मुख्यमन्त्री पाण्डेद्वारा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको निरीक्षण, कामको रफ्तार बढाउन निर्देशन
मकवानपुर/बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रिय प्राथमिकता आयोजना काठमाण्डौँ तराइ मधेश द्रुतमार्गको सञ्चालित विकास निर्माण कार्यको निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बसेपछि राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको अवस्थाबारे निरीक्षण गरेका हुन् । समितिको बैठक १५ चैतमा बसेको थियो । बैठकमा भएको छलफल अनुसार आयोजनाको कामको अनुगमन गर्न बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाल सहित निरीक्षण गर्न आयोजना क्षेत्रमा पुगेका मुख्यमन्त्री पाण्डेले द्रुतमार्ग अन्तर्गत लेनडाँडा क्षेत्रमा निर्माणाधीन सुरुङ तथा पुलहरुको निरीक्षण गरे ।
उनले हाल भैरहेको कामको गति सकरात्मक भएको भन्दै आयोजना अन्तर्गत अन्य क्षेत्रमा कामको गतिमा तीब्रता प्रदान गर्न तोकिएको समय सीमा भित्र आयोजना सम्पन्न गर्ने गरी काम रफ्तार बढाउन निर्देशन दिए । राष्ट्रिय गौरवको प्राथमिकता आयोजनालाई नाम अनुसार कार्य प्रगति हासिल हुने गरी कार्यमा तीब्रता दिन उनले निर्देशन दिएका हुन् ।
उक्त कार्यक्रममा नेपाली सेना २८ नम्बरका बाहिनीपति सहायक रथी हिम्मत विष्ट, नेपाली सेना काठमाण्डौँ तराइ मधेश द्रुतमार्ग आयोजना लेन डाँडाका क्याम्पका प्रमुख मेजर राम सागर यादवले मुख्यमन्त्रीलाइ योजनाको समग्र कार्य प्रगतिको अवस्थाको बारेमा जानकारी गराएका थिए । सुरुङ्मार्गको निर्माण पश्चात ७२ दशमलब ५ किलोमिटर लम्बाइ रहने द्रुतमार्गको कामलाइ बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले समयमा नै सम्पन्न गरेर विकासमा नयाँ फड्को मारेको आभाष बागमती प्रदेशवासीका साथै समग्र नेपालीले गर्न पाउने वातावरण सृजना गर्न र मालसामानको ढुवानीमा हुने गरेको खर्च घटाउने र काठमाडौँ उपत्यका भित्र बढ्दो जनसंख्याको चापलाइ कम हुने अवस्था निर्माणका लागि समेत यो आयोजना नेपालको लागि अत्यावश्यक रहेको बताए ।
निरीक्षणका क्रममा आयोजना अन्तर्गत धेरे क्षेत्रमा निर्माणधानीन सुरुङ, गुणस्तर मापन प्रयोगशाला, रुख कटान गरिएका क्षेत्र लगायतको स्थलगत अवलोकन तथा फिल्डमा खटिएका प्राविधिक तथा मजदुरहरुसँग अन्तक्रिया गरेका थिए ।
प्रस्तावित निजगढ विमानस्थल र द्रुतमार्ग एक आपसमा परिपूरक आयोजना भएकोले बागमती प्रदेश र मधेश प्रदेश विचको सम्बन्धको सेतुको रुपमा अघि बढाउँदै यी दुबै आयोजनालाइ नेपालको गेम चेञ्जर आयोजनाको रुपमा सम्पन्न गर्न आवश्यक रहेको कुरामा जोड दिनु भए ।
बागमती प्रदेश सरकार आयोजना सम्पन्न गर्ने क्रममा आउने अवरोधहरुलाइ समयमा नै निराकरण गर्न र सहजीकरण गर्न प्रतिवद्ध रहेको बताए ।
प्रहरीमा उजुरी परेन, विद्यालयमा पुगे अधिकारकर्मीहरु, छात्रा र शिक्षकलाई सुरक्षा चुनौती
Tags: No Comments
शान्तिपुर (मकवानपुर)/अभिभावकहरुले समेत विद्यालयमा भएको बाल यौन दुव्र्यवहार विरुद्ध नबोल्न भनेपछि बालिकाहरुमाथिको घटनामा न्याय मर्न नदिन मकवानपुरका अधिकारकर्मीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरुलाई सोही विद्यालयमा अध्यापनरत ३ जना शिक्षकहरुमाथि लागेको आरोपको छानविन गर्न मकवानपुराका मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।
शिक्षकहरुको व्यवहारमाथि कारवाहीको माग गर्दै मंगलबार विद्यार्थीहरु तोडफोडमा उत्रेपछि बुधबार जिल्लाका अधिकारकर्मीहरु स्थलगत अध्ययनमा गएका थिए । विद्यालयका रुद्रबहादुर बिक, हेमबहादुर बिक, र लोकबहादुर बिकले कक्षा ४ देखि माथिल्लो तहको विद्यार्थीलाई केही वर्षदेखि लगातार यौन दुव्र्यवहार गर्दै आएको अध्ययनका क्रममा पत्ता लागेको अधिकारकर्मीहरुले बताएका छन् ।
ति शिक्षकहरुले कक्षा ४ मा पढ्दादेखि नै आफूहरुलाई नराम्रो छुवाइ गर्दै आएको र आफूले डरको कारण कसैलाई नबताएको हाल कक्षा ७ मा अध्ययनरत एक बालिकाले बताइन् । विद्यालयका बाल क्लबका अनुसार ति शिक्षकहरुबाट करिब ७० जना बालिकाहरु पीडित छन् ।
तर अभिभावक र शिक्षकहरुकै डरको कारण उनीहरु खुल्न सकेका छैनन् । बुधबार अधिकारकर्मीहरुसँग कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीहरुले आफूहरुमाथि नियमित यौन दुव्र्यवहार हुदै आएको बताएका थिए ।
कक्षामा पढाउने क्रममा झ्याल ढोका बन्द गर्न लगाउने, विभिन्न बाहानामा छात्राहरुको संवेदनशिल अंगहरुमा हात लैजाने गरेको र प्रतिकार गर्दा पिट्ने गरेको उनीहरुले बताए । जसले प्रतिकार गर्छ उसलाई ‘बदमास विद्यार्थी’ भन्दै पिट्ने गरेको र जसले चुपचाप सहन्छ उसलाई ‘यो मात्रै ज्ञानी छ’ भन्ने गरेको बालिकाहरुले अधिकारकर्मीहरुलाई बताएका थिए ।

अधिकारकर्मीहरुले सत्य तथ्य बुझनको लागि स्थलगत भ्रमण क्रममा पीडित बालिकाहरु, बालक्लबका सदस्यहरु, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयलगायतका सरोकारवालासँग घटना बारे जानकारी लिएका थिए ।

पीडितहरुले प्रशासनमा तीन शिक्षकहरुको नाम किटानीसहित कारबाहीको माग गर्दै मिति २०७८ चैत्र ७ गते उजुरी समेत दिइएको र त्यसको न्यायोचित निर्णय नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी सिविन नेपाल, बाल हेल्पलाइन नेपाल १०९८ मकवानपुरका व्यवस्थापक झबिन्द्र ज्ञवालीले बताए ।
घटना भएको लामो समय भएको र किटानी उजुरी नै दिएको २ हप्ता नाघ्दा समेत कानून बमोजिम हुनुपर्ने कारबाही प्रक्रिया अगाडि बढ्न नसकेकोले सरोकारवालाहरु सम्वेदनशील नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
बालिकामाथि हुने अमानवीय शोषण दुर्व्यवहारको घटनाबारे बुझ्ना जाँदा आफूहरुलाई छात्राहरुसँग बोल्न समेत विद्यालय प्रशासनले रोक्न खोजेको र लामो छलफलपछि छोटो समय बालिकाहरुसँग परामर्श गर्न पाएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले बताइन् ।
विद्यालयका प्राचार्यको निर्देशन बमोजिम छात्राहरुसँग सोधीखोजी गर्ने महिला शिक्षक र कर्मचारीहरुलाई रिसभाव राखेर ज्यान मार्ने धम्की समेत दिइएको जानकारी प्राप्त भएको उनले बताइन् ।
उज्जवल भविष्य बोकेर विद्यालय गएका छात्राहरुमाथि भएको अमानवीय र जघन्य अपराध विरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरुको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र सम्वेदनशीलतालाई ध्यानमा राखी दोषीहरुले उन्मुक्ति नपाउने गरी कानून बमोजिम कारबाही र सजायका लागि सम्बन्धित निकायसमक्ष मकवानपुरका बालअधिकार तथा मानवअधिकारकर्मीहरु माग गरेका छन् ।
स्थानीय केही सरोकारवालाको धारणा बुझदा यस समस्यालाई समाधानको निम्ति स्थानीय स्तरमै मेलामिलापको प्रयास गर्न खोजिएको, अभिभावकले पनि आफ्नै बालिकाहरुलाई नबोल्नका लागि दबाब दिएको प्रत्यक्ष देखिएको राडो नेपाल कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए ।
बालिकाहरुको न्यायका लागि अधिकारकर्मीहरुले आफ्नो तहबाट आवश्यक सहजिकरण तथा समन्वय गर्ने बताउँदै मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल संयोजक आरती पाठकले सम्बन्धित सरोकारवालाहरुले संवेदनशिल विषयलाई संवेदनशिल भएर बुझिदिन आग्रह गरिन् ।
नेपालको संविधान २०७२ ले मौलिक हककै रुपमा धारा ३९ को बालबालिका सम्बन्धी हक अन्तर्गत बालबालिकालाई सम्बोधन गरी बालबालिका माथि हुने कुनै पनि शोषणलाई निषेध गरेको छ । प्रचलित मुलुकी अपराध संहिता २०७४ दफा २२४ ले कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन हुँदैन भनेको र दफा २२५ ले कसैले बाल यौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनेको छ । त्यसै गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिका विरुद्धको कसूर अन्तर्गत बालयौन दुव्र्यवहारलाई अपराध मानी दण्ड सजायको समेत व्यवस्था गरिएको छ । उल्लेखित अपराध गर्नेलाई ३ वर्षसम्म कैद र तिस हजार देखि पचहत्तर हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको अध्ययनान सहभागी सेलर्डका अधिवक्ता जगन्नाथ सुबेदीले बताए ।
स्थलगत भ्रमणमा गएको टोलीले विद्यालयसँगै इलाका प्रहरी कार्यालय फापरबारी, बागमती गाउँपालिकामा समेत घटनाबारे जानकारी लिएको थियो । टोलीले हेटौंडा फर्केर पत्रकार सम्मेलनमार्फत प्राप्त जानकारी सार्वजनिक गरेको छ ।
स्थलगत अध्ययनमा शान्ति फाउण्डेशन मकवानपुर जिल्ला संयोजक सिता गुरुङ्ग, ग्रामीण महिला सेवा केन्द्र कार्यक्रम संयोजक दीपक न्यौपाने, सञ्चारिका समूह नेपाल बागमती प्रदेश अध्यक्ष सरिता दहाल, नारी सीप सृजना केन्द्र कार्यसमिति सदस्य सर्मिला विश्वकर्मालगायतको उपस्थिती रहेको थियो ।
घटनाको अझै पनि प्रहरीमा उजुरी परेको छैन । प्रहरीमा उजुरी नपरेपछि आरोपित शिक्षकहरु विद्यालयमा बिदा लिएर घर बसेका छन् । घटनापछि आफूहरुलाई चौतर्फी दबाब आएको बालक्लबका प्रतिनिधिहरुले बताएका छन् । यता बालिकाहरुलाई समर्थन गर्न शिक्षकहरुमाथि घाँटी रेट्ने भन्नेसम्मको दबाब आएको बताइएको छ । ‘हामीलाई त जे भयो भयो, हामीलाई साथ दिने मिसहरुलाई पनि मारेर फाल्ने भन्ने सम्मको कुरो छ’ एक छात्राले भनिन् ।
स्थलगत अनुगमनमा गएको टोलीसँग विद्यालयका प्रध्यानाध्यापकले आफू पनि न्यायको पक्षमा रहेको र यसबारे प्रहरीलाई छानविनको लागि आग्रह गर्ने तयारी भएको बताए । विद्यालयले यसअघि बुधबार विहान विद्यालय व्यवस्थापन समितिको सदस्य भानुमाया सोराली मगरको संयोजकत्वमा छानविन समिति बनाएकोमा उक्त छानविन समिति अवैध भएकोले अब, छानविनको जिम्मेवारी प्रहरीलाई दिने प्रध्यानाध्यापक राइले बताए ।
मकवानपुर । बारा जिल्लामा भएको पाँचौं नकआउट भलिबल प्रतियोगिताको उपाधि केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान मकवानपुरले जितेको छ । बुधबार बारा जिल्लाको कोहल्वीमा सम्पन्न फाइनल खेलमा स्थानीय समाज सेवा युवा क्लबलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
बाराको कोहल्वीस्थित जनजागृति महिला तथा पुरुष उत्थान केन्द्रको आयोजना तथा कोहल्वी नगरपालिकाको आर्थिक सहयोगमा भलिबल प्रतियोगिताको भएको हो । फाइनल खेलको पहिलो सेट १७–२५ ले गुमाएको प्रतिष्ठानले दोस्रो सेटमा २८–२६ को प्रतिस्पर्धात्मक नजिता निकालेको थियो । तेस्रो सेट २५–१९ ले जित्दै २–१ ले खेल आफ्नो पक्षमा पारे पनि चौथो सेट प्रतिस्पर्धात्मक २६–२८ ले हार्न पुग्यो । २–२ को बराबरीमा पुगेपछि अन्तिम सेट प्रतिष्ठानले १५–९ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको प्रतिष्ठानका महासचिव वसन्त कुमार सिटौलाले जानकारी दिए ।
उपाधिसँगै केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले एक लाख रुपैयाँ नगद हात पारेको छ भने दोस्रो हुने समाज सेवा युवा क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा प्रतिष्ठानका अशोक श्रेष्ठ उत्कृष्ट खेलाडी, विवश आले उत्कृष्ट सेटर घोषित हुँदा समाज सेवा युवा क्लबका सुरेन्द्र गुराउ उत्कृष्ट स्पाइकर घोषित भए ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । कमल विडारी प्रतिष्ठानको टिम व्यवस्थापक रहेकोमा फाइनल खेलमा टिमलाई हौसला प्रदान गर्न प्रतिष्ठानका उपाध्यक्ष राजन दाहाल खुसराज, महासचिव बसन्त सिटौला र कोषाध्यक्ष छवि सुवेदी पनि कोहल्वी पुगेका थिए ।
मकवानपुर । मकवानपुर जिल्लामा म्यादी प्रहरीमा १ हजार ४ सय ७३ जना छनौट भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुर उक्त संख्यामा म्यादी प्रहरी भर्नाको लागि छनौट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत चैत १५ गतेदेखि २१ गतेसम्म संचालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण, लिखित परीक्षा तथा अन्तर्वार्ताबाट सफल भएका १ हजार ४ सय ७३ जना परिक्षार्थीहरुको नामावली सार्वजनिक गरेको हो । म्यादी प्रहरीको लागि ३ हजार ७ सय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका थिए । आवेदक मध्ये २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ९५ जनाको नाम बैकल्पिकमा निकालेको छ । छनौट भएका उम्मेदवारहरुले नियुक्ति पत्रको लागि सक्कल नागरिकता र सक्कल प्रवेश पत्रसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्ककाे लागि सूचना गरिएको छ । म्यादी प्रहरीमा छनौट भएकाहरुलाई चैत २४ गते र २५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नियुक्ति दिइने भएकाे छ ।
यस्तै, म्यादी प्रहरीको तालिमको लागि पुरुषलाई ट्रयाक सुट वा गेम ड्रेस र महिलाको हकमा कुर्ता सुरुवाल वा गेम ड्रेस अनिवार्य गरिएको छ । म्यादी प्रहरीहरुको चैत २८ गतेबाट तालिम सुरु हुनेछ ।
यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीद्वारा बिद्यालमा तोडफोड,पीडितलाई सुरक्षा चुनौती
Tags: No Comments
मकवानपुर/ पुर्वीमकवानपुर एउटा बिद्यालयमा बिद्यार्थीहरूले तोडफोड गरेर क्षति पुर्याएका छन् ।
आफूहरूमाथि शिक्षकहरूले यौन दुर्व्यवहार गरेको भन्दै मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता माविका बिद्यार्थीहरू तोडफोडमा उत्रेका हुन् । घटना सार्बजनिक भएपछि आफूहरूमाथी सुरक्षा चुनौती भएको पीडितहरूले बताएका छन् ।
जनता माबिका शिक्षकहरू रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले फापरबारी-३ का छात्राहरूलाई लामो समयदेखि लगातार यौन दुर्व्यवहार गरेको भन्दै बिद्यालय प्रशासनसमक्ष निवेदन दिएका थिए । निवेदनपछि बिद्यालय प्रशासनले राखेको छलफलमा आफूहरूलाई चित्त नबुझेपछि तोडफोड गरेको छात्राहरूले बताएका छन् ।
बिद्यालयका ३ जना शिक्षकले कक्षाकोठामा रहँदा गलत नियतले संबेदनसिल अंगहरूमा छुने, अपशब्द बोल्ने गरेको बिरुद्व कक्षा ९, १० र ११ मा अध्ययनरत छात्राहरूको आरोप छ । सरहरूको कक्षामा बेन्चको छेउमा समेत बस्न डरमर्दो हुने गरेको छात्राहरूको भनाई छ।
अफूहरूलाई शिक्षकहरू व्यवहार असह्य भएपछि छात्राहरूले १४ चैतमा शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा निवेदन दिएका थिए।
निवेदनपछि छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो। बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका प्रधानाध्यापक बसन्त राईले जानकारी दिए।
तोडफोड पछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार शिक्षकहरू बिदामा रहेकाले पक्राउ गर्न सकिएको छैन । यसबारे जिल्ला प्रहरी कार्यालय मकवानपुर सहीत जिल्लाका अधिकारकर्मी संघसंस्थामा उजुरी प्राप्त भएको बताईएको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए।
तोडफोडबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रध्यानाध्यापक राईले बताए । आफूहरूलाई नियमितरूपमा दुर्व्यवहार भएपछि आन्दोलनमा उत्रेर बिद्रोह गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । घटनाबारे आज कार्यालयमा जानकारी प्राप्त भएको र यसबारे अनुसन्धान भइरहेको सिविन बाल हेल्पलाईन मकवानपुरले जनाएको छ । घटनाबारे मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सन्जालले पनि आफ्नो ध्यानाकर्षण भएको र घटनाबारे भोलि स्थलगत रूपमा अनुसन्धानको काम सुरू गर्ने बताएको छ ।
स्थानीय शिक्षक र स्थानीय विद्यार्थी भएकोले पनि उजुरीपछि उनीहरूले सुरक्षित रहन डर भएको बताए । “हामीलाई समर्थन गर्दै दुर्व्यवहार विरुद्धमा आवाज उठाउने अरू साथीहरू र सरहरूलाई पनि गाउँमा बस्न डरमर्दो भो” एक छात्राले भनिन् “हामीले गलत कदमलाई गलत भनेका हौ, ति सरहरूलाई कारवाही होस् ।”
जनता माबि हेटौंडाबाट ६५ किमी पुर्वमा पर्दछ ।
