मकवानपुर । गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको सुन्धारास्थित न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा विहीबार निधन भएको हाे।
प्रेमध्वज प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् । सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।
प्रधानका घुम्तिमा नआउ है…पर लैजाउ फूलहरु….गोरेटो त्यो गाउँको….नमान लाज यसरि….हाँस्ने रहरहरू आँसुमा….तिमीलाई अचेल कहाँ भेटौं…यो नेपाली शिर उचाली लगायतका दर्जनौं गीत चर्चित छन् ।
नेपाली गीत संगीतका शिखर व्यक्तित्व प्रधान विभिन्न राष्ट्रिय सम्मानले सम्मानित भएका छन् । २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रो सँगै गायक प्रधान छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कारबाट सम्मानित भएका थिए।

