छुरा प्रहार गर्ने ५ जनालाई पक्राउ पछी पिडितबाट प्राप्त जाहेरी अनुसार ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा
यसै गरी प्रहरीले बैशाख २३ गते विहीबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लङ्घन गर्ने माेटरसाइकल तथा स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो १ वटा गरी जम्मा ९५ वटा सवारी साधनहरुलाई
नियन्त्रणमा लिईएको हाे । यस्तै निषेधाज्ञाकाे समयमा अटेर गरी पसल संचालन गर्ने ५ जना लाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
मकवानपुर । गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको सुन्धारास्थित न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा विहीबार निधन भएको हाे।
प्रेमध्वज प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।
प्रधानका घुम्तिमा नआउ है…पर लैजाउ फूलहरु….गोरेटो त्यो गाउँको….नमान लाज यसरि….हाँस्ने रहरहरू आँसुमा….तिमीलाई अचेल कहाँ भेटौं…यो नेपाली शिर उचाली लगायतका दर्जनौं गीत चर्चित छन् ।
नेपाली गीत संगीतका शिखर व्यक्तित्व प्रधान विभिन्न राष्ट्रिय सम्मानले सम्मानित भएका छन् । २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रो सँगै गायक प्रधान छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कारबाट सम्मानित भएका थिए।
मकवानपुर । मकवानपुरमा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।काेराेना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ५९ जना,थाहा नगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् ।
८८ जनाकाे पीसीअार परीक्षणमा ६३ जना पाेजेटिभ र ९ जनाकाे एन्टिजेन परीक्षणमा ५ जना पाेजेटिभ सहित ६८ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

मकवानपुर । बागमती प्रदेश सरकार संचार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताइएकाे छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संचार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका हुन ।
बिहीबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले संचार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संचार क्षेत्रलागि सहयोग पुग्ने खालकाे कार्यक्रम समेट्ने प्रतिबद्धता व्यक्त उनले व्यक्त गरे ।
प्रदेश सरकारले संचार क्षेत्रको विकासमा यस अघि पनि विभिन्न योजना अघि सारेको र प्रदेशमै पहिलो प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर त्यसमार्फत संचार क्षेत्रका समस्या समाधानमा टेवा पुगेको उनले दावी गरे । मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि पत्रकार महासंघमार्फत समानुपातिक विज्ञापन, जिल्ला महासंघ शाखामा सूचना केन्द्र स्थापनाका लागि आगामी आर्थिक बर्षमै नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिने बताए । उनले भने ‘सरकार पत्रकार र संचारमाध्यमको बृद्धि विकासका लागि सकारात्मक छ ।’
भेटघाटकै क्रममा महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पौडेलसमक्ष प्रस्ताव पत्र पेश गरेका छन् । संचारग्राम निर्माण र संचालन, प्रदेशभित्र संचालित संचारमाध्यममा समानुपातिक विज्ञापन, संचारक्षेत्रलाई उद्योगमा समेटन र मान्यता दिनुपर्ने, सुत्केरी पत्रकार महिला र कोरोना संक्रमित पत्रकारलाई लेखनवृत्ति, स्नातक र स्नात्तकोत्तर अध्ययनका लागि संचारकर्मीलाई छात्रबृत्ति वितरणलगायत माग राख्दै प्रस्ताव पत्र बुझाइएको अध्यक्ष देवकाेटाले बताए ।
मकवानपुर । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला (Molecular Lab) शुरु भएको छ । दोलखाको भिमेश्वर नगरपालिकास्थित चरिकोट अस्पतालमा आज बुधबार प्रयोगशालाको उद्घाटन गरिएको हो ।
प्रयोगशाला चौबिसै घण्टा चलाउने हो भने ५०० सयसम्म स्वाब परीक्षण गर्ने क्षमता रहेको जनाइएको छ । आज दक्ष जनशक्ति समेत लगेर प्रयोगशालाको उद्घाटन गरेको बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा.नारायण बहादुर कार्कीले बताए । सो प्रयोगशालामा दोलखा नजिकका दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट स्वाब संकलन गरेर ल्याउन सकिने कार्कीले बताए । चरिकोटमा प्रयोगशाला शुरु गरिएसँगै बागमती प्रदेशमा प्रयोगशालाको संख्या ६ पुगेको छ ।

यसअघि धुलिखेल, नुवाकोट, भक्तपुर, हेटौंडा, सिन्धुलीमा प्रयोगशाला संचालनमा रहेको छ । प्रयोगशाला निर्देशक डा. कार्कीका अनुसार यो मेसिन संसारमै अहिलेसम्म बनेको राम्रो मानिने मेसिन मध्येको हाे । यहाँ राखिएको मेसिनमा पीसीआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने कार्कीको बताए । प्रयोगशालामा माइक्रोबाइलोजिस्ट सहितको जनशक्ति अहिले भए पनि पुग्ने जनशक्ति नभएकाले प्रदेश सरकारसँग माग गरिएको डा. कार्कीले बताए ।

‘थप जनशक्ति प्रदेश सरकारले पठाउँछ’ –मन्त्री बस्नेत
बागमती प्रदेश, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पीसीआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला संचालनमा ल्याएको बताए ।
मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला संचालनमा ल्याएको र अहिले न्यूनतम जनशक्ति भए पनि थप जनशक्ति प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा संचालन गर्ने मन्त्री बस्नेतले बताइन् ।