मकवानपुर । मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । प्रहरीले सार्वजनिक अपराध मुद्दा र चाेरी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७२ साल पुष १२ गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा २ हजार ३ सय ७५ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी लिलानाथ न्याैपानेलाई पक्राउ गरिएकाे हाे । हेटाैडा उपमहानगरपालिका वडा नं. १४ बस्ने न्यौपानेलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २९ गते हेटाैडा १४ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालतको २०७८ साल बैशाख ८ गतेको फैसलाले चोरीमुद्दामा १० महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मिलन स्याङतानलाई पक्राउ गरिएकाे छ । भिमफेदी गाउँपालिका वडा नं. ६ बस्ने स्याङतानलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २८ गते भिमफेदी ६ बाट पक्राउ गरिएकाे प्रहरी निरीक्षक दासले जानकारी दिए ।
पक्राउ परेका न्याैपाने र स्याङतानलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरमा काेराेना संक्रमणकाे कारण गत बैशाख महिनाबाट जारी निषेधाज्ञा खुकुलाे हुदै गएकाे छ ।
मकवानपुर जिल्लाभित्र कोभिड-१९ संक्रमणको दर क्रमश: न्यून हुँदै गएको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको भदाै २९ गतेकाे सिफारिस र जिल्ला सुरक्षा समितिको भदाै २९ को निर्णय समेतको आधारमा प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञाकाे आदेश बमाेजिक सवै क्षेत्र खु्ल्ला हुने जनाइएकाे छ ।
‘कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २०७८ साल भाद्र ३१ गते बिहीबार राती १२ बजेदेखि २०७८ साल असोज १५ गते शुक्रबार राती १२ बजेसम्म यस मकवानपुर जिल्लाभर आदेश जारी गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे भदाै २९ गते जारी आदेशमा भनिएकाे छ ।
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
१.अत्यावश्यक काम परी घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने ।
२. पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता गरी, गराई सञ्चालन गर्ने ।
३. सभा, गोष्ठी, तालिम, सेमिनार र विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरू भिडभाड नहुने सुनिश्चित गरी न्यूनतम सहभागितामा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी गर्न सकिने ।
४. चाडपर्वहरू जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरूपमा मात्र मनाउने । धार्मिक प्रतिष्ठानहरूमा धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने ।
५. विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने सम्बन्धमा अभिभावकहरूको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरी सञ्चालन गर्ने ।
६. सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तिय संस्था र सहकारीहरूले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सेवा सञ्चालन गर्ने ।
७. पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात र विद्यालय सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा पालना नगर्नेलाई आदेश अवधिभरको लागि बन्द गराइने ।
८. सामाजिक संघ/संस्थाहरु, निजी क्षेत्र, सहकारी क्षेत्र र नागरिक समाजको समन्वयमा मास्क अभियान नियमित रुपमा सञ्चालन गर्ने ।

मकवानपुर । देशभर आंशिकदेखि सामान्य बदली, थाेरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।
हाल प्रदेश नं १, प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।
माैसम पूर्वानुमान महाशाखा अनुसार ३ दिनकाे माैसम
भाद्र २९ गते मंगलबार देशभर सामान्य बदली रही बागमती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भाद्र ३० गते बुधबार देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र वागमती प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भाद्र ३१ गते बिहीबार देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेकाे छ।
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । प्रहरीले वन मुद्दाका १ जना र गाली बेज्जती मुद्दाका ४ जना गरी ५ जना प्रतिवादी पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालतको २०७७ पुष २३ गतेको फैसलाले वन मुद्दामा १२ हजार ५ सय रुपैया जरिवाना ताेकी भुक्तान गर्न बाँकी फरार प्रतिवादी युवराज कुमार साह पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटाैडा उपमहानगरपालिका वडा नं. १८ बस्ने साहलाई भदाै २८ गते हेटाैडा १० बाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०६५ भदाै २४ गतेको फैसलाले गाली बेज्जती मुद्दाका फरार प्रतिवादीहरु मकवानपुर हेटाैडा वडा नं. ३ बस्ने गोपी बहादुर सुनार बिजय बहादुर सुनार भीम बहादुर सुनार र कृष्ण बहादुर सुनार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भदाै २८ गते हेटाैडा ३ बाट पक्राउ गरेकाे प्रहरी निरीक्षक दासले बताए ।
पक्राउ परेका पाचै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुर पठाईएको प्रहरीले बताएकाे छ ।
मकवानपुर । लाेक सेवा आयाेगले शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेकाे छ । लाेक सेवा आयोग केन्द्रीय कार्यलय अनामनगरले भदाै २८ गते सूचना प्रकाशित गर्दै आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको अन्तिम याेग्यतक्रम सम्बन्धी नतिजा प्रकाशन स्थगित गरेको जनाएकाे छ ।
सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेको हो । यसअघि प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतहरुलाई उनीहरुले रोजेको संघमा समायोजन गर्न सर्वोच्चले आदेश दिएसँगै लोकसेवा आयोगको संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण समूहका परीक्षाका सम्पूर्ण चरण पार गरी अन्तिम नतिजाको पर्खाइमा रहेका परीक्षार्थी समस्यामा परेका छन् ।
‘आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको व्यहोरा आयोगको मिति २०७८÷०५÷२८ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगको सूचनामा भनिएको छ ।
लोक सेवा आयोगले मिति २०७६ मंसिरमा शाखा अधिकृतमा बढुवा तथा खुला समेत गरी सामान्य प्रशासन समूहका ५ सय ६० रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनमध्ये ३० प्रतिशत बढुवातर्फ छुट्याएको १ सय ६८ पद सोही वर्ष नै पदपूर्ति भइसकेको छ । बाँकी खुला तथा समावेशीतर्फ छुट्याएको ३ सय ९२ पदको परीक्षा भने काेराेना भाइरस (कोभिड-१९) का कारण गत भदौ ५ गतेमात्र सबै चरण सम्पन्न भएको आयाेगले जनाएकाे छ ।
