मकवानपुर । स्थानीय तह निर्वाचन -२०७९ को लागि उम्मेदवारी दर्ता गरेका ८ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । मकवानपुर जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहमा उम्मेदवार विरुद्ध उजुरी परेको हो ।
हेटौंडा उपमहानगरपालिका,मकवानपुरगढी, मनहरी र बकैया गाउँपालिकामा गरी ८ जना उम्मेदवारमा उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मकवानपुरगढी गाउँपालिकामा पनि २ जना वडा अध्यक्ष विरुद्ध उजुरी परेकोमा रित नपुगेकोले उजुरी नै खारेज भइसकेको छ ।
अन्य उम्मेदवारको हकमा भने भोलि अन्तिम निर्णय हुनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडा–१९ मा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदीमाथि करछलीको आरोपमा उजुरी परेको छ ।
मनहरी गाउँपालिका उपाध्यक्ष र मनहरी ३ नम्बर वडा अध्यक्षका उम्मेदवार बिरुद्ध उजुरी परेको छ । उजुरी पर्नेमा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी मनिला विष्ट विरुद्ध उजुरी परेको छ । उपाध्यक्षको उम्मेदवार विष्टलाई गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो ।
३ नम्बर वडाका उम्मेदवार नेपाली कांग्रेसका अनन्तप्रसाद अर्यालमाथि विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको हो । बकैयामा ३ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।
उजुरी पर्नेमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवारी छावा अधिकारी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका भक्तबहादुर खत्री विरुद्ध उजुरी दर्ता भएको छ । ५ नम्बर वडाका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारमा उजुरी दर्ता भएको र १६ गतेसम्म छानविन हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
हेटौंडा उपमहानगरपालिका-४ बाट नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नविन सिग्देल विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । शर्माका अनुसार सिग्देलविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको आरोप छ । आरोप पुष्टि भएको खण्डमा उम्मेदवारको उम्मेदवारी खारेज हुनेछ ।
मकवानपुर । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट हेटौंडाका मेयर र उपमेयरका उम्मेदवार अनन्त पौडेल र समित्रा काफ्लेले विद्यार्थीका कुरा सुन्ने भएका छन् ।
निर्वाचनमा विजय प्रश्चात हेटौंडा उपमहानगरपालिकालाई कस्तो बनाउने भन्ने योजनाको खोजीमा पौडेल र काफ्लेले विद्यार्थीसँग साक्षात्कार गर्न लागेका हुन् । एमाले मकवानपुरका पुराना नेता पौडेलले १५ वैशाख अर्थात भोली विहीवार विद्यार्थीको नजरमा हेटौंडाको विकासका लागि योजना सुन्ने छन् ।
कार्यक्रममा हेटौंडा नगरलाई कसरी विद्यार्थी मैत्री बनाउने र युवा–विद्यार्थीले खोजेको नगरको परिकल्पना बारे चर्चा हुने अनेरास्ववियु मकवानपुरका सहसचिव प्रमोद फुयाँलले जानकारी दिए । ‘कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवारले विद्यार्थीहरुसँग साक्षात्कार गर्नुहुन्छ । विद्यार्थीहरुले देखेको नगरभित्र गर्नुपर्ने काम र विद्यार्थी मैत्री बनाउने कसरी भन्नेमा अन्तर्क्रिया केन्द्रित हुनेछ ।,’ फुयाँलले भने ।
‘हेटौंडा नगरलाई विद्यार्थी मैत्री बनाउन मेयर र उपमेयरको योजना के छ ? र विद्यार्थीहरुले हेटौंडाका आगामी मेयर र उपमेयरबाट शिक्षा क्षेत्रमा हेटौंडा नगर कस्तो बनोस भन्ने चाहन्छन्, भन्ने विषयमा जानकारी लिने कार्यक्रम हो ।,’ उनले भने ।
अनेरास्ववियुले नगर भित्रका विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी प्रतिनिधिहरुलाई सहभागी हुन आग्रहसमेत गरेको छ । ‘आजको अन्तर्क्रियाले भोलीको भविष्य निर्धारण गर्छ । त्यसैले सबैलाई उपस्थित हुन आग्रह गरेका छौं ।,’ फुयाँलले भने ।
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बुधबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले परीक्षणका रूपमा दुई दिन बिदा दिने निर्णय गरिएको बताए।
सरकारले कार्यालय समय पनि एक घण्टा बढाएको छ। सरकारको निर्णय सार्वजनिक गर्दै कार्कीले भने, “हाललाई परीक्षणका रूपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिनेछ।’
मकवानपुर । सात्ताधारी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीलाई हेटौंडाको मेयर पद प्राप्त हुँदा समेत आफूले मेयरको टिकट नपाएपछि पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी त्यागेका छन् ।
उनले स्थानीय तहको भागबण्डा गर्न सत्ता गठबन्धन चुकेको आरोप लगाएका छन् । आज हेटौँडामा पत्रकार सम्मेलन गरी अध्यक्ष पोख्रेलले जिल्लास्तरीय गठबन्धन संयन्त्र र टिकट वितरणका विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
मकवानपुर स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको गृह जिल्ला हो । पोख्रेलले ८ महिनाअघि समाजवादीको नेतृत्व सम्हालेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा उनले हेटौंडा उपमहानगरको मेयर पद दाबि गरेका थिए । लामो रस्सकस्सीपछि अन्तिम समयमा बहालवाला उपमेयर तथा पार्टी उपाध्यक्ष मिनाकुमारी लामाले मेयर टिकट पाएपछि उनी थप रुष्ट भएका थिए ।
पोख्रेल तत्कालीन एमालेमा रहँदा ओली निकट नेता हुन् । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भएपछि उनी विरोध खतिवडासँग नजिकिएर मेयर पदकै आश्वासनमा समाजवादी रोकेका थिए ।
पोख्रेलसँग पार्टी जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी, देवेन्द्र कोइराला, उत्तम न्यौपाने, गोपालबहादुर स्याङ्तानले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन् ।
पोख्रेलले मकवानपुर जिल्लाको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणका काममा लागेकाहरूलाई बाइपास गरेका पनि उल्लेख गरे ।
खतिवडाको व्यक्तिगत इच्छाका कारण पार्टीले गठबन्धनमा अवसर चुकाउन बाध्य भएको गुनासो गरेका पोखरेलले एमालेबाट विद्रोह गरेको ८ महिना नपुग्दै पार्टीभित्र हुर्काउन खोजिएको व्यक्तिवाद प्रवृत्तिको विरुद्धमा आफू रहेको बताए ।

“आजभन्दा ठिक ८ महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बिद्रोह गरि सुशासन, पार्टीलाई बिधि र पद्धती संगत ढंगबाट संचालन, पार्टीका नेता कार्यकर्ताको मुल्यांकन, गुटबन्दिको अन्त्य, नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एक व्यक्ति एक पद लगायतका सुन्दर नारा दिएर भएको विद्रोह ८ महिना नपुग्दै त्यस पार्टी भित्र जबर्जस्त ढंगबाट हुर्काउन खोजियो” उनले विज्ञप्तिमा भनेका छन् ।
“व्यक्तिबाद सरकारमा गएको मन्त्रि र राजकिय ठाउँमा पाएका अवसरमा पठाईएको व्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रस्टाचारमा लिप्स मनोवृत्ति र दाश बनाउने सोच हाबी हुदै पार्टी नभई केहि व्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाई नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा रुपान्तरण गर्ने गलत मनसायलाई टुलु टुलु हेरेर बसकिएन ।”
पोखरेल मकवानपुरका पुराना कम्युनिष्ट नेता हुन् । उनले आफू विगत ८ महिना नेकपा एस मकवानपुर जिल्लाको अध्यक्षमा रहदा साथ सहयोग गर्नेहरुलाई धन्यबाद दिदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि बिद्रोहमा निस्केको बताए ।
हेटौंडा । आसन्न स्थानीय तह निर्वाचन (२०७९ प्रचारप्रसारको क्रममा नेकपा एमाले हेटौंडा ५ वडा कमिटीले आज वडाको विभिन्न टोलमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।
पार्टी जिल्ला कमिटी सचिवालय सदस्य इश्वर ढुङ्गाना समेत वडाका उम्मेदवारहरूले टोलटोलमा घरघरमा मतदाता शिक्षा कार्यक्रम सहित कार्यकर्ता भेटघाट गरेको वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले बताए । टोल टोलको विकासलेमात्रै समग्र वडाको विकास संभव भएको बताउंदै उम्मेदवारहरूले सुर्य चिन्हमा मतदान गर्दै विकासलाई सुनिश्चितता गर्न आग्रह गरे । हेटौंडा ५ को मनकामना चोक, सिचाईटोल, बनस्खण्डि टोल, भित्ता टोल हुंदै राईटोलसम्म बिहान घरदैलो गरिएको वडा सदस्यको उम्मेदवार रन्जिता सिलवालले बताइन् ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य सुधिर थापा, वडा अध्यक्ष पदम बजगाईं, सचिव सुरेश लामिछाने, वडा सदस्यका उम्मेदवारहरू ज्ञानु थापा, रामबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।
वडाका उम्मेदवार सुशिल घिमिरेले वडामा भौगोलिक अवस्था हेरेर आवश्यक पुर्वाधार विकास गरिने, युवा तथा खेलकुद क्षेत्रमा प्रतिभा प्रस्फुटनको अवसरलाई सधैं प्राथमिकता दिने बताए ।
