मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश सरकारलाई सफल बनाउन कर्मचारी लगनशील भएर काम गर्नु बताएका छन् । उनले सबै कर्मचारीहरुलाई नतिजा देखिने गरि काम गर्न निर्देशन दिएका छन् । कर्मचारीहरू काममा सफल हुँदा आफू पनि सफल हुने बताउँदै उनले यस्तो निर्देशन दिएका हुन् । कर्मचारी लगनशील हुंदा किसानले पनि राहत पाउने उनले बताए ।
आफू मन्त्री बनेर आएपछी ५ मिनेट पनि कुनै पनि फाइल नरोकेको बताउदै उनले अहिलेसम्म रहेका बेरुजु रकमहरु फछर्यौट गर्नका लागि आग्रह गरे । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको दोस्रो चौमासिक समिक्षामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा कृषि विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङले कृषिका क्षेत्रमा योजना बनाउँदै भएकाेले यस प्रदेशबाट अन्यत्र सिक्नेगरी योजना बनाउनका लागि आग्रह गरे । सफलताबाट अरूले पाठ सिकुन भन्ने ध्येय राखेर काम गर्न उनले आग्रह गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले मन्त्रालयमा रहेर आफूले राम्रा काम आएमा स्वीकृत गर्ने भनेपनि राम्रा कामको माग नै नआएको बताए ।
“खाली गाडी मर्मत, इन्धनको रकम अपुग भयो भन्ने गुनासाहरु आउछन, राम्रो कामको माग नै छैन” उनले भने । बागमती प्रदेश भरका कृषि र पशु कार्यालयका प्रमुखहरुले दोस्रो चौमासिकसम्ममा गरेका कामको विवरण प्रस्तुत गर्ने मात्र नभइ आफूले आफूलाई समिक्षा गर्नका लागि पनि सचिब पाण्डेले निर्देशन दिए । के के काम भएका छन् अब के गर्छौं भन्ने कुराको योजना बनाउन पाण्डेले निर्देशन दिए । कार्यक्रममा कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधानले दोस्रो चौमासिकसम्म गरिएका कामको प्रस्तुतीकरण गरेका थिए ।

