मकवानपुर । मकवानपुर जिल्लामा म्यादी प्रहरीमा १ हजार ४ सय ७३ जना छनौट भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुर उक्त संख्यामा म्यादी प्रहरी भर्नाको लागि छनौट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत चैत १५ गतेदेखि २१ गतेसम्म संचालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण, लिखित परीक्षा तथा अन्तर्वार्ताबाट सफल भएका १ हजार ४ सय ७३ जना परिक्षार्थीहरुको नामावली सार्वजनिक गरेको हो । म्यादी प्रहरीको लागि ३ हजार ७ सय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका थिए । आवेदक मध्ये २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ९५ जनाको नाम बैकल्पिकमा निकालेको छ । छनौट भएका उम्मेदवारहरुले नियुक्ति पत्रको लागि सक्कल नागरिकता र सक्कल प्रवेश पत्रसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्ककाे लागि सूचना गरिएको छ । म्यादी प्रहरीमा छनौट भएकाहरुलाई चैत २४ गते र २५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नियुक्ति दिइने भएकाे छ ।
यस्तै, म्यादी प्रहरीको तालिमको लागि पुरुषलाई ट्रयाक सुट वा गेम ड्रेस र महिलाको हकमा कुर्ता सुरुवाल वा गेम ड्रेस अनिवार्य गरिएको छ । म्यादी प्रहरीहरुको चैत २८ गतेबाट तालिम सुरु हुनेछ ।

