मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाद्वार बागमती प्रदेशका प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेश गरेकाे छ।
कार्तिक २९ गते साेमबार अख्तियार आयोगको हेटौंडा कार्यालयका प्रमुख अर्जुन कुमार शर्माले प्रदेश प्रमुख शर्मा समक्ष २१ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ उपधारा (३) अनुसार आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पादन गरेका काम कारबाहीहरु समेटेर तयार गरिएको ३१ औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरिएकाे हो।
आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ९ सय २९ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएकोमा ५ सय ११ वटा उजुरीहरू फच्यौट भएका छन् । जसमध्यमा २ सय ७३ वटा उजुरीहरु प्रारम्विक छानविनबाट तामेलीमा राखिएको अख्तियारको हेटौंडा कार्यालयकाे प्रतिवेदनमा उल्लेख छ ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक्साभेटरमा आगजनी तथा ताेडफाेड गरिएकाे छ । मकवानपुरकाे पश्चिम क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकामा एउटा एक्साभेटरमा आगजनी गरिएकाे तथा दुइवटा एक्साभेटरमा तोडफोड गरिएको हाे ।
हेटौंडा १५ मा रहेकाे ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानीमा रहेको राक्सिराङ गाउँपालिका वडा ४ गिंगुमा १ वटा एक्साभेटरमा आगजनी भएको तथा २ वटा एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। म
ोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किमा रहेको ३ वटा एक्साभेटर मध्ये प्रदेश ३–०१–००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुदा पूर्णरूपमा क्षति भएको छ। त्यसैगरी पार्किङ गरेको बा २ क ५८९ र बा ३ क ६९७ नम्बरको एक्साभेटरमा तोडफोड भएको मकवानपुर प्रहरीले जनाएको छ । आगजनी र तोडफोड कस्ले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तीमा बागमती प्रदेशका जनप्रतिनिधिहरु पुगेका छन् । प्रदेश मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु वनकरिया वस्तीमा पुगेका हुन् ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोग तथा जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजनामा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरु र वनकरियाहरु बीच समुदायकाे समस्यामा छलफल भएकाे छ । जनताको पहुँचमा सांसदहरुलाई अझै पहुँच योग्य बचाउनका लागि यो कार्यक्रम वनकरिया वस्तीमा गरिएको हो । संसदीय र राज्यका मामिलामा संलग्न हुनु र जानकारी पाउनु नागरिकको अधिकार भएकाले नागरिकसंग प्रत्यक्ष सवाद कार्यक्रम राखिएको हो ।
अन्तरक्रियामा वनकरियाहरुले वषौंदेखिको जंगली जिवन छोडेर पछी बस्दै आएको जमिनको लापलपुर्जा पाउनुपर्ने, गाउँमा बिद्यालय, खानेपानी, सडकको उचित व्यवस्था गर्न माग गरेका छन् । यता प्रदेशसभाका सदस्यहरुले वनकरियाको समस्या समाधान गर्न तीनै तहका सरकारलाई दवाव दिने बताए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले वनकरियाका कारण मकवानपुरको चिनारी थपिएकाे बताए । कार्यक्रमलाई संबोधन गर्दै उनले यो वस्तीलाई व्यवस्थित बनाउनका लागि आफुहरुले तीनै तहका सरकारलाई दवाब दिने बताए । वनकरिया समुदायले पनि लालपूर्जा पाउने चरणमापुग्दा भूमि आयोगनै खारेज भएकोमा आपत्ति जनाए ।
वनकरिया वस्तीमा नजिक विद्यालय नहुँदा समस्या भएकोले विद्यालय खोल्नुपर्नेमा जोड दिदै पौडेलले भने–‘स्कुल खोल्न हामी लाग्छौं । अहिले यस समुदायका बालबालिकालाई जतिसम्म पढ्ने हो त्यती सम्म निशुल्क हुनुपर्छ । अझै विद्यालय स्तरमा पढ्नका लागि त शुल्क लाग्दैन । कसैले लगायो भने गाउँपालिकाले पढ्ने वतावरण तयार पार्छ ।’ यस वस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विजुलीको उचित व्यवस्थापन गर्न सरकारलाई आफुहरुले दवाव दिने उनले बताए ।
बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले आफुले आफुलाई वनकरिया हौं भनेर हिनताबोध नगरिकन काम गर्नका लागि आग्रह गरिन् । ‘यो समुदायको विकास गर्न हामी लागि पर्ने छाै । अब तपाइहरु र हामी सबै एउटै हौं त्यसैले कुनैपनि काममा अग्रसर भएर लागौं’ उनले भनिन् । वनकरिया समुदायको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकार मिलेर आयआर्जन र बृद्धी बिकास काम गर्ने श्रेष्ठले बताईन् ।

बागमती प्रदेशसभाका सदस्य सन्त चेपाङले वनकरियाका समस्याहरु बुझ्नैका लागि आफुहरु गाउँमै आएको बताए । ‘सिमान्तकृत लोपन्मुख समुदायको समस्या बुझेर त्यही अनुसार काम गर्न सरकारले ध्यान दिनुपर्छ’ कार्यक्रममा बोल्दै उनले भने ।
बागमती प्रदेशका प्रदेशसभाका सदस्य ओम बहादुर ग्लानले वनकरियाहरु पनि आत्म निर्भरकाे बाटाेमा लाग्नुपर्ने बताए । जिवन बाच्नकै लागि संघर्ष गरिने बताउँदै उनले भने–‘आफै आत्मनिर्भर वन्नका लागि सोचौं ।’ वस्ती व्यवस्थित गर्नका लागि आफुहरुले सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले यहाँको वस्तीलाई स्थायी गराउनका लागि संघीय सरकारसंग पहल भइरहेको बताए । मनहरीमा ८ सय परिवार सुकुम्वासी रहेको बताए । कार्यक्रममा मनहरी–४ का वडा अध्यक्ष धुर्ब खड्काले यस वस्तीका लागि सबै सांसदले ध्यान दिनुपर्ने बताए । मनहरी–४ का वडा सदस्य बिष्णु चेपाङले विद्यालय टाढा हुँदा ठुलो समस्या भोग्नुपरेको बताए । जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले सांसदहरुले समुदायमै गएर छलफल गर्दा स्थानीयहरुका समस्या नजिकबाट जानकारी पाउने र सरकारलाई दवाव दिन सहज हुने बताए ।

कार्यक्रममा आफ्ना गाउँको समस्या पोख्दै स्थानीय सन्तोष वनकरियाले बषौदेखि जग्गाको उपभोग गर्दै आएका छौं तर, आफ्नो नाममा नहुँदा समस्या भएको बताए । आफुहरुलाई काम गर्नका लागि कुनै अफ्ठेरो नभएको बताउँदै उनले भने–‘जग्गा छ । खेती गर्दै आएका छौं । तरकारी पनि लगाएका छौं । तर, वारम्वार वन कार्यालयले वस्ती हटाउन लाग्दा हामी समस्यामा पर्ने गरेका छौं । वर्षायाममा बाढी आएर भाग्नुपर्ने बाध्यता त्यतीनै छ ।’
स्थानीय ठुलिमायाँ वनकरियाले आफुहरु पहिले जंगलका ओडारमा बसेको भएपनि अहिलेको पुस्तालाई यही वस्ने वातावरण मिलाउनका लागि सांसदसंग माग गरिन् । तत्काल विरामी हुँदा एम्बुलेन्स आउन सक्ने सडक नहुँदा समस्या परेको उनले दुखेसो पोखिन् । स्थानीय बुद्धराम प्रजाले यसक्षेत्रका हरेक घरधुरीका लागि सरकारले हेर्नुपर्ने बताए । सरकारले यो वस्तीबाट हटाउन खोज्ने भन्दा पनि स्थायी रुपमा वसोवास गराउनुपर्ने स्थानीय कान्छीमायाँ वनकरिया बताउँछिन् ।

मकवानपुर । मनहरी गाउँपालिकाको हाडीखोलामा रहेको पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गरिएकाे छ । ललितपुर गोदावरीकी प्रजिता घिमिरेले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री सहयाेग गरेकी हुन् ।
ललितपुर गोदावरीकी स्थायी बासिन्दा घिमिरेले जन्मदिनको अवसर पारेर विद्यालयलाई १ हजार थान कपी, पेन्सिल, डटपेनलगायत शैक्षिक सामाग्री प्रदान गरेकी हुन् । प्रजिताको आमाले अध्ययन गरेको पशुपतिनाथ माविलाई शैक्षिक सामाग्री सहयोग गर्न उनीहरु मनहरी गाउँपालिका हाडिखाेला आएका थिए ।
विद्यालयका १ सय ९० जना बालबालिकालाई जनही ५ थान कपी, सोही बराबरको पेन्सिल र डटपेन वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिए । विव्यस अध्यक्ष गौतमले जन्मदिनमा केक काटेर अनावश्यक खर्च गर्ने परम्परालाई तोड्दै बिपन्न बालबालिकालाई सहयोग गरेको भन्दै प्रजिता र उनको परिबारलाई धन्यबाद दिएका थिए । आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिन विद्यालय परिबारले अपेक्षा गरेको अध्यक्ष गौतमले बताए ।
केहीदिन अघि मनहरी–४ का वडासचिव बिदुर पाठकले पनि आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३ जना बालबालिकालाई १० हजार रुपैयाँ सहयोग गरेको थिए । विद्यालयले जन्मदिनमा गर्ने खर्च कटौती गरी विद्यालयको कोषमा रकम जम्मा गर्न पनि सुरु गरेको अध्यक्ष गौतमले जानकारी दिएका छन् । हालसम्म कोषमा २५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।
मनहरी–४ का वडाअध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यतामा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको हो ।
मकवानपुर /मकवानपुरगढी गाउँपालिका अध्यक्ष तथा युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार बिदुर हुमगाईंले सहकारी कृषि विकासको आधार भएको बताउँदै युवालाई स्वरोजगार बनाउन सहकारीले ध्यान दिनुपर्ने बताएका छन् ।
युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् । कृषिप्रधान देशलाई आत्मनिर्भर बनाउन सहकारीले योगदान गर्नुपर्ने उनले बताए । युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्ने तथा स्वरोजगार बन्नको लागि प्रेरित गर्नुपर्ने हुमगाईले बताए ।
कार्यक्रममा नेफ्स्कुन फिल्ड प्रमुख गितादेवी न्यौपानेले युवा साकोसले गर्दै आएको कार्यक्रम राम्रो रहेको बताइन् । संस्थाले सदस्यको हित मात्रै नभै सर्वसाधारणको समेत हितमा काम गर्नुपर्ने उनले बताइन् । उत्पादनमुलक कार्यमा अझै ध्यान दिनुपर्ने उनले बताइन् ।
अध्यक्ष राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंकका प्रमुख नुरप्रसाद गौतम, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सिताराम दाहाल,अधिवक्ता केशव गौतमलगायतको उपस्थिति रहेको थियो ।
