मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । पिप्ले युवा क्लबद्वारा निर्माण हुँदै गरेकाे क्याम्पा रंगशालाको सोमबार जाेशीले अवलाेकन गरेका थिए । अवलोकन पछि जोशीले उक्त रकम सहयोगको घोषणा गरेकाे पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमितजसो सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष घिमिरेले बताए ।क्याम्पा रंगशालामा ३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट तथा ३ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट बनाइँदै छ । जोशीले उपलब्ध गराउने घाेषणा गरेकाे रकमबाट फलामे ट्रसको प्यारापिट नै निर्माण गरिने अध्यक्ष घिमिरेले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले कौडा खेलिरहेको अवस्थामा आइतबार ८ जनालाई पक्राउ गरेको छ । जिल्लाको बकैया गाउँपालिका–९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बकैया ९ हर्कपुर बस्ने ३६ वर्षीय दावा लामा बम्जन, ४ ठुलोथली बस्ने ४० वर्षीय दिपलाल थोकर,सेतोभिर बस्ने ४९ वर्षीय सुन्दर घिसिङ,५५ वर्षीय राम बहादुर थिङ, ५ पाङ्रेखोला मगरटोल बस्ने ३२ वर्षीय शुसिल लामा, ३८ वर्षीय कमल थिङ, वडा नंबर ११ गमलटार बस्ने ४५ वर्षीय बिजय वाईबा र २६ वर्षीय आकाश न्यासुर रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ६७ हजार ६ सय ३५ रुपैयाँ र कौडा बरामद गरेको छ ।
बैरुङ्दमारस्थित चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले आइतबार दिउँसो उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
मकवानपुर प्रहरीले कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका ८ जनालाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ सहित सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई आइतबार नै जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमती लिई आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लामा संचालित मिडियालाई समानुपाति विज्ञापन वितरणकाे लागि पहल गरेकाे छ । महासंघ मकवानपुर शाखाले जिल्लामा संचालित मिडियालाई समानुपाति विज्ञापन वितरणमा सहजिकरण गरिदिन उद्योग संघ मकवानपुर र उद्योग वाणिज्य संघ मकवानपुरसमक्ष आग्रह गरेको हाे ।
सोमबार पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वको टोलीले दुवै संस्थाका नेतृत्व तथा पदाधिकारीसङ्ग छलफल गरी समन्वयकारी भूमिका निर्वाह गरि पहल गरिदिन आग्रह गरेको हो ।गौतम नेतृत्वमा गएको टोलीले प्रदेश राजधानी हेटौंडामा अवस्थित राष्ट्रिय बहुराष्ट्रिय उद्योगले ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन दिने र स्थानियस्तरमै सञ्चालित मिडियालाई विज्ञापन दिन हिच्किचाउने प्रवृत्तिको अन्त्य गरी सवैलाई समानुपातिक ढंगबाट विज्ञापन वितरण गरिनुपर्ने माग गरेका छन् ।
छलफलमा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको बताए । उनले भने ‘यहाँको औद्योगिक विकास र सञ्चार माध्यमको उत्थानका लागि उद्यमशिलतालाई उद्योगसंग जोड्न यहाँहरुको सहयोगको हामीले पनि अपेक्षा गरेका छौँ ।’ अध्यक्ष पोखरेलले यहाँका उद्योगले उत्पादन गरेका वस्तुको समाचार प्रकाशन÷प्रशारण गरिदिए त्यसले विज्ञापनको भन्दा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकरात्मक समाचारको मात्रै चर्चा–परिचर्चा भैरहदाँ त्यसले मझौला उद्योगहरुलाई समेत प्रभाव पारिरहेको बताए । उनले औद्योगिक क्षेत्रभित्रका सकरात्मक समाचारलाई धेरै भन्दा धेरै प्राथमिकता मिडियाले पनि दिनुपर्ने बताए । उनले आगामी दिनमा उद्योग व्यवसाय र मिडियाबीच अन्तरसम्बन्ध कायम राख्ने विषयमा छलफल जारी रहने पनि बताए ।
त्यस्तै उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले केही समयदेखि मिडिया र संघबीच मिडियामैत्री वातावरणमा कमी देखिएको बताए । पछिल्लो समय अनलाइन मिडिया व्यापक भएकाले विज्ञापन वितरणमा समस्या भएको उनको भनाई छ । उनले एकद्वार प्रणाली भइदिए विज्ञापन बाँडफाँडमा सहजता हुने पनि जिकिर गरे । उनले मकवानपुरका संचालित उद्योगहरुलाई स्थानीय मिडियामा समानुपातिक विज्ञापन उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाए ।
छलफलमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एशोसियट तर्फका उपाध्यक्ष उज्ज्वल चौलागाँई र महासचिव दिपक उप्रेतीले स्थानीय मिडियामा समानुपातिक विज्ञापन वितरणका विषयमा आगामी बैठकमा वृहत छलफल चलाइने बताए । छलफलमा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष धुव्र अधिकारी र सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु बलराम पुडासैनी, रुपा गुरुङ, बिजय पौडेल, नवराज वाइवा, सिर्जना नेपाललगायत सहभागी थिए ।
मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २२ स्वाब परीक्षणमा थप ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरी, सोही जिल्लामा थप ३ जनाले कोरोना संक्रमणलाई जितेका छन् । जिल्लामा हाल ४४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
यस्तै नेपालमा थप २ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ७७ जनामा गरिएको परीक्षणमा थप २ सय १९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि,साेही समयमा २ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना पुष्टी भएका २ जनाको आइतबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८३ पीसीआर परीक्षणमा १ सय ५७ जना र २ हजार १ सय ६४ एन्टिजेन परीक्षणमा १० जना गरी १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय २६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७८ रहेको छ ।
यसैगरी मकवानपुरमा शनिबार २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनाको एन्टिजेन परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार थपिएका २ जना समेत गरी जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ५ सय ५९ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा संक्रमणमुक्त र संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार २ सय ९५ जना पुगेका छन् । जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।