मकवानपुर । अघिल्लो सरकारले नियुक्त गरेको ब्यक्ति हटाउने शिलशिलाको शिकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी पनि भएका छन् ।
प्रा.डा जोशीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानको उपकुलपति जोशीलाई निलम्बन गरेका हुन् । उनीमाथि छानविन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित भएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भूसालले जानकारी दिए । जोशीलाई केहि समय अघिबाटै पदबाट हट्न दबाब आईरहेको थियो ।
मुख्यमन्त्री पाण्डेले छानविन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको सचिव भुसालले अताए । सचिव भुसालले मंगलबार उपकुलपति प्रा.डा. जोशीलाई सम्बोधन गरेर निलम्बन गरिएको पत्र तयार पठाएका थिए ।
उपकुलपति प्रा.डा. जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधार उल्लेख गरी प्रतिष्ठानको सभाका एकचौथाई सदस्यले लिखित निवेदन दिएकोले प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री पाण्डेले सो सम्बन्धमा छानविन गर्न समिति गठन गरेको बताइएको छ ।
यता प्रा.डा. जोशीले भने निलम्बनको खबरले पत्रकारमार्फत मात्रै जानकारी भएको र निलम्बनको पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताए । गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट हट्न आग्रह गरेको उल्लेख गर्नु प्रा.डा. जोशीले भने, ‘एउटा योजनासहित काम गर्दै गर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ । एक्कासी निलम्बनको कुरा सुनेँ । निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु ।’
प्रा.डा. जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्षे कार्यकालका लागि नियुक्त गरेका थिए । पाण्डे नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने श्रीखलाबद्व योजना रहेको र यो गलत भएको नेकपा एमालेले बताउंदै आएको छ ।
यसअघि प्रदेश खेलकुद विकास परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पनि पदबाट हटाईएको थियो । यद्यपि चौलागाईंले कानुनीबाटो रोजेपछि अहिले अदालतको आदेश अनुसार उनी पुनः पद बाहल छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा पत्रकार किशोर पन्थीद्वारा लिखित ‘जिरो माइल’ पुस्तकमाथि परिचर्चा कार्यक्रम भएकाे छ । मकवानपुरकाे संस्था राउण्ड टेवल गसिपले जिराे माइल माथि परिचर्चा कार्यक्रम गरेकाे हाे ।
उच्च अदालत पाटन बार एशोसियनका अध्यक्ष शुसील पोखरेल, अधिवक्ता ऋषि के.बी. र पत्रकार गिरिजा अधिकारीले कृतिमाथि टिप्पणी गरेका थिए ।
लामो समयदेखि अमेरिकामा रहेर पत्रकारितामा क्रियाशील रहेका पत्रकार पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ मा अमेरिका प्रवेश गर्नु अघि र गरेपछिका कानुनी पाटाे र अध्यागमन सम्बन्धी जानकारीलाई विशेष रुपमा समावेश गरिएको भन्दै बार एशोसिएसन मकवानपुरका अध्यक्ष एवम् अधिवक्ता के.बी.ले जुनसुकै भिसामा अमेरिका जान चाहानेहरुका लागि मात्रै नभई आम पाठकहरुका लागि पनि यो कृति महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताए ।
कृति सरल भाषामा सबैले बुझ्ने गरी तयार पारिएको र आम पाठकलाई दिन खोजिएको जानकारी पनि प्रभावकारी रहेको पत्रकार अधिकारीले बताए । ‘जिरो माइल’ पत्रकार, प्राध्यापक र कानून व्यवसायीहरुका लागि पनि पठनीय सामग्रीको रुपमा रहने अधिकारीले उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले साहित्य, कानून र पत्रकारिता समाजको मार्गदर्शक भएको बताए । पछिल्लाे समय युवा पुस्ताले पुस्तक प्रकाशनमा रुची लिएकाेले पठन संस्कृतिकाे विकासमा टेवा पुग्ने बताए । अध्ययनले विद्वान बनिने हाे पदले हाेइन भन्दै उनले भने जिराे माइल विदेश जानेहरुकाे लागि विशेष खुराक भएकाे बताए ।
वि.सं २०५७ मा गुल्मीबाट जनआह्वान दैनिकमार्फत् पत्रकारिता सुरु गरेका पन्थीले मुलधारका सचार संस्थामा लामाे समय पत्रकारिता गरेका थिए । हाल अमेरिकाबाट सञ्चालित खसोखासका प्रधान सम्पादक हुन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उनले अमेरिकी राष्ट्रपति जो वाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका छन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पसँग सम्बन्धित विषयवस्तु समावेश गरी २०७५ मा पन्थीको कम्पन उपन्यास पहिलो कृति प्रकाशित भएकाे छ । हो ।
राउण्ड टेवल गसिपका संयोजक राम अविकासको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम लगायत मकवानपुरका कानुन व्यवसायी पत्रकार प्राध्यापक तथा सघ सस्थाका व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ को लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा ५ गुणाबढी उम्मेदवारी दर्ता भएको छ ।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा आवश्यक ९७ पदमा ४ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो ४ दशमलव ५ गुणा बढी हो । यसैगरी मकवानपुरको थाहा नगरपालिकामा पनि ५ गुणाबढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उल्लेख्य रूपमा उम्मेदवारी दर्ता गराईएको हो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ताको बिवरण मंगलबार अबेर मात्रै सार्वजनिक गरिएको थियो । मंगलबार बिहानैसम्म दर्ता तथा इन्ट्रीको काम भैरहेकोले ढिलोगरि तथ्यांक सार्वजनिक गरिएको हो ।
हेटौंडाको मेयरमा २१ जना, उपमेयमारमा ११ जना र १९ वटा वडाका अध्यक्षका १ सय ११ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको उम्मेदवारीबापत २ लाख ६० हजार पाँचसय रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
हेटौंडाको मेयरमा विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका लागि आइतबार ७ जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराएका थिए ।
उपमेयरमा ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
यता मकवानपुर पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा ६२ पदका लागि २ सय ४४ जनाको मनोनयन दर्ता भएको छ ।
थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा २ जनाको मात्र उमेद्वारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रसहित १२ जना वडा अध्यक्ष पदका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । यो संख्या आवश्यक भन्दा करिब ५ गुणा बढी हो ।
वडा अध्यक्ष पदमा ४ जनाको सवतन्त्र उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर ३, ४, ८ र ९ मा १/१ जनाले अध्यक्ष पदमा उम्मेवारी दर्ता गराएका हुन् । थाहानगरका १२ वडा सदस्यका लागि १२ पदमा ४६ जनाको उमेद्वारी छ । त्यस्तै १२ दलित महिला सदस्यका लागि ३८ जनाको र २४ जना वडा सदस्य पदका लागि १ सय ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कार्यालयले जनाए अनुसार जिल्लाको गाँउपालिकाहरूमा पनि तेब्बर भन्दा माथी उम्मेदवारी देर्ता भएका छन् । राजनीतिक चेत र सशक्तीकरणको कारण उम्मेदवारी हुनेको चासो बढेको हुनसक्ने मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताए ।
मकवानपुर । मकवानपुर जिल्लामा दोहोर्याएर पालिका प्रमुख बन्ने आकाक्षामा ७ जनाले उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष जितेका ७ जनाले पुन अध्यक्षको उम्मेदवारी दिएका हुन् ।
मकवानपुरका १० स्थानीय तह मध्ये कैलाश, मकवानपुरगढी, मनहरी, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ र बागमती गाउँपालिकाका निर्वाचित अध्यक्षले पुनः दोहोर्याउन उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ सालको निर्वाचनमा कैलाश गाउँपालिका अध्यक्षमा टंक मोक्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्षमा निर्वाचित विदुर हुमागाईं, मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित एकराज उप्रेती, भीमफेदी गाउँपालिका अध्यक्षमा निर्वाचित हिदम लामा, ईन्द्रसरोवर गाउँपालिका अध्यक्षमा निर्वाचित जीवन लामा, राक्सिराङ गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार मल्ल, बागमती गाउँपालिका अध्यक्षमा निर्वाचित सर्केश घलानले अध्यक्ष पदमा दोहोर्याउने गरी उम्मेदवारी दिएका हुन् ।
मेक्तान, हुमागाईं, उप्रेती, लामाद्वय यस अघीको निर्वाचनमा नेकपा एमालेबाट पालिका अध्यक्ष निर्वाचित भएका हुन । मल्ल नेपाली काग्रेसबाट र घलान नेकपा माओवादीकेन्द्रबाट अध्यक्ष निर्वाचित भएका हुन् । इन्द्रसरोवरमा अध्यक्ष जितेका लामाले र कैलाशमा अध्यक्ष जितेका मोक्तान यस पटक नेकपा एमाले विभाजन भई बनेको नेकपा एकिकृत समाजवादीबाट उही पदमा दोहोर्याएका हुन् ।
अघील्लाे स्थानीय तहकाे निर्वाचनमा कैलाशको अध्यक्ष मोक्तानले २८०२ मत ल्याउदै नेपाली काँग्रेसका लोक बहादुर मुक्तान (२३५९ मत) लाई हराएका थिए । मनहरीमा अध्यक्ष उप्रेतीले ४६४९ मत ल्याउँदै नेपाली काँग्रेसका शंकर न्यौपाने (४३४० मत) लाई हराएका थिए ।
यसैगरी मकवानपुरगढीका विजयी हुमगाईले ३८१४ मत ल्याउँदै नेपाली काँग्रेसका दोर्जे लामा (३६५३ मत) लाई हराएका थिए । राक्सिराङका अध्यक्ष मल्लले ३५३९ मत ल्याउँदै एमालेका लालबहादुर थापा (२९४४ मत) लाई हराएका थिए भने बागमतीका अध्यक्ष सर्केश घलानले ३२२१ मत ल्याउँदै एमालेका राजकुमार तिमल्सिना (३०८६ मत) लाई हराएका थिए ।
इन्द्रसरोवरका जीवन लामाले ३२०४ मत ल्याउँदै नेपाली काँग्रेसका विश्वलाल लामा (२२७३ मत) लाई हराएका थिए । भिमफेदीका अध्यक्षा लामाले ३८४२ मत ल्याउँदै माओवादीका रञ्जितकुमार लामा (३६९८ मत) लाई हराएका थिए ।
यि ६ जना माध्ये अधिकाँशको चुनावि प्रतिष्पर्धि यस वर्ष समेत उही पुराना व्यक्ति छन् । उही व्यक्तिसँग चुनावी प्रतिस्पर्धामा आउदा पुर्व अध्यक्षहरुले आफ्ना ५ वर्ष कार्यकालमा भएको कामको प्रशंसा गरेर अझै बाँकी काम पुरा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । यता अघिल्लो निर्वाचनमा हार व्यहोरेका र यसपटक पुन त्यहि पदमा उठेका उम्मेदवारहरुले गठबन्धनको साथमा पालिका जित्ने र पालिकाको विकासलाई अग्रगति दिने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन २०७९ को प्रचारप्रसार कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगरपालिकाको वडा १७ मा वडा कमिटी गठन तथा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम गरिएको छ ।
नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार अनन्त पौडेल, उपमेयरको उम्मेदवार सुमित्रा काफ्ले तथा वडा अध्यक्ष, सदस्यहरु समेतको उपस्थितीमा भेला तथा कार्यकर्ता भेट कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मेयरका उम्मेदवार पौडेलले गठबन्धनको सरकारले देशको अर्थतन्त्रमा अधोगति दिएको बताए । उनले हेटौंडा नगरका युवा शक्तिलाई स्वरोजगार बनाउन, कृषि पशुपक्षि तथा खाद्य सुरक्षाको योजनाहरु बनाएको बताए । “नेकपा एमालेले बनाएको योजनाहरु कार्यान्वयन हुँदा कोहि पनि युवा रोजगारको खोजिमा विदेशिनु पर्दैन” उनले भने “हाम्रो घर आँगन र समाजमा पर्यटनको समेत प्रयाप्त संभावनाहरु छन्, त्यसलाई हामी व्यवस्थित बनाउने छौ ।”

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले जागिरको खोजिमा रहेका युवाहरु, वयस्क तथा गृहेणएलाई स्वरोजगारदाताको माग बमोजिम सिप र पेसागत आचरणको विकास गर्न आवश्यक तालिम तथा क्षमता विकासको कार्यक्रम गरिने बताइन् । “कृषि तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुको अधिकार रक्षा र उनीहरुको क्षमता विकासको लागि विशेष कार्यक्रम हामी ल्याउने छौ” उनले भनिन् “हामीले ५ वर्षको अन्तरालमा सुन्दर नगरी हेटौंडाको कसरी कुन गतिमा विकास गर्ने भन्ने दीयोकार्य योजना नै बनाएका छौ ।”
आहा ! हेटौंडा भन्ने बनाउँछौं अनन्त पौडेल
यसैबिच हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेद्वार अनन्त पौडेलले प्रदेशको राजधानी हेटौंडालाई सबैले आहा ! भन्ने गरी विकास गर्ने बताएका छन् ।
नेकपा एमाले ७ नम्बर वडा कमिटिले आदर्श टोलमा स्थापना गरेको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेयर पदका उम्मेद्वार पौडेलले बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडालाई प्रदेशको राजधानी बनाउन सफल भएको दाबी गर्दै फेरिपनि एमालेकै नेतृत्वमा हेटौडाको समग्र क्षेत्रको विकास गरी जिल्लाबासीले नै आहा हेटौंडा भन्ने बनाउने बताए ।
प्रदेशको राजधानी भैकन अझै हेटौंडामा राजधानीको लागि आवश्यक पूर्वाधार, फराकिलो सडक, राजमार्गमा आकाशेपुल, ट्राफिक लाईटको व्यवस्था, खेलकुद, खुल्ला स्थान लगाएतको क्षेत्रमा काम गर्न बाँकी भएकोले बैशाख ३० गतेको निर्वाचनमा एमालेका सबै उम्मेद्वारलाई बिजयी गराउन उनले मतदाताहरुमा आग्रह गरे ।
एमालेले लिएको सुख नेपाली समृद्ध नेपालको नारालाई लक्ष्य बनाई अघि बढेको भन्दै उनले हेटौंडाको समग्र क्षेत्रलाई विकास गरी साँच्चै नै हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी उपमेयर पदका उम्मेद्वार सुमित्रा काफ्लेले हेटौंडा उपमहानगरपालिका लगाएत सबै वडाहरुमा एमालेको आफ्नो बर्चश्व कायम राख्न जरुरी रहेको बताइन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनपछि एमालेले जितेको सबै वडाहरुमा अन्य पार्टीको तुलनामा अत्याधिक विकासका काम भएको दावी गर्दै उनले विकास र एमाले एकअर्कामा पुरक रहेको समेत बताइन् ।
यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ वडा अध्यक्षपदका उम्मेद्वार राजन थापाले आफ्नो नेतृत्वमा गएको पाँच वर्षमा वडामा जनताले महसुस गर्नेगरी विकासका काम भएको बताए ।
यस्तै अघिल्लो कार्यकालमा कर्राखोलामा पक्की पुल निर्माणको लागि आवश्यक स्थान र बजेट पहिचान भएकोले आगामी कार्यकालमा पक्की पुल निर्माण गरिने भन्दै सबै मतदाताहरुमा सातवटै सुर्यचिन्हमा मतदान गर्न अपिल समेत गरे ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेस, राप्रपा लगाएतका विभिन्न् पार्टी परित्याग गरि राजेन्द्र सापकोटा, दिपा चौलागाई, सीता सापकोटा, एकनाथ सापकोटा, दिपा चौलागाई, सोमप्रसाद सापकोटा, सीता उप्रेती, जयनारायण दाहाल, रामजी उप्रेती, विक्रम लामा, मनिष उप्रेती सहित २५ जना एमालेमा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई मेयर, उपमेयरका उम्मेद्वार, वडा अध्यक्षका उम्मेद्वार लगाएतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
नेकपा एमाले ७ नम्बर वडा कमिटिका अध्यक्ष कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुव चौलागाई, जिल्ला सदस्य सुबोध रिमाल, वडा सदस्यका उम्मेद्वारहरु देवराज रिमाल, नरबहादुर भ्लोन, तुलसा अधिकारी, सपना बि।क लगाएत पार्टीका नेता कार्यकर्ता लगाएत वडाबासीको उपस्थिती रहेको थियो ।
