चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जोखिम पत्रकारिता पुरस्कार प्रदान गर्ने भएकाे छ । जिल्लामा क्रियाशील २ जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने प्रेस चाैतारी चितवनले जनाएकाे छ ।
कोरोना भाइरसको संक्रमण, बाढी पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका २ जना पत्रकारलाई पुरस्कार दिने प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले निर्णय गरेको हो । पुरस्कारका प्रदान गर्न पत्रकार छनाैटकाे लागि ३ सदस्यीय समिति गठन गरिएकाे प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको समिति गठन गरिएको हाे । उक्त समितिले १ साता भित्र २ जना पत्रकारको नाम सिफारिस गर्नेछ । जाेखिम पत्रकारिता पुरस्कार प्राप्त गर्ने २ जना पत्रकारले जनही १०/१० हजार प्रा पुरस्कार पाउनेछन् ।
एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्व सचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले जोखिम मोलेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुलाई थप उर्जा दिनका लागि जोखिम पत्रकारिता पुरस्कारको संयोजक प्रेस चौतारी चितवनमार्फत गरेका हुन् । आगामी दिनमा यसलाई नियमित गरेर थप रकम संयोजन गरिने उनले जानकारी दिए ।
यस्तैं, बैठकले प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ । पत्रकारिता विषय लिएर स्नातक तह र पत्रकारिता विषयमा प्लस टू मा सबैभन्दा धेरै अंक ल्याएर जिल्ला प्रथम हुने १/१ जनालाई प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार हरेक बर्ष प्रदान गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कारको संयोजन पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गरेका हुन् ।

संगठनको बैठकले सुवास पण्डित अध्यक्ष रहने गरी १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । सचिवालयकाे सहअध्यक्ष कृष्ण आचार्य, गोविन्द घिमिरे, इन्दिरा दाहाल, मुकुन्द दाहाल, अमिर रामदाम, राजु थापा, धु्रबराज खनाल, विकास पौडेल, हेमराज रिमाल, सविता दराई, प्रदिप घिमिरे, अमृत काफ्ले, रामशरण गैह्रे र रविना पौडेल रहेको छन् ।
बैठकले पत्रकार मधुसुदन दवाडी र किशोर खनाललाई बागमती प्रदेश कमिटी सदस्यमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । चौतारीले रामबाबु सुवेदी, नारायण सापकोटा, कृष्ण गिरी, हरिप्रसाद पोखरेल, मुकुन्दराज दाहाल, मनोज विस्ट, सुरेश अधिकारी, सन्तकुमार चौधरी, विश्वास पौडेल सदस्यीय जिल्ला सल्लाहाकार चयन गरेको छ ।
यस्तैं, संगठनका निवर्तमान अध्यक्ष तीर्थ नेपाललाई संगठनको माथिल्लो कमिटीमा चयनका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । यस्तैं, पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई तथा प्रा.डा. शारदा थपलियाज्यूले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ र प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष कार्यविधी–२०७८ लाई सुझावसहित पारित गरेको छ ।
चितवनको पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेका, पत्रकारिताको माध्यमबाट जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गरेका, अशक्त, विपन्न, दलित, महिला, जनजातीहरुको उथ्थानमा विषेश भूमिका खेलेका र जिल्लाका पत्रकारहरुलाई समक्ष बनाउन विषेश योगदान गरेका सञ्चारकर्मी र सञ्चार संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कारको स्थापना गरिएको संगठनका अध्यक्ष सुवास पण्डितले बताए ।
यसैगरी पत्रकारितालाई मूल पेशा बनाई जिल्लामा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन, सम्मान र सहयोग गर्ने मुख्य उद्देश्य लिएर प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष स्थापना गरिएको छ । बैठकले संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । बैठकले संगठनको भवन निर्माणका लागि सहयोग गर्ने तथा कोरोना भाइरसको संक्रमणबाट पत्रकारलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष पण्डितले बताए ।
संगठनका सल्लाहाकर सुरेश अधिकारीले भवन निर्माणका लागि १५ हजार ५ सय ५५ र सचिवलाय सदस्य प्रदिप घिमिरेले ५ हजार सहयोग गरेका छन् । संगठनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सहसंयोजक शिशिर सिम्खडाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा केन्द्रीय सदस्य अनन्तप्रकाश सुवेदी, नवराज ढकाल, सल्लाहाकार मुकुन्दराज दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेललगायतले मतव्य राखेका थिए ।

