मकवानपुर । जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको ३ जनालाई उक्त फैसला सुनाएकाे हाे ।
मकवानपुर प्रहरीले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न भएको आराेपमा ६ जनालाई पक्राउ गरेकाे थियाे । हत्यामा संलग्न मध्ये १ जना नावालकलाई १६ वर्ष कैद, अर्का १ जनालाई ४ वर्ष कैद र १ जना महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवनाको फैसला सुनाएको छ।
मकवानपुर जिल्ला अदालतका निमित्त श्रेष्तेदार अमृत घिमिरेले हत्या गरिएकी तेस्रो लिङ्गीकाे परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको जानकारी दिए । मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हत्यामा संलग्न रहेका शुसील थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको घिमिरेले बताए ।
यसै गरी हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’ लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ । अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकी फैसला भएकाे घिमिरेले जानकारी दिए । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।
मकवानपुर । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोध स्वरुप हेटाैडामा प्रदर्शन गरिएकाे छ । नेकपा माओवादी केन्द्र सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल र नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल मकवानपुरले विहीबार हेटाैडमा एमसीसीको विराेध जनाउँदै व्यानर र प्लेकार्ड सहित प्रदर्शन समेत गरेका छन् ।
‘देश बेच्न पाइदैन, एमसीसी चाहिदैन, सम्पूर्ण नेपाली एक हौं, राष्ट्रघाती एमसीसीको विरोध गरौं’ राष्ट्रवादको ढोङ ओड्ने नेताहरु होसियार, एसीसीका राष्ट्रघाती बुँदाहरु परिमार्जन गर।’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका हुन् ।
हेटौंडाको बुद्धचोकमा प्लेकार्ड र कालो व्यानर सहित मुखमा कालो पट्टी र हातमा फलामको साङ्लो बाँधेर सांकेतिक बिरोध समेत गरिएको छ । विराेध कार्यक्रम स्वरुप सीमा चोकबाट बुद्ध चोकसम्म ¥याली निकालिएको थियो ।
विरोध कार्यक्रममा वाइसीएल नेपाल बागमती प्रदेश कमिटिका सह–संयोजक सुमन पाख्रिन, मकवानपुर इन्चार्ज राजकुमार मोक्तान, मकवानपुर संयोजक लवराज ठकुरी, हेटौंडा उपमहानगरपालिका संयोजक सानु लामा, नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल मकवानपुर उपाध्यक्ष सफल तिमल्सिना लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरका कवि एवम् गीतकार लक्ष्मण बाँनियाकाे शब्द तथा संगीत रहेकाे म कहाँ खाेजु गीतकाे भिडियाे सार्वजनिक भएकाे छ ।
रवि मल्लकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे गीतमा सुरेश बजगाईंकाे स्वर रहेकाे छ । बानियाँद्वारा लिखित रेकर्ड भएको यो तेस्राे गीत हो । माघ १९ गते युटुबमा सार्वजनिक म कहाँ खाेजु गीतकाे एरेन्ज दिक्षीत पाैडेल, मिक्सिङ चन्द्र चाैधरी, रेकर्डिक्स अजय कार्की रहेका छन् । गीत एकाउस्टिट स्टुडियाे नक्शालमा रेकर्ड भएकाे हाे ।
मकवानपुरको हर्नामाडीका साहित्यकार तथा गितकार बानियाँ करिब ४ दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त शिक्षक हुन् । यस अघी बाँनियाकाे ‘मेरो गीत यीनै पाखा पहरामा खोज’ तथा ‘तिमीसँग हास्न सकिन’ लिरिकल भिडियाे श्याम कार्कीकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे थियाे ।
उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।
मकवानपुर । हेटौंडामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेटौंडा १५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा बकैया गाउँपालिका ७ का शिव प्रसाद सुवेदीको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा अर्का १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक दोलखाका ४६ बर्षीय थनक प्रसाद दुलाल रहेका छन ।
बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा पथलैया सडकखण्डमा बाराबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०२०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खादा दुर्घटनाग्रस्त भएको हो। ठक्कर दिने बस तथा चालक नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।
मकवानपुर । तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना दिएका छन् । यस वर्ष माघ १९ गते आज परेकाे तामाङ समुदायको विशेष धार्मिक तथा सांस्कृतिक पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सबैका लागि सुख, शान्ति र समृद्दि तथा उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेका छन् ।
देश भित्र र बाहिरका समेत विभिन्न मुलुकहरुमा छरिएर रहेका तामाङ समुदायले हर्षोलाशपूर्ण वातावरणमा मनाउँने २८५८ औं ताक ल्हो (सोनाम ल्होछार) पर्वका अवसरमा जारी शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले यो पर्वलाई पनि हामी हाम्रा अन्य चाडपर्वहरुझैं एउटा महत्वपूर्ण पर्व मानिने गरिएको उल्लेख गरेका छन् । प्रमुख शर्माले सन्देशमा भनेका छन्,‘तामाङ समुदायकाे प्रचलनमा रहेकाे पञ्चाङ्ग अनुसार आजबाट एउटा वर्ष पूरा भई अर्को वर्ष सुरु भएको छ । यो नववर्ष ‘सोनाम ल्होछार’ ले हामी सबैका लागि सुख, शान्ति र समृद्दि ल्याउन सकोस् भन्ने कामनासहित उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’
प्रमुख शर्माले हामी संयौ थुङ्गा फूलका रंगीन बगैंचाका फूलहरु भएको उल्लेख गरदै हामी बहुल जातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक समाजका अभिन्न अङ्ग भएको बताएका छन् । शुभकामना सन्देशमा उनले अन्य समुदाय सरह तामाङ समुदाय पनि देशकाे लागि उत्तिकै महत्वपूर्ण अङ्ग भएको उल्लेख गरेका छन् । प्रमुख शर्माले यो पर्वले हाम्रो धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बर्द्दन गर्न महत्वपूर्ण योगदान गर्नेछ भन्ने विश्वास रहेको शुभकामना सन्देशमा भनेका छन् ।
‘हाम्रो समाजको मूल चरित्र भन्नु नै विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् बन्धुत्व र पारस्परिक मेलमिलाप हो’ प्रमुख शर्माले भने– ‘हाम्रा यी र यस्तै राष्ट्रिय धरोहरप्रति हामीले गौरवबोध गर्न सक्नुपर्छ ।’ ‘यो पर्वले हामीलाई यसकै लागि प्रेरित गर्नेछ । हाम्रो समाजमा मनाइने चाडपर्वहरु तथा अनुपालना गरिने संस्कृतिहरुले हामीलाई सामाजिक हित,आपसी सम्मान र भाइचाराको प्रबलीकरण गर्न प्रेरित गर्न सकोस् भन्ने पुन:एकपटक शुभकामना व्यक्त गर्दछु ।’
