मकवानपुर । हेटौंडामा जारी जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगितामा बकैयाले कैलाश गाउँपालिकालाई पराजित गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटाैडा-४ को हुप्रचौरमा भईरहेको नकआउट फुटबल प्रतियोगितामा बकैयाले कैलाशलाई २-० गोलअन्तरले पराजित गरेको हो ।
बकैयाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । निर्धारित ८० मिनेटको खेलमा ७४ औं मिनेटमा बकैयाका नवराज घलानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा बकैयाका अभिषेक भ्लोनले गोल गरेपछि बकैया विजयी भएको हो । खेलको म्यान अफ दि म्याच भने बकैयाका नवराज घलान भएका छन् ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मकवानपुर / नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँलाई सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले समर्थन गरेका छन् ।
सभापतिको उम्मेदवार प्रधानले आफ्नो समर्थन बानियाँलाई दिएका हुन् । हिजो भएको मतदानमा उनले तेस्रो स्थानमा नतिजा ल्याएका थिए । दोस्रो चरणको निर्वाचनमा उनले बानियाँलाई साथ दिनेबारे पत्रकार सम्मेलन गरेर बताएका हुन् ।
पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अबको साथ सहयोग बानियाँलाई रहने बताए ।
आफुलाई अमुल्य मतदान गर्ने साथीहरुलाई धन्यवाद दिदैं अब बानियाँलाई सबैले मतदान गरी विजयी गराउन आग्रह समेत गरे । “एकता र सहमतिको लागि सन्देश दिन मेरो समर्थन बानियाँ रहेको छ” उनले भने । उनले विपीको सिन्द्धातमा रहने आफु जहिले पनि लोकतन्त्रमा विश्वास रहेको बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, बहादुर सिं तामाङ लगायतका नेता तथा प्रनिनिधिहरुको उपस्थिती रहेको थियो ।
निर्वाचन समितिका अनुसार दोस्रो चरणको सभापतिको मतदान साढे ११ बजेबाट सुरूहुने तालिका रहेता पनि १ बजेबाट सुरु भएको छ ।
मकवानपुर / सभापतिको हुनको लागि बिधानत: खसेको मतको ५१ प्रतिशत मत प्राप्त हुनुपर्नेमा त्यसो नभएपछि नेपाली काँग्रेस बागमतीको सभापतिको लागि आज आइतबार पुन: मतदान हुने भएको छ ।
शनिबार मध्यरातमा सकिएको मतदान र त्यसपछिको मतपरिणाम अनुसार नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँले बढि मत ल्याएका छन् । तर उनको मतले पनि कुल खसेको मतको ५१ प्रतिशत भ्याएन ।
सभापतिमा पहिलो हुने बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेन दास प्रधानले १९७ मत ल्याए ।
सबैभन्दा बढि मत ल्याएका बानियाँले ४७.६२ प्रतिशत मत ल्याए । कांग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन: मतदान हुने भएको हो ।
पुनः मतदान आइतबार हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २ हजार १ सय ५१ मतमध्ये २०८३ मत खसेको थियाे । (तस्बिर:हिमालखबर)
मकवानपुर/हेटौंडा भेन्ट्रान्स क्लबको आयोजनामा ८ ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट सुरु हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी भेट्रान्स कपको सातौँ संस्करण मंसिर २७ गतेबाट हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालामा हुने क्लबले जनाएको छ । प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने भएको प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए ।
प्रतियोगिता लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुरलगायत अन्य संघसस्थाहरुले सहयोग गरेका छन् । खेल अवधिभर स्वास्थ्य मापदण्डको पालना गर्न खेलाडी, दर्शकहरुलाई निशुल्क मास्क र स्यानिटाइजरको पनि व्यवस्था गरिने संयोजक गौतमले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वितीय हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । उत्कृष्ट विधा अन्रतरगत कोच, फरवार्ड, गोलकिपर, डिफेन्स र मिडफिल्डरले समान ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
हेटौंडा भेट्राक्स क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा छैठौँ भेट्रान्स कपका संयोजक कविन संगामी, सदस्यहरु सञ्जय थापा, कृष्ण महर्जन, सुदीप शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर /नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको प्रदेश सभापतिको लागि भीमसेन दास प्रधान, इन्द्रबहादुर बानियाँ र जगदीश्वरनरसिंह केसीको उम्मेदवारी दर्ता भएको हो ।
बागमती प्रदेशको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि दासले कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार, उम्मेदवार भीमसेन दास प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाई र सर्मथकमा कुन्दनराज काफ्ले रहेका छन् ।
यसैगरी नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले शेरबहादुर देउवा पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा रहेका छन् ।
यसैगरी बागमती प्रदेशको सभापतिकै लागि जगदीश्वरनरसिंह केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले रामचन्द्र पौडेल पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन बिहिबारबाट हेटौंडामा सुरु भएको छ । जारी अधिवेशन अन्तरगत आज दोस्रो दिन मनोनयन दर्ता गराउने समयतालिका अनुसार, सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता काफ्लेका अनुसार, भोलि १८ मंसिरको बिहान९ बजेदेखि मतदान हुनेछ ।
प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सय प्रतिनिधिले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् । उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।