मकवानपुर । देशभर आंशिकदेखि सामान्य बदली, थाेरै स्थानमा वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।
हाल प्रदेश नं १, प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।
माैसम पूर्वानुमान महाशाखा अनुसार ३ दिनकाे माैसम
भाद्र २९ गते मंगलबार देशभर सामान्य बदली रही बागमती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भाद्र ३० गते बुधबार देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र वागमती प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भाद्र ३१ गते बिहीबार देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेकाे छ।

