चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जोखिम पत्रकारिता पुरस्कार प्रदान गर्ने भएकाे छ । जिल्लामा क्रियाशील २ जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने प्रेस चाैतारी चितवनले जनाएकाे छ ।
कोरोना भाइरसको संक्रमण, बाढी पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका २ जना पत्रकारलाई पुरस्कार दिने प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले निर्णय गरेको हो । पुरस्कारका प्रदान गर्न पत्रकार छनाैटकाे लागि ३ सदस्यीय समिति गठन गरिएकाे प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको समिति गठन गरिएको हाे । उक्त समितिले १ साता भित्र २ जना पत्रकारको नाम सिफारिस गर्नेछ । जाेखिम पत्रकारिता पुरस्कार प्राप्त गर्ने २ जना पत्रकारले जनही १०/१० हजार प्रा पुरस्कार पाउनेछन् ।
एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्व सचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले जोखिम मोलेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुलाई थप उर्जा दिनका लागि जोखिम पत्रकारिता पुरस्कारको संयोजक प्रेस चौतारी चितवनमार्फत गरेका हुन् । आगामी दिनमा यसलाई नियमित गरेर थप रकम संयोजन गरिने उनले जानकारी दिए ।
यस्तैं, बैठकले प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ । पत्रकारिता विषय लिएर स्नातक तह र पत्रकारिता विषयमा प्लस टू मा सबैभन्दा धेरै अंक ल्याएर जिल्ला प्रथम हुने १/१ जनालाई प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार हरेक बर्ष प्रदान गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कारको संयोजन पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गरेका हुन् ।

संगठनको बैठकले सुवास पण्डित अध्यक्ष रहने गरी १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । सचिवालयकाे सहअध्यक्ष कृष्ण आचार्य, गोविन्द घिमिरे, इन्दिरा दाहाल, मुकुन्द दाहाल, अमिर रामदाम, राजु थापा, धु्रबराज खनाल, विकास पौडेल, हेमराज रिमाल, सविता दराई, प्रदिप घिमिरे, अमृत काफ्ले, रामशरण गैह्रे र रविना पौडेल रहेको छन् ।
बैठकले पत्रकार मधुसुदन दवाडी र किशोर खनाललाई बागमती प्रदेश कमिटी सदस्यमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । चौतारीले रामबाबु सुवेदी, नारायण सापकोटा, कृष्ण गिरी, हरिप्रसाद पोखरेल, मुकुन्दराज दाहाल, मनोज विस्ट, सुरेश अधिकारी, सन्तकुमार चौधरी, विश्वास पौडेल सदस्यीय जिल्ला सल्लाहाकार चयन गरेको छ ।
यस्तैं, संगठनका निवर्तमान अध्यक्ष तीर्थ नेपाललाई संगठनको माथिल्लो कमिटीमा चयनका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । यस्तैं, पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई तथा प्रा.डा. शारदा थपलियाज्यूले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ र प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष कार्यविधी–२०७८ लाई सुझावसहित पारित गरेको छ ।
चितवनको पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेका, पत्रकारिताको माध्यमबाट जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गरेका, अशक्त, विपन्न, दलित, महिला, जनजातीहरुको उथ्थानमा विषेश भूमिका खेलेका र जिल्लाका पत्रकारहरुलाई समक्ष बनाउन विषेश योगदान गरेका सञ्चारकर्मी र सञ्चार संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कारको स्थापना गरिएको संगठनका अध्यक्ष सुवास पण्डितले बताए ।
यसैगरी पत्रकारितालाई मूल पेशा बनाई जिल्लामा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन, सम्मान र सहयोग गर्ने मुख्य उद्देश्य लिएर प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष स्थापना गरिएको छ । बैठकले संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । बैठकले संगठनको भवन निर्माणका लागि सहयोग गर्ने तथा कोरोना भाइरसको संक्रमणबाट पत्रकारलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष पण्डितले बताए ।
संगठनका सल्लाहाकर सुरेश अधिकारीले भवन निर्माणका लागि १५ हजार ५ सय ५५ र सचिवलाय सदस्य प्रदिप घिमिरेले ५ हजार सहयोग गरेका छन् । संगठनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सहसंयोजक शिशिर सिम्खडाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा केन्द्रीय सदस्य अनन्तप्रकाश सुवेदी, नवराज ढकाल, सल्लाहाकार मुकुन्दराज दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेललगायतले मतव्य राखेका थिए ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई तथा धन्यवाद ज्ञापन गरेकाे दिएकाे छ । काँग्रेस केन्द्रीय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको हाे ।
कांग्रेस मकवानपुरको नियमित बैठकले सभापति देउवालाई सरकारको नेतृत्वमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको काँग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । सभापति देउवा प्रधानमन्त्री नियुक्त भएसंगै प्रतिगमन र स्वेच्छाचारिताको अन्त्य एवम् लोकतन्त्र र संविधानको रक्षा भएको बैठकले निष्कर्ष निकालेको पनि प्रबक्ता कोइरालाला बताए ।
यस्तै कांग्रेस मकवानपुरले साढे ५ बर्षको कार्यकालमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । जिल्लामा पार्टीको सकारात्मक गतिविधिमा साथ दिने नेता तथा कार्यकर्ता, विभिन्न भातृ तथा सुवेच्छुक संगठन, पार्टीका सकारात्मक कामको प्रचार गर्ने र केही कमजोरी हुन पुगेमा समाचारमार्फत् रचनात्मक आलोचना गर्दै बेलैमा सच्याँउन मद्धत गर्ने पत्रकार जगत, नागरिक समाज, प्रशासन तथा सुरक्षा निकाय र आम जनताप्रति कांग्रेसले आभार प्रकट गरेकाे छ ।
कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आसन्न अधिवेशनबाट सबै तहमा सक्षम र सबल नेतृत्व चयन हुनुपर्ने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस मकवानपुरका सभापति बानियाँले पार्टीका संस्थापक र हालसम्मका सभापतिहरु एवम् पदाधिकारीहरुका कारण आफुहरु यहाँसम्म आइपुगेको बताए ।
पार्टी स्थापना, संगठन विस्तार र पार्टीका एजेण्डा कार्यान्वयन गर्न अग्रजको योगदान रहेको बताउँदै आगामी दिनमा पनि जनताको हितका लागि काग्रेस सदैव लागिपर्ने बाँनियाले बताए ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले शुक्रबार स्वास्थ्य सामग्री वितरण गरेकाे छ । हेल्प डेस्कबाट हेटाैडा उपमहानगरपालिकाका २ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरेको हाे ।
पल्पसा आइसोलेशन सेन्टर संचालन गर्दा खरिद गरिएका र सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु स्टक रहेकोले सहयोग गरिएको हो । हेटौंडा १२ पदमपोखरी र हेटौंडा १९ बस्तिपुरमा रहेकाे शहरी स्वास्थ्य केन्द्रकाे लागि औषधी, पिपिई, अक्सिमिटर, साबुनसहितको स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड हेल्प डेस्क मकवानपुरका सल्लाहकार तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य बासु खतिवडा र व्यवसायी सरोज विडारीलगायतको टोलीले स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

हेटौंडा १२ का वडा अध्यक्ष ललित घलान र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा हात्तीगाैडा शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको हाे । त्यसैगरी हेटौंडा १९ का वडा अध्यक्ष नरनाथ सुवेदी र स्वास्थ्यकर्मीहरुहरुको उपस्थितिमा नेवारपानी शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले कुटपिट मुद्दामा फरार रहेका ३ जना प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतकाे विभिन्न मितिमा भएकाे फैसला बमाेजिम जरिवाना ताेकिएका ३ जना फरार रहेकाे भदाै ४ गते उनीहरूलाइ पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर जिल्ला अदालतकाे २०७७ साल मंशिर ९ गतेको फैसलाले कुटपिट मुद्धामा ५ हजार जरिवाना तोकिइ फरार प्रतिवादी हेटौडा ९ का ३२ बर्षिय यदु कुमार विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले भदाै ४ गते हेटाैडा ४ बाट पक्राउ गरिएकाे हाे ।
यसैगरी मकवानपुर जिल्ला अदालतकाे २०७७ साल मंशिर ९ गतेको फैसलाले कुटपिट मुद्दामा ५ हजार जरिवाना ताेकिइ फरार प्रतिवादी हेटौडा १६ का ४० बर्षिय राधिका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले भदाै ४ गते नै हेटाैडा १६ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
जरिवाना भुक्तानको लागी सम्मानित मकवानपुर जिल्ला अदालतमा
उपस्थित गराउने कार्य भईरहेको ।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७७ मंशिर ९ गतेको फैसलाले कुटपिट मुद्दामा ५ हजार जरिवाना तोकिइ फरार प्रतिवादी हेटौडा १६ घर भई हेटाैडा २ मा युनिभर्सल सुन पसल सञ्चालन गरि बस्ने वर्ष ४८ को रामचन्द्र घिमिरे विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले भदाै ४ गते हेटाैंडा १६ बाट पक्राउ गरिएकाे रिमालले बताए ।
पक्राउ परेका यदुकुमार, राधिका र रामचन्द्रलाई अदालतबाट ताेकिएकाे जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराउने कार्य भईरहेको प्रहरीले बताएकाे छ ।
मकवानपुर । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार(आज) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय पनि गरेको छ । यसअघि गाईजात्रामा काठमाडाैं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरेकाे थियाे ।
यसैगरी बागमती प्रदेश सरकारले भदाै ७ गते मनाइने गाईजात्रा पर्वकाे अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने भएकाे छ । प्रदेश सरकार मन्त्रिपरिषदबाट बागमती प्रदेशकाे प्रमुख पर्वकाे रूपमा मनाइने गाईजात्रा पर्वकाे उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय भएकाे हाे ।
प्रदेश राजपत्रमा भदाै २ गते सुचना प्रकाशित गरी भदाै ७ गते सार्वजनिक विदा दिइने घाेषणा भएकाे हाे
