मकवानपुर/लामो समयदेखि विद्यालय व्यवस्थापन समिति विहीन रहदै आएको हेटौंडा उपमहानगरपालिकाको सिद्धार्थ माध्यमिक विद्यालयमा सोमबार समिति गठन गरिएको छ ।
एक वर्ष यता विद्यालय व्यवस्थापन समिति विहीन रहदै आएको विद्यालयमा सोमबार सर्वसम्मत नेतृत्व चयन गरिएको विद्यालयका प्रध्यानाध्यापक मोहनप्रसाद शर्माले बताए । सोमबार भएको अभिभावक भेलाले अभिभावकहरु बलराम घिमिरे, सरिता दाहाल, रामचन्द्र बर्तौला, लक्ष्मी श्रेष्ठलाई व्यवस्थापन समितिको लागि चयन गरेको थियो । सदस्य सचिव एवम् विद्यालयका प्रध्यानाध्यापक मोहनप्रसाद शर्मा तथा स्थानीय राजनैतिक दलका आमन्त्रित अतिथीहरुको समेत उपस्थितीमा भएको पहिलो बैठकले पिताम्बर बास्तोला, ज्ञानु परियार र वडा प्रतिनिधिको रुपमा हेटौंडा–२ का वडा सदस्य महेश्वरमान श्रेष्ठलाई मनोनित गर्दै समितिलाई पूर्णता दिइएको छ । पहिलो बैठकले समितिको अध्यक्षमा बलराम घिमिरेलाई सर्वसम्मत चयन गरेको सदस्य सचिव तथा प्रध्यानाध्यापक मोहनप्रसाद शर्माले बताए ।
बिद्यालयको ४४ औं अभिभावक भेलामा बोल्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिक्षा क्षेत्रमा राजनीति नगर्ने आग्रह गरे । उनले सबै सामुदायिक बिद्यालयले अग्रेजी माध्यममा अध्यापन गराउनका लागि पहल भैरहेको बताए ।

अभिभावक भेलामा कार्यक्रममा हेटौंडा–२ का वडा सदस्यहरु महेश्वरमान श्रेष्ठ, रेणु गुरुङ, समाजवेवीहरु, प्रधानध्यापक, बिद्यालयका शिक्षकहरु लगायतकाको सहभागिता रहेको थियो ।
यसैगरी बैठकले भीम कुमार श्रेष्ठको अध्यक्षतामा शिक्षक अभिभावक संघ (पीटीए) पनि गठन गरेको छ । पीटीएका सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, रेखा रिजाल, गणेशप्रसाद हुमागाई, राजन घिमिरे चयन गरिएको छ । बाँकी सदस्यरु आगमी बैठकले मनोनित गर्ने अध्यक्ष घिमिरेले बताए ।
गत बैशाखमा विद्यालय व्यवस्थापन समिति गठनको तयारी हुँदा राजनैतिक हस्तक्षेपको कारण समिति बन्न सकेको थिएन । विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयको विभिन्न नियमित क्रियाकलापमा समेत अफ्ठ्यारो परिस्थिती सामना गर्दै आउनु परेको विद्यालयमा प्रध्यानाध्यापक शर्माले बताए । झण्डै १ हजार ८ सय विद्यार्थी अध्ययनरत यो विद्यालय प्रदेश सरकारको बिग स्कुल कार्यक्रमको लागि छनौट भएको विद्यालयका अंग्रेजी माध्यम संयाेजक शिक्षक गणेश हुमगाईले बताए ।
मकवानपुर । निर्वाचन आयोगले मकवानपुरसहित देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले मकवानपुर जिल्लामा १ मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला सदरमुकाम रहेका हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
यसैगरी बाँकी ९ स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । ताेकिएका निर्वाचन अधिकृतमा थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेल रहेका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत दशाैं तहका रुद्रहरी भण्डारी, मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय हेटाैडाका निमित्त निर्देशक पूर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।
यसैबीच विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।
७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्काका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाले समस्या आएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशका ५ जना किसान पुरस्कृत भएका छन् । हेटौंडामा भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चौमासिक प्रगति समिक्षा गोष्ठीमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट बागमती प्रदेशका ५ जना किसानलाई नगद सहित पुरस्कृत गरिएको छ ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैँया सहित पुरस्कृत गरिएको हो । द्वितीय हुने दिदी बहिनी कृषि फर्म भक्तपुरकी गिता रिजाललाई नगद ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रा.लिकी बरी बललाई नगद ४० हजार सहित पुरस्कृत गरिएको थियो । यस्तै चौथो हुने कामना फलफुल बहुउदेश्यिय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाचौं हुने न्यू महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको थियो ।
प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र मार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव कृषि विकास निर्देशनालयले सङ्कलन गरेको थियो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रदेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कृत गर्न छनोट गरेको थियो ।
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश सरकारलाई सफल बनाउन कर्मचारी लगनशील भएर काम गर्नु बताएका छन् । उनले सबै कर्मचारीहरुलाई नतिजा देखिने गरि काम गर्न निर्देशन दिएका छन् । कर्मचारीहरू काममा सफल हुँदा आफू पनि सफल हुने बताउँदै उनले यस्तो निर्देशन दिएका हुन् । कर्मचारी लगनशील हुंदा किसानले पनि राहत पाउने उनले बताए ।
आफू मन्त्री बनेर आएपछी ५ मिनेट पनि कुनै पनि फाइल नरोकेको बताउदै उनले अहिलेसम्म रहेका बेरुजु रकमहरु फछर्यौट गर्नका लागि आग्रह गरे । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको दोस्रो चौमासिक समिक्षामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा कृषि विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङले कृषिका क्षेत्रमा योजना बनाउँदै भएकाेले यस प्रदेशबाट अन्यत्र सिक्नेगरी योजना बनाउनका लागि आग्रह गरे । सफलताबाट अरूले पाठ सिकुन भन्ने ध्येय राखेर काम गर्न उनले आग्रह गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले मन्त्रालयमा रहेर आफूले राम्रा काम आएमा स्वीकृत गर्ने भनेपनि राम्रा कामको माग नै नआएको बताए ।
“खाली गाडी मर्मत, इन्धनको रकम अपुग भयो भन्ने गुनासाहरु आउछन, राम्रो कामको माग नै छैन” उनले भने । बागमती प्रदेश भरका कृषि र पशु कार्यालयका प्रमुखहरुले दोस्रो चौमासिकसम्ममा गरेका कामको विवरण प्रस्तुत गर्ने मात्र नभइ आफूले आफूलाई समिक्षा गर्नका लागि पनि सचिब पाण्डेले निर्देशन दिए । के के काम भएका छन् अब के गर्छौं भन्ने कुराको योजना बनाउन पाण्डेले निर्देशन दिए । कार्यक्रममा कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधानले दोस्रो चौमासिकसम्म गरिएका कामको प्रस्तुतीकरण गरेका थिए ।
मकवानपुर । मकवानपुरको पिप्ले युवा क्लबले सर्लाहीमा भएकाे छैठौं राजर्षी गोल्डकपको उपाधि हात पारेकाे छ । राजर्षी गाेल्डकपकाे पाचाैं संस्करणकाे विजेता पिप्लेले लिग विजेता मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि जितेकाे हाे ।
९० मिनेटको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमै पिप्ले विजयी भएको हो । सडन डेथमा मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाले प्रहार गरेको गोल नै निर्णायक सावित भयो ।
पिप्लेका गोलरक्षक अशोक बरालको उत्कृष्ट बचाउसँगै पिप्ले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पिप्ले युवा क्लबले नगद १० लाख रुपैयाँ जितेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । ‘ए’ डिभिजन क्लब
पेनाल्टीमा मच्छिन्द्रको तर्फबाट बिमल घर्ती मगरको पहिलो प्रहार नै रोक्न सफल पिप्लेका गोलरक्षक अशोक बरालले पेनाल्टीमा पछि परेको स्थितिमा मच्छिन्द्रका देवेन्द्र तामाङको अन्तिम प्रहार पनि रोकेका थिए । मच्छिन्द्रको तर्फबाट सुजल श्रेष्ठ, विजय धिमाल र अफ्रिकी खेलाडी करिमको प्रहार गोलमा परिणत भएको थियो ।
पिप्ले युवा क्लबका अशोक खवास, समीरराज थोकर र अमीर श्रेष्ठको प्रहार गोलमा परिणत हुँदा कुलदीप कार्कीको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरियो । यस्तै अफ्रिकी खेलाडी मार्टिन्सको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए । फाइनल खेलको म्यान अफ द म्याच पिप्ले युबा क्लबका गाेलकिपर अशोक बराल भएका थिए ।
प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।

