मकवानपुर । सत्ताधारी गठबन्धनमा चित्त बुझाउन नसकेको नेपाली कांग्रेसले एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गरेपछि विवाद झनै बढेको छ ।
एकातिर गठबन्धनमा गरेको सहमतिमा विवाद भएपछि पार्टीमा तिक्तता बढेको छ भने, यहि तिक्तताको कारण नेताहरू बिच शक्ति देखाउने होड चलेको छ । यो विवाद र तिक्तता उम्मेदवारी दर्ताका छरपस्ट भएको छ ।
पार्टी सभापति बुद्ध लामा र संघीय सभापति दामोदर खनालवीचको विवादका कारण एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गराएर नेताहरूले आफ्नो हैसियत देखाउने प्रयत्न गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर –२, १० र १९ नम्बरमा दुई/दुई जनालाई वडा अध्यक्षको टिकट दिएपछि यस्तो उम्मेदवार आफै समस्यामा परेका छन् ।
हेटौंडा–२ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरेलाई कांग्रेसले टिकट दिएको थियो । महर्जनले एक्लै सुटुक्क उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले भने यसविषयमा छानविन हुनुपर्ने माग गर्दै पत्रकार सम्मेलन नै गरेका छन् । ‘पार्टीले टिकट दिने उम्मेदवारी दिन नपाउने यो कस्तो विडम्बना हो । पार्टीले छानविन गर्नुपर्छ । गलत गर्नेलाई हदैसम्मको कारबाही होस् ।’, घिमिरेले भने । यहि वडामा नेपाली कांग्रेस कै सुदीप राजवाहकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
हेटौंडा–१० मा युवराज लामा र रमेशध्वज कार्कीलाई टिकट दिएपछि विवाद सिर्जना भएको थियो । कार्कीले उम्मेदवारी दर्ता गराउँदा लामा भने गठबन्धनको वैठकमा नाराबाजी गर्दै उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ आउँदै थिए । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन खोज्दा नमिल्ने भएपछि उनी चुपचाप फर्किन बाध्य भए ।
हेटौंडा–१९ मा पार्टी सभापतिले शालिकराम अधिकारीलाई टिकट दिएपनि रामकुमार थापाले आधिकारीक पत्रभन्दै उम्मेदवारी दर्ता गराएका थिए । अधिकारीले निर्वाचन अधिकृतको कार्यालय पुग्दा थापा दलबलसहित वडामा भोट माग्न थालिसकेका थिए ।
मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नकेपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन ।
दमाई र सुनारको उक्त वडामा एकल उमेद्वार परेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
इन्द्रसरोवरमा ५ वटा वडाको ५ अध्यक्षका लागि २२ जनाको उमेद्वारी परेको छ भने १० वडा सदस्यका लागि ३५ जना ५ जना महिला सदस्यको लागि १८ र दलित महिला सदस्य पदको लागि ११ जनाको उमेद्वारी परेको जारी सूचनामा उल्लेख छ ।
मकवानपुर । सत्तासिन दल जनता समाजवादी पार्टी (जसपा) ले मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा ५ दलीय गठबन्धन तोडेर प्रमुख तथा उपप्रमुख सहित वडाध्यक्षहरुमा उम्मेद्वारी दर्ता गरेको छ ।
सोमबार राती ११ बजेसम्म चलेको उम्मेदवारी दर्तामा जसपाले गठबन्धनबाट बाहिरिदै आफ्नो उम्मेदवारी दर्ता गरेको हो ।
जसपा मकवानपुरका सचिवालय सदस्य सुबोध घलानका अनुसार मकवानपुरमा ५ दलीय गठबन्धनले जसपालाई समावेश नगरेपछि १० वटै स्थानीय तहमा उम्मेद्वारी दर्ता गरेको र चुनावी प्रचारप्रसारमा अघि बढेको हो ।
बैशाख १७ गतेसम्म पनि मकवानपुरमा गठबन्धनले जसपालाई चासो नदिएमा जसपा पूर्ण रुपमा गठबन्धनबाट बाहिरिने र सबै दलहरुसंग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दामा जाने तयारी रहेको घलानको भनाइ छ ।
यता नेपाली कांग्रेसले पनि जिल्लाको विभिन्न स्थानीय तहमा गठबन्धनबाट बाहिरिदै आफ्नो उम्मेदवारी दर्ता गराएको छ । राती अबेरसम्म मनोनयन दर्ता चलेकोले यसबारे जानकारी संकलनको क्रममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि १७ जनाले मनोनयन दर्ता गरेका छन् ।
जसमा महिला ४ जना छन् । ४ मध्ये ३ जना महिला राजनीतिक दलको तर्फबाट र एक जना महिला स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बनेकी हुन् ।
विभिन्न राजनीतिक दलबाट ११ जना र स्वतन्त्र ५ जना गरी १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन कार्यतालिका अन्तर्गत् आइतबार ७ जनाले मेयरमा मनोनय दर्ता गराएका थिए । आज सोमबार ९ जनाको मेयरको लागि उम्मेदवारी दर्ता भएको हो ।
हेटौंडाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामा, राप्रपा दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार मेयरमा नेपाल मजदुर किसान पार्टी रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टी अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टी रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टी सिर्जना बर्तौला उम्मेदवारी परेको छ ।
स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
मकवानपुर / आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनले साझा उम्मेदवारको रूपमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीको मिनाकुमारी लामा र उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
लामो रस्साकस्सिपछि काँग्रेसले बानियाँलाई हेटौंडाको उपमहानगरको उम्मेदवार बनाउने निर्णय आज गरेको थियो । गठबन्धनमा सहभागी दलहरूले आ आफ्नो पार्टी कार्यालयबाट र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
गठबन्धनमा बिभाजन गरिएको भाग अनुसार हेटौंडा नगरको १९ वडामा पनि अध्यक्ष तथा सदस्यहरूको उम्मेदवारी दर्ता भैरहेको छ ।
