मकवानपुर । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेकाे छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो । याेसँगै साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्ने नेपालको सपना अधुरै रहेकाे छ ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेल वर्षाले प्रभावित बनेको थियो । पहिलो हाफमा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो । सुजल श्रेष्ठको क्रसलाई नवयुग श्रेष्ठले जाली चुमाउन सकेनन् । उता, भारतको निरन्तर आक्रमणलाई गोलकिपर किरण चेम्जोङले बचाऊ गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलकाे दाेस्राे हाफकाे ४९ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएको थिए। पहिलाे गाेल गरेकाे १ मिनेट खेलकाे ५० औँ मिनेटमा सुरेश सिंह वाङ्जामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे। यस्तै खेलको इन्जुरी समयमा भारतका साहल अब्दुल सामदले तेस्रो गोल गर्दै भारतलाई सहज जीत दिलाए ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।
यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो ।
योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेल वियोगान्त अन्त्य भएको छ । यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताएका अलमुताइरी फाइनल खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाएनन् ।

