मकवानपुर/ सञ्चारिका समूह नेपाल मकवानपुर शाखाले महिला पत्रकारहरुका लागि निःशुल्क स्यानेटरी प्याड वितरण सुरु गरेको छ ।
११२ औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले ८ मार्चबाट प्याड वितरण सुरु गरेको जिल्ला अध्यक्ष सम्झना रिजालले बताइन् । दिवसको अवसरमा समूहले मैत्रीपूर्ण फुटसल खेल तथा प्याड वितरण कार्यक्रम गरेको हो । समूहले महिल पत्रकारलाई फिल्डमा शसक्त भएका काम गर्न सहजता प्रदान होस् भनेर यस्तो कार्यको थालनी गरेको रिजालले बताइन् ।
फुटसल खेलको समान तथा सेनिटरी प्याड वितरण कार्यको सुरुवात गर्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले महिलाहरुको नेतृत्व र शसक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनु पर्ने बताइन् ।

उनले दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन् । महिलाहरुलाई सधै दोस्रो पदमा मात्र राख्दै आएको तितो यथार्थका विरुद्ध आगमी दिनमा संघर्ष गर्नुपर्ने लामाले बताइन् । महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने लामाले प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतले महिला र पुरुषको साथ र सहकार्यले मात्रै समानताको कार्यान्वन संभव भएको बताएका थिए ।

