मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र बुझाएको छ । प्रधानमन्त्री नियुक्त भई विश्वासको मत समेत लिन सफल भएकोमा बधाई एवं शुभकामना ज्ञापन गर्न बुधबार बालुवाटार पुगेको संसदीय दलको टोलीले देश एवं बागमती प्रदेशका समस्या समाधानका लागि अनुरोध पत्र बुझाएको हो ।
संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रधानमन्त्री एवं पार्टी सभापति समेत रहेका देउवालाई अनुरोध पत्र हस्तान्तरण गरेका थिए । अनुरोध पत्रमा कोरोना संक्रमणका कारण देश नै आक्रान्त रहेकाले देशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्थाका लागि अनुरोध गरिएकाे छ । काेराेनाकाे बढी जोखिममा बागमती प्रदेश रहेकाले कोरोनाको खोपबाट बन्चित र पहिलो डोज लगाईसकेकालाई यथाशीघ्र खोपको व्यवस्था गर्न अनुरोध गरिएको छ ।
कोरोनाका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र खाद्यान्नको अभाव झेलिरहेका विपन्न वर्ग रोगसंगै भोकसँग समेत लडिरहेका जनतालाई स्थानीय सरकारको वडा तहबाट खाद्यान्न उपलव्ध गराउनका लागि संघीय सरकारको पुरक बजेटमार्फत रकम उपलव्ध गराउन कांग्रेसले अनुरोध गरेको छ । देश एवं बागमती प्रदेशका सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत विभिन्न जिल्लामा पछिल्लो समय गएका प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएको उल्लेख गर्दै विपदका कारण घरबारविहिन भएका जनतालाई तत्काल घरबारको व्यवस्था र उचित राहतको व्यवस्थाका लागि अनुरोध गरिएको छ ।
संसदीय दलको अनुरोध पत्रमा पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भएको लकडाउन एवं निषेधाज्ञाका कारण साना, मझौला एवं ठूला व्यवसाय, उद्योग, कलकारखाना, कृषि क्षेत्र धरासायी भएकाले राष्ट्र बैंकले साउन १५ गते ल्याउने मौद्रिक नीतिमार्फत सम्बाेधन गर्न समेत सरकारकाे ध्यानाकर्षण गरिएकाे छ । कोरोनाका कारण मारमा परेका उद्योग, व्यवसायको ऋण भुक्तानीलाई पुर्नतालिकिकरण, कोरोना अवधीको व्याज दरलाई न्यूनदरमा भुक्तानीको व्यवस्था, निक्षेपको ब्याज र ऋणको ब्याजबीचको स्प्रेड दर घटाउने र व्याजको सिमा निर्धारण गर्ने जस्ता उपाय अवलम्बन, विशेष राहत प्याकेजको व्यवस्था गरि आर्थिक क्षेत्रलाई प्रोत्साहन गर्दै पार्टीप्रतिको नीजि क्षेत्रको विश्वास बढाउन विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
२ तिहाई मत दिंदा समेत कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा जनताको अपेक्षा पुरा गर्न नसकेको र कृषि प्रधान देशका कृषकले रासायनिक मल, बिउविजन, सिंचाईको समस्या झेलिरहनु परेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट यी क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा जनतामा रहेकाले यसतर्फ ध्यान दिन कांग्रेस बागमती प्रदेश संसदीय दलले अनुरोध पत्रमार्फत भनेकाे छ । संसदीय दलका नेता बानियाँले देउवासँगको भेटमा विगतदेखि अहिलेसम्म जनताका हरेक दुःखसुखमा निरन्तर उभिएको र जनताको पक्षमा सधैं सडकदेखि सरकारसम्म नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको वर्तमान सरकारले सबै वर्ग र तहका नागरिकको मन छुने काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै का बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
बाँनियाले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार सम्पूर्ण जातजाति, भाषा, धर्म, लिंग, समुदाय, उत्पिडित बर्गको हो भन्ने प्रत्याभुति गराउने ढंगले काम अघि बढाउनेमा विश्वास व्यक्त गर्दै कांग्रेस नेतृत्वमा सरकार गठन भएसंगै देश एवं बागमती प्रदेशका जनतामा आशा एवं भरोसा बढेको बताए । प्रधानमन्त्री देउवाले जनताका कोरोनाविरूद्धको खोपदेखि सबै खाले अपेक्षा पूरा गर्न आफू नेतृत्वको सरकार ठोस रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार विहानै ८१ किलो ३ सय ५० ग्राम लागुऔषध गाँजा र ट्रक प्रहरीकाे नियन्त्रणमा लिएकाे छ ।
बुधबार विहान पाैने ३ बजेकाे समयमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा र ट्रक नियन्त्रणमा लिएकाे हाे । मकवानपुर मनहरी गाउँपालिका ८ सिमपानी स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा शंकास्पद रुपमा रोकी राखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक पछाडि ढालामा लुकाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेलापरेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका ४ बस्ने ४२ वर्षीय बाबुराम नेगीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरू गरेकाे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर । आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल अजहा) पर्व मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीले रमजान (इदुल फित्र) को ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेकाे छ ।
नेपाल सरकारले बकर इद (इदुल अजहा) पर्वकाे अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाली नियोगहरुमा आज सार्वजनिक विदा दिएकाे छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७८ साल साउन ४ गतेकाे निर्णयानुसार ‘इस्लाम धर्मालम्बीहरुले मनाउने “बक्र इद (ईद उल अजहा) को अवसरमा २०७८ श्रावण ६ गते बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु, निकायहरु र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने” गृह मन्त्रालयले प्रकाशन गरेकाे सूचनामा जनाइएकाे छ ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ। यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरिएकाे छ ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत सहज छैन । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । मक्का मदिना जान नपाएका हजयात्रीले समेत घरघरमै बकर इद मनाउने छन् ।
मकवानपुर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।
एमालेको केन्द्रीय कमिटीको दोस्रो दिन मंगलबारको बैठक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाहीबारे कुनै निर्णय नगरी सकिएको छ । बैठकमा १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको बताइएकाे छ । बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको थियो ।
केन्द्रीय कमिटीको पहिलाे दिन सोमबारकाे बैठकले माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण मंगलबार त्यसबारे कुनै निर्णय भएकाे छैन । मंगलबारकाे बैठकमा सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले रिपोर्ट पेश गरेका थिए । मंगलबारकाे बैठक आज बुधबार ३ बजे पुनः बस्ने गरी स्थगित भएको थियाे ।
मकवानपुर । नेपाल सरकारकाे विभिन्न सेवा समूहमा कार्यरत निजामति तर्फका २ हजार ३ सय ८४ जना कर्मचारीले अवकास पाउने भएका छन् । अवकास पाउनेमा विशिष्ट श्रेणीका सचिव देखि कार्यालय सहयाेगीसम्मका कर्मचारी रहेका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले असार ५ गते मंगलबार चालु आर्थिक वर्ष २०७८/७९ मा अवकाश हुने कर्मचारीको अनुमानित सूची सार्वजनिक गरेर अवकासकाे जानकारी गराएकाे हाे ।
अवकाश हुने कर्मचारीको अनुमानित सूची अनुसार निजामति कर्मचारीमा नेपाल सरकारका विशिष्ट श्रेणी (सचिव) १३ जना रहेका छन् । १३ जना मध्य ३ जनाले २०७८ साल साउन महिनाभित्रै अनिवार्य अवकाश पाउँदैछन् ।
निजामती किताबखानाका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आज बुधबारदेखि नै अनिवार्य अवकाश पाएका छन् । अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले साउन २४, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद पौड्यालले साउन २६ गते अवकाश पाउँदैछन् ।