अन्तरराष्ट्रिय नारी दिवस (International women’s day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख उदेश्य महिलाहरूलाई मताअधिकार दिनु थियो । त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन। १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे । अन्तरिम सरकारले महिलाहरूलाई भाेट दिने अधिकार दियो।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ । जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने गरिएकाेमा यद्यापि कायमै छ ।
त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। यी २ क्यालेन्डरमा केही फरक तिथि मिति हुन्छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो। विभिन्न वेवसाइटहरुकाे सहयाेगमा
प्रगतिशील साहित्यको वर्तमान अवस्थामा अन्तर्क्रिया
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटाैडामा प्रगतिशील साहित्यको वर्तमान अवस्था विषयमा अन्तरक्रिया तथा कविता वाचन भएकाे छ । प्रगतिशील लेखक सङ्घ मकवानपुर र पारिजात स्मृति केन्द्र काठमाडौकाे आयोजनामा कार्यक्रम भएकाे हाे ।
अन्तर्क्रियामा प्रगतिशील साहित्यकाे विषयमा प्राध्यापक केशब सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि मकवानपुरका प्रगतिशील कविद्वय सुवाष खनाल र पुरुपाेत्तम आचार्यले टिप्पणी गरेका थिए । प्रगतिशील लेखक संघ मकवानपुर सचिव चिरञ्जीवी लामिछानेले स्वागत गरेकाे कार्यक्रममा सर्जक संजाल मकवानपुरका निमेष निखिलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्राध्यापक तथा समालाेचक घनश्याम घिमिरे तथा व्यङ्ग्य कवि आरसी रिजालले समेत कार्यपत्रमाथि आफ्नाे भनाई राखेका थिए । कार्यपत्र प्रस्तुती तथा साे माथिकाे टिप्पणीकाे कार्यक्रम पछी कार्यक्रम कवीहरुले कविता वाचन गरेका थिए ।
प्रलेस मकवानपुरकी अध्यक्ष शान्ती प्रीयवन्दनाकाे सभाध्यक्ष तथा पारिजात स्मृति केन्द्रका महासचिव मातृका पाेखरेलकाे विशेष आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजाल, साहित्य सगम मकवानपुर अध्यक्ष निमेश निखिलऽ साहित्यकार मुक्ति गाेबिन्द वैद्यलगायतकाे आतिथ्यता रहेकाे थियाे ।
सञ्चारिका समूह मकवानपुरद्वारा सेनिटरी प्याड वितरण सुरु
Tags: No Comments
मकवानपुर/ सञ्चारिका समूह नेपाल मकवानपुर शाखाले महिला पत्रकारहरुका लागि निःशुल्क स्यानेटरी प्याड वितरण सुरु गरेको छ ।
११२ औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले ८ मार्चबाट प्याड वितरण सुरु गरेको जिल्ला अध्यक्ष सम्झना रिजालले बताइन् । दिवसको अवसरमा समूहले मैत्रीपूर्ण फुटसल खेल तथा प्याड वितरण कार्यक्रम गरेको हो । समूहले महिल पत्रकारलाई फिल्डमा शसक्त भएका काम गर्न सहजता प्रदान होस् भनेर यस्तो कार्यको थालनी गरेको रिजालले बताइन् ।
फुटसल खेलको समान तथा सेनिटरी प्याड वितरण कार्यको सुरुवात गर्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले महिलाहरुको नेतृत्व र शसक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनु पर्ने बताइन् ।

उनले दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन् । महिलाहरुलाई सधै दोस्रो पदमा मात्र राख्दै आएको तितो यथार्थका विरुद्ध आगमी दिनमा संघर्ष गर्नुपर्ने लामाले बताइन् । महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने लामाले प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतले महिला र पुरुषको साथ र सहकार्यले मात्रै समानताको कार्यान्वन संभव भएको बताएका थिए ।
मकवानपुर । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना भएकाे खुल्ला महिला दौड प्रतियोगितामा अमृता मुक्तान विजयी भएकी छिन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुरको आयोजनामा मंगलबार भएकोे ३ किलो मिटर महिला खुल्ला दौड प्रतियोगिताको उपाधि मुक्तानले जितेकी हुन ।
निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पार गर्दै मुक्तान विजेता बनेकी हुन् । जीतसँगै उनले नगद १० हजार ट्रफी, र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा रितिका तिमल्सिना द्वितीय र लक्ष्मी थिङ तृतीय भएका छन् । उनीहरुले क्रमशः १२ मिनेट ५४ सकेण्डमा र १३ मिनेट २३ सकेण्डमा दुरी पार गरेका थिए । समानताको लागि दौड भन्ने मुल नाराको साथ आयोजना भएको प्रतियोगितामाद्वितीय र तृतीय हुनेले क्रमसः ७ हजार र ४ हजार नगरसहित प्रमाणपत्र,मेडल साथै खेल सामाग्री प्राप्त गरेका छन् ।
महिलाहरुलाई खेल क्षेत्रमा आकर्षित बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरेको बागमती प्रदेशका पुर्व सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठले बताइन् । उनले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना समेत दिएकी थिइन् । ‘महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका अत्यावश्यक छ ।’ उनले भनिन् । ‘परम्पराकै नाममा कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य सबै एक भएर लाग्नुपर्छ’ श्रेष्ठले भनिन् ‘महिला हरेक क्षेत्रमा अब्बल छन् भन्ने सन्देश दिनको लागि यस प्रतियोगितालले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।’ महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबै लाग्नु पर्नेमा समेत उनले जोड दिएकी छन् ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,वडा नम्बर—४ का वडा अध्यक्ष नविन सिग्देल,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सदस्य तथा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य सानु लामा, मदनभण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको आथित्यता रहेको थियो ।
‘सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता’ नाराका साथ यस वर्ष महिला दिवस मनाइदैछ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले मंगलबार विज्ञप्ति जारी गरी ‘‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’’ भन्ने नारासहित विश्वभर मनाइदै गरिएको नारी दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्दिका लागि शुभकामना व्यक्त गरेका हुन् ।
‘नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसा जस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहारहरू अन्त्य गरी पुरुष र नारीबीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ । यस्तै, संयुक्त राष्ट्र संघले सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरेको दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच पुर्याउने जस्ता विषयहरु महिला हित पक्षमा छन् ।’ प्रदेश प्रमुख शर्माले भनेका छ्न् ।
विगतका तुलनामा महिलालाई हेर्ने दृष्टिकोण, सामाजिक सोच तथा प्रथामा क्रमिक रुपमा सकारात्मक परिवर्तन भइरहे पनि अझै पनि कहीँ–कतै पितृसत्तात्मक सोच कायम रहनाले महिला विकासका विभिन्न चरणमा अपेक्षाकृत उपलिब्ध हासिल गर्न चुनौतीहरु खडा भएको शुभकामना सन्देशमा उल्लेख छ ।
सन्देशमा उनले महिला र पुरुषका बिच लैङ्गिक समानताका लागि सम्बन्धित पक्षमा जागरण आउनुपर्नेमा जोड दिँदै भनेका छन्,‘महिला र पुरुषबीच विभिन्न बाहनामा हुने विभेद तथा हिंसा न्यूनिकरणका लागि समाजका सबैक्षेत्रमा जागरण आवश्यक पर्दछ । लैंगिक समानताका लागि समाजका सबै खाले वर्गको सोच र व्यवहारमा पनि समानताको खाँचो देखिएकाले महिला र पुरुषबीच समानता कायम गर्न आवश्यक कार्यमा सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ ।’
प्रमुख शर्माले लैंगिक समानताको साझा विषयलाई आत्मसात् गर्दै महिलाका सर्वाङ्गीण विकासका लागि क्रियाशील रहन सम्बद्घ पक्षलाई अन्तराष्ट्रिय नारी दिवसले थप प्रेरणा प्रदान गरोस् भन्ने पनि शुभकामना व्यक्त गरेका छन् ।

