मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो।
बागमती प्रदेशको मकवानपुर र लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा आज भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको स्वचालित वर्षा मापन केन्द्रका अनुसार, मकवानपुरको हेटौंडामा पछिल्लो १२ घण्टामा १२२ मिलिमिटर वर्षा भएको छ। मकवानपुरको रजैयास्थित वर्षा मापन केन्द्रले रजैया आसपास १२ घण्टामा २२१ मिलिमिटर वर्षा भएको जनाएको छ। नवलपरासीको बर्दघाटमा १६४ मिलिमिटर वर्षा भएको छ।
यसरी छोटो समयमा धेरै पानी पर्दा भूक्षय र बाढीको सम्भावना बढी हुन्छ। वर्षा जारी रहेको ती स्थानमा सतर्कताका लागि साइरन बजाइएको छ। २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई भारी, सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई धेरै भारी र २०० मिलिमिटर वर्षालाई अति भारी वर्षा भनिन्छ।
आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बिहीबार र शुक्रबार पनि प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कताका लागि अनुरोध गरेको छ।
:https://www.himalkhabar.com/news/124695 बाट
मकवानपुर । हाल मकवानपुर सहित देशका अधिकांश ठाउँमा वर्षा भइरहेकाे छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले देशका अधिकांश ठाँउमा बर्षा भइरहेकाे हाे । देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले देशका अधिकांश भागमा सामान्य देखि पूर्ण बदली रही भारी बर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
‘प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’ महशाखाले आगामी २४ घण्टाका लागि चेतावनी दिँदै बुलेटिनमा भनेकाे छ ।
मकवानपुर । बागमती प्रदेशसभाको आगामी बैठक असार १७ गते विहीबार बस्ने भएको छ। दिनको ३ बजे प्रदेश सभा भवन हेटाैडामा बस्ने बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट, राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए। श्रेष्ठका अनुसार आज बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए। प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।
असार १ गते बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ५७ अर्बको बजेट ल्याएको थियो । बजेट ल्याएसँगै स्थगन भएकाेले त्यसमाथि छलफल भने हुन सकेको छैन । प्रदेश सरकारको बजेटमा सुधार गर्नुपर्ने भन्दै विपक्षी दलहरुले भने असन्तृष्टि जनाउँदै आएका छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले अबैध काठ ओसारपसार र बिक्रीबितरण मुद्दामा फरार प्रतिवादी १ जना पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालत हेटौडाको २०७० साल पुष २४ गतेको फैसलाले अबैध साल काठ ओसारपसार बिक्रीबितरण मुद्दामा १ महिना १७ दिन कैद सजाय तोकिएका फरार
प्रतिवादी हेटाैडा ९ का ४१ बर्षीय राजकुमार थापामगरलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते फरार प्रतिवादी थापामगरलाई हेटाैडा ९ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएकोमा उक्त कैद भुक्तानको लागी कारागार कार्यालय भिमफेदी पठाईएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
मकवानपुर । नेपालमा थप ४ हजार ३ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा उनीहरु देशका विभिन्न हाेम अाइसाेलेसन, संस्थागत अाइसाेलेसन र अस्पतालबाट निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै साेही समयमा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २ सय ५९ जनाको पीसीआर परीक्षणबाट १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ८ जना गरी जम्मा २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० जना रहेको छ ।