मकवानपुर । मकवानपुरमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा ४२ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका १० जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छ । यस्तै मंगलबार जिल्लामा थप ६ जना कोरोना संक्रमण निकाे भएका छन् । जिल्लामा हाल ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
१ लाख ३१ हजार १४४ जनाले लगाए कोरोना बिरुद्धको पूर्ण खोप
मकवानपुरमा १ लाख ३१ हजार १४४ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । कोरोना बिरुद्धको पहिलो खोप भने १ लाख ७४ हजार ९ सय ६५ जनाले मात्र लगाएका छन् । कोरोना भाइरस संक्रमणको पहिलाे लहरमा निकै कमले खाेप लगाएका थिए । तर काेराेनाकाे दोस्रो लहर फैलिएपछी भने खाेप लगाउनेकाे संख्या बढेकाे पाइएकाे हाे ।
अहिले पहिलो मात्रा खोप लगाएकाहरुलाई जिल्लाका १० वटै स्थानीय तहमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । दोस्रो मात्रा खोप लगाउनका लागि कुनै अभाब समेत नभएको उनले जानकारी दिए ।

मकवानपुर । सरकारले साफ च्याम्पियनसिपका खेलाडीलाई जनही ५ लाख दिने भएकाे छ । मन्त्रिपरिषद्को कार्तिक १ गते सोमबारकाे बैठकले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे हाे ।
मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई जनही ५ लाख र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । माल्दिभ्समा सम्पन्न १३ औँ साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहेको हो । नेपाली टोली आज (सोमबार) मात्र नेपाल फर्किएको छ ।
मकवानपुर । मकवानपुरमा गुडिरहेको बसबाट खसेर १ जना घाइते भएका छन् । गुडिरहेको बसबाट खसेर एकजना सहचालक गम्भिर घाईते भएका छन् । सोमबार बिहान ११ बजे कान्तिलोक पथ सडकखण्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नंबर २ को मोहरेमा गुडिरहेको बसबाट खसेर मोडभन्ज्याङ बस्ने १९ वर्षीय बिर बहादुर गोले गम्भिर घाईते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
ठिंगनबाट हेटौंडा बजार आउँदै गरेको गरेको ना ४ ख १०७४ नंबर बसबाट सहचालक गाेले एक्कासी खस्दा टाउकोमा चोट लागि गम्भिर घाईते भएका हुन् । घाईते गाेलेलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकाेमा थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटाैडामा रहेकाे मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई १ लाख आर्थिक सहयोग गरेका छन् ।
बानियाँले आफ्नो सेवा सुविधाबापत प्राप्त रकममबाट सहयोग स्वरुप उक्त रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हेटौंडा आश्रममा पुगेर हस्तान्तरण गरेका छन् ।मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरूको सेवामा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफ्नो सेवासुविधाबापतको रकम हस्तान्तरण गरेको बानियाँले बताए । उनले आश्रम र संस्थापक अध्यक्ष रामजी अधिकारीसहित आश्रम परिवारको कामको प्रशंसा समेत गरेका छन् ।
बानियाँले आश्रममा आश्रित अग्रजबाट टीका ग्रहणका साथै बालबालिकाहरूलाई दशैंको टीका समेत लगाई दिएका थिए । बानियाँले आश्रमलाई नियमित सहयोग गर्दै आएका छन् । प्रदेशसभा सदस्य बानियाँबाट प्राप्त सहयोग आश्रममा आश्रितहरूको गाँसबास र उपचारमा सदुपयोग गर्ने अधिकारीले बताए ।
बानियाँले केही दिन अघि मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउन ६० हजार रूपैयाँ सहयोग गरेका थिए । उनले सांसद बापत प्राप्त सेवा सुविधा सामाजिक हितमा खर्चिदै आएका छन् ।
मकवानपुर । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेकाे छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो । याेसँगै साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्ने नेपालको सपना अधुरै रहेकाे छ ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेल वर्षाले प्रभावित बनेको थियो । पहिलो हाफमा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो । सुजल श्रेष्ठको क्रसलाई नवयुग श्रेष्ठले जाली चुमाउन सकेनन् । उता, भारतको निरन्तर आक्रमणलाई गोलकिपर किरण चेम्जोङले बचाऊ गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलकाे दाेस्राे हाफकाे ४९ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएको थिए। पहिलाे गाेल गरेकाे १ मिनेट खेलकाे ५० औँ मिनेटमा सुरेश सिंह वाङ्जामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे। यस्तै खेलको इन्जुरी समयमा भारतका साहल अब्दुल सामदले तेस्रो गोल गर्दै भारतलाई सहज जीत दिलाए ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।
यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो ।
योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेल वियोगान्त अन्त्य भएको छ । यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताएका अलमुताइरी फाइनल खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाएनन् ।