मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका लागि मकवानपुरमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाको अनुसार १ हजार ३ सय २२ जना म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेहरुमा २ हजार ५ सय ९६ जना पुरुष र १ हजार १ सय ४१ महिला रहेका छन् । गएको चैत ६ गते आईतबार देखि ११ गते शुक्रबार साँझ सम्म आवेदन दिने समय रहेकोमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
रिमालका अनुसार आवेदकहरुको चैत १५ गतेबाट २२ गतेसम्म छनोट प्रक्रिया हुने र चैत २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ। निर्वाचन अघि र पछि केहि समयको लागि समेत गरि ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।
म्यादी प्रहरीले दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र १ हजार रुपैयाँ यातायात खर्च गरेर ४४ हजार रुपैयाँ प्राप्त गर्ने कार्यबिधि रहेको छ ।

