मकवानपुरगढी गाउँपालिका नेपालको दोस्रो बालमैत्री स्थानीय तह घोषित
Tags: No Comments
मकवानपुर । तोकिएको ५१ वटा सूचकहरुमाथि सफलता हासिल गरेपछि शानिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषिणा गरेका छन् ।
यसरी घोषित हुने यो नेपालकै दोस्रो गाउँपालिका हो ।
यस अघि घोषित पाल्पाको रम्घा गाउँपालिका ५१ वटा सूचकमा सफलता हासिल गर्ने पहिलो स्थानीय तह बनेको थियो भने अन्य २ गाउँपालिका यसअघि तोकिएको ३९ वटा सूचकमा सफलता हासिल गरेर बालमैत्री घोषित भएका थिए । नेपालमा हालसम्म ४ वटा गाउँपालिकालाई बालमैत्री घोषणा गरिएकोमा मकवानपुर जिल्लाकै ३ वटा रहेका छन् । मकवानपुरगढीसहित मकवानपुरको मनहरी, बकैया र पाल्पा रम्घा गाउँपालिकामा बालमैत्री शासन लागु भएको छ । मकवानपुरगढी नेपालको चौथो, बागमती प्रदेशको तेस्रो र ५१ वटा सुचकमा नेपालकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका भएकाे छ ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासनको सबै सूचकहरु पूरा गरी जिल्ला समन्वय समिति मकवानपुर र बागमती प्रदेश सरकारको अनुगनम तथा अनुमति तथा सिफरिसमा शनिबार गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्य र अर्थ समितिको सभापति तथा प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दहाल, प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको सहभागीतामा मकवानपुरगढी गाउँपालिकालाई स्थानीय बालमैत्री शासन लागू भएको गाउँपालिका घोषणा गरीएको हो ।
गाउँपालिकाले ५ वटा मुख्य सूचक भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर गाउँपालिका भित्र बालमैत्री शासन लागू गरेको हो । बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संस्थागत विकास मुख्य सूचक रहेका छन् । बालमैत्री घोषणा आवश्यक ५१ वटा सूचकहरुमा ४० वटामा शतप्रतिशत र बाँकी ११ वटा सुचकमा ९९ दशमलब ७५ प्रतिशत नतिजा हासिल गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले बताए ।

आर्थिक बर्ष २०७६/०७७ को बार्षिक बजेट नीति तथा कार्यक्रममा गाउँपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अबलम्बन गर्ने निर्णय गरेको थियो । त्यसपछि गाउँपालिकाले २०७७ माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको लागि गाउँपालिकास्तरमा हस्ताक्षर गर्दै सामुहिक प्रतिवद्धता गरेको थियो । गाउँपालिकाको ८ वटै वडामा टोल, विद्यालय, वडा तथा पालिका स्तरमा बाल समुहहरुको गठन तथा क्रियाशिलतालाई तिब्र बनाएको थियो ।
आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट नीति तथा कार्यक्रममा २०७८ को मंसिरभित्र बालमैत्री घोषण गर्ने निर्णय गरेको थियो । त्यस्तै आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा,“बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान” शुरु गरी यही फागुन २९ गते गाउँपालिकाको ८ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
हाल गाउँपालिकामा १ सय ३ वटा विद्यालयमा आधारित र १४ वटा समुदायमा आधारित बालविकास केन्द्र संचालनमा रहेको अध्यक्ष हुँमागाईंले बताए । १ सय ३ वटा बाल समुहहरु, वडा र गाउँपालिका बालसमुह सञ्जाल ९ वटा गरी पालिकाभित्र १ सय १२ वटा बालसमुहमा १७ सय ६२ बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको उनले बताए । बालमैत्री स्थानीय कार्यान्वयन तथा दिगोपनाको लागि वडास्तरको लगानी योजना र पाँच बर्षे रणनितिक योजना बनाइएको छ ।
घरधुरी सर्वेक्षण २०७७ अनुसार गाउँपालिकामा ४ हजार ६ सय २४ बालक र ३ हजार ६ सय ७२ बालिका गरी कुल ८ हजार २ सय ९३ बालबाललिका रहेका छन् । ५ हजार ३ घर धुरी रहेको गाउँपालिकामा महिला १२ हजार ६२ र पुरुष १३ हजार ४३ गरी कुल जनसंख्या २५ हजार १ सय ५ रहेको छ ।

बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति एवं बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७०, बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८, स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ दफा १२ को ग बमोजिम बालमैत्री स्थानीय शासन अवधारणाको अवलम्बन गरेर कार्यान्वयनमा ल्याएको छ ।
नेपालले अन्तराष्ट्रिय बालअधिकार महासन्धी १९८९ लाई २०४७ भाद्र २९ गते अनुमोदन गरेको थियो । त्यसपश्चिात नेपाल सरकारले बालअधिकारलाई संस्थागत गर्नका लागि बालअधिकार ऐन २०७५, नेपालको संविधान २०७२ को भाग ३ मैलिक हक धारा ३९ मा कानुनी नीतिगत व्यवस्था गरेको थियो । सोही अनुरुप सरकारले नेपालका सबै स्थानीय तहलाई सन २०३० सम्ममा बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।
मकवानपुर । नेपाल र चीनबीच शनिबार ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक भएकाे थियाे । बैठक पछि दुई देशका सम्बन्धित अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । शनिबार हस्ताक्षर भएका सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन), भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात) रहेका छन् ।
यसैगरी भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्रमा हस्ताक्षर, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड–१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर रहेका छन् ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले ३ सय १७ औं साहित्य सन्ध्या पर्यटकीय तथा धार्मिक स्थल पुण्यक्षेत्र र स्मारकमा मनाएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गमले साहित्य सन्ध्यालाई फरक तरिकाबाट मनाउने क्रममा हेटौंडा–११ मा रहेको पुण्यक्षेत्रको जंगलमा स्थलगत रचना लेखन र वाचन गरेर मनाएको हो ।
स्मारक विकास समितिको सहयोग र समन्वयमा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले त्यहिको प्रकृतिलाई नियाल्दै लेखेका साहित्यका बिभिन्न रचना वाचन गरेका साहित्य सङ्गम अध्यक्ष अनिता न्यौपानेले बताइन् ।
कार्यक्रममा प्रसिद्धिका लम्साल, रजनी अधिकारी, इलिसा पराजुली, सम्प्रस पौडेल, गंगा सापकोटा, यमनदेव उत्प्रेरक, अनिल कोइराला, ऋत्विक केबी, कुबेर पराजुली, महेन्द्र ओझा, सावित्री ढुंगाना, स्वस्तिका दाहाललगायतले गीत, कविता, गजल र हाईकु रचना गरेर वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण सङ्गमका कोषाध्यक्ष मनोज पोखरेलले गरेका थिए भने स्वगत मन्तव्य सङ्गमका उपाध्यक्ष सानु खनालले राखेका थिए ।
तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको साहित्य सन्ध्याको स्थलगत रचना लेखन कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, गजल मञ्चका अध्यक्ष देवराज तिवारी, नेपाल लेखक संघका पूर्व अध्यक्ष विष्णु गौतम, साहित्यसेवी मुक्तीगोविन्द वैद्य, साहित्यकार जर्नादन खनाललगायतको आतिथ्यता रहेको थियो ।
साहित्य सन्ध्यामा स्मारक विकास समितिका अध्यक्ष रामचन्द्र न्याैपाने, बालजागृति बाेडिङ्ग स्कुलका प्रमुख विनाेद सुवेदी, एनएस टेलिभिजनका महेन्द्र ओझा, साहित्य सङ्गम मकवानपुरका कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका लागि मकवानपुरमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाको अनुसार १ हजार ३ सय २२ जना म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेहरुमा २ हजार ५ सय ९६ जना पुरुष र १ हजार १ सय ४१ महिला रहेका छन् । गएको चैत ६ गते आईतबार देखि ११ गते शुक्रबार साँझ सम्म आवेदन दिने समय रहेकोमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
रिमालका अनुसार आवेदकहरुको चैत १५ गतेबाट २२ गतेसम्म छनोट प्रक्रिया हुने र चैत २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ। निर्वाचन अघि र पछि केहि समयको लागि समेत गरि ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।
म्यादी प्रहरीले दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र १ हजार रुपैयाँ यातायात खर्च गरेर ४४ हजार रुपैयाँ प्राप्त गर्ने कार्यबिधि रहेको छ ।
मकवानपुर । हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ को उपाधी हेटौंडाका क्षितिज भण्डारीले जितेका छन् । नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा काठमाडौंका मनिष हमाललाई हराउँदै भण्डारीले प्रतियोगिताको उपाधि हात पारेका हुन् ।
प्रथम भएका भण्डारीले ६ अंक प्राप्त गरी उपाधी जितेका हुन् । यस्तै, हेटौंडाका कृृष्ण थापा ५.५ अंकका साथ द्वितीय भए । यस्तै, झापाका प्रकाश चन्द्र नेपालले पनि ५.५ अंकका साथ तृतीय भए । भण्डारीले उपाधी विजेता बन्दै नगद ५० हजार रुपैयाँ हात पारेका छन् । द्वितीय स्थानमा रहेका थापाले नगद २५ हजार रुपैयाँ हात पारे । तृतीय भएका चन्द्रले नगद १५ हजार रुपैयाँ हात पार्न सफल भए ।
यस्तै, चौँथो भएका सुमन श्रेष्ठ र पाँचौ भएका मनिष हमालले समान ५–५ अंक प्राप्त गरे । दुबै जनाले नगद १०–१० हजार रुपैयाँ हात पारे । यस्तै रुपेश जैसवालले ५, राजन सुवेदीले ५, श्रीकृष्ण श्रेष्ठले ५, सुस्रुत दाहालले ४.५ र आषिश फुयाँलले ४.५ अंक प्राप्त गरे । सबैले समान ७–७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा देशभरबाट ५४ जना खेलाडी सहभागी भएका थिए ।
नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षता तथा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, केन्द्रीय महासचिव धरम लामा लगायतको आतिथ्य रहेको थियो ।
