मकवानपुर । आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल अजहा) पर्व मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीले रमजान (इदुल फित्र) को ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेकाे छ ।
नेपाल सरकारले बकर इद (इदुल अजहा) पर्वकाे अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाली नियोगहरुमा आज सार्वजनिक विदा दिएकाे छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट २०७८ साल साउन ४ गतेकाे निर्णयानुसार ‘इस्लाम धर्मालम्बीहरुले मनाउने “बक्र इद (ईद उल अजहा) को अवसरमा २०७८ श्रावण ६ गते बुधबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु, निकायहरु र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने” गृह मन्त्रालयले प्रकाशन गरेकाे सूचनामा जनाइएकाे छ ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ। यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरिएकाे छ ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत सहज छैन । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । मक्का मदिना जान नपाएका हजयात्रीले समेत घरघरमै बकर इद मनाउने छन् ।

