मकवानपुर । मकवानपुरमा काेराेना संक्रमणकाे कारण गत बैशाख महिनाबाट जारी निषेधाज्ञा खुकुलाे हुदै गएकाे छ ।
मकवानपुर जिल्लाभित्र कोभिड-१९ संक्रमणको दर क्रमश: न्यून हुँदै गएको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरको भदाै २९ गतेकाे सिफारिस र जिल्ला सुरक्षा समितिको भदाै २९ को निर्णय समेतको आधारमा प्रमुख जिल्ला अधिकारीबाट जारी निषेधाज्ञाकाे आदेश बमाेजिक सवै क्षेत्र खु्ल्ला हुने जनाइएकाे छ ।
‘कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २०७८ साल भाद्र ३१ गते बिहीबार राती १२ बजेदेखि २०७८ साल असोज १५ गते शुक्रबार राती १२ बजेसम्म यस मकवानपुर जिल्लाभर आदेश जारी गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे भदाै २९ गते जारी आदेशमा भनिएकाे छ ।
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
१.अत्यावश्यक काम परी घरबाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने ।
२. पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता गरी, गराई सञ्चालन गर्ने ।
३. सभा, गोष्ठी, तालिम, सेमिनार र विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरू भिडभाड नहुने सुनिश्चित गरी न्यूनतम सहभागितामा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी गर्न सकिने ।
४. चाडपर्वहरू जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरूपमा मात्र मनाउने । धार्मिक प्रतिष्ठानहरूमा धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने ।
५. विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने सम्बन्धमा अभिभावकहरूको सहमतिमा विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरी सञ्चालन गर्ने ।
६. सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तिय संस्था र सहकारीहरूले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सेवा सञ्चालन गर्ने ।
७. पसल, व्यवसाय, उद्योग तथा कलकारखाना, सार्वजनिक यातायात र विद्यालय सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा पालना नगर्नेलाई आदेश अवधिभरको लागि बन्द गराइने ।
८. सामाजिक संघ/संस्थाहरु, निजी क्षेत्र, सहकारी क्षेत्र र नागरिक समाजको समन्वयमा मास्क अभियान नियमित रुपमा सञ्चालन गर्ने ।


