मकवानपुर । अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी मनाइँदैछ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ ।
आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीयामा आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । कोरोनाको जोखिम पूर्णरूपमा अन्त्य नभइसकेकाले सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।
त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।
हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।
गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्त्वपूर्ण मानिन्छ । हिन्दु कालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने ।
पौराणिक कथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दश अवतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ ।
चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।
वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृ तर्पण गरिन्छ ।
शास्त्रीय विधान अनुसार आज दियो कलश र गणेशलाई पूजी कलस माथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
मकवानपुर । रमाइलाे सेवा समूह ईलामले सहकाले बालकेन्द्र झापालाई सहयाेग गरेकाे छ । अर्जु्नधारा नगरपालिका २ झापा पुगेर इमाइलाे ईलामले बालकेन्द्रका बालबालिकालाई व्याग तथा शैक्षिक सामग्री सहयाेग गरेकाे हाे ।
ईलाममा स्थापना भई सामाजिक क्षेत्रमा क्रियाशील रहेकाे रमाईलाे सेवा समूहका अध्यक्ष टिङ्कु भट्टराई लगायतकाे टाेलीले झापा जिल्लाकाे अग्लाे स्थानमा हालै स्थानीयकाे अगुवाईमा वालवालिकाहरुकाे शैक्षिक समुन्नतिकाे लागि सञ्चालन गरेकाे सहकाले वालकेन्द्रमा पुगेर शैक्षिक सामग्री सहयाेग गरेकाे हाे ।
स्थानीय तथा केन्द्रीय जनप्रतिनिधिहरुकाे कुनै पनि विषयमा नजर पुग्न नसकेकाे सहकाले बस्तिमा, रमाइलो सेवा समूह ईलामले साेमबार बालबालिकालाई शैक्षिक सामाग्री सहयाेग गरेकाेमा सहकाले समूह अध्यक्ष प्रदिप राजलिमले रमाइलाेलाई धन्यवाद प्रकट गरे । केही समय अघि सहकाले समाजले सहयोगको अनुरोध गरेकाेले त्यहाँकाे अवस्था तथा नानीबाबुहरुको अवस्था दयनीय रहेकाेले शैक्षिक सामग्री सहयाेग गरिएकाे इमाइलाेका अध्यक्ष भट्टराईले बताईन् ।
रमाईलो सेवा समुह इलामको अध्यक्ष भट्टराई, सल्लाहकार याेगेन्द्र प्रसाद आचार्य लगायतकको उपस्थिति मा शैशिक सामाग्री हस्तान्तरण गरिएको हो। शिक्षा, स्वास्थ, यातायात लगायतकाे पूर्वाधारले पछि परेको समूह रहेकाे ठाँउमा सञ्चालित बालकेन्द्रलाई सहयाेग गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गरिएकाे भट्टराईले जानकारी दिईन् ।
‘झापा जिल्ला शिक्षा क्षेत्रको शैक्षिक सूचकाङ्ककाे हिसाबले पहिलो जिल्ला भनेर चिनिए पनि अझै पनि त्यहाँ विद्यालय बाहिर बालबालिकाहरु रहेका छन्’ भट्टराईले भनिन् ‘शिक्षा राज्यले अनिवार्य र निशुल्क गरेकाे छ सम्वन्धित निकायले स्कुल बाहिर रहेका बालबालिकालाई विद्यालय सम्म पुर्याउने वातावरण मिलाउनु पर्छ।’

मकवानपुर । मकवानपुरको बकैयामा लोडर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।निजगढ काठमाडौ दुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइने भएकाे मकवानपुर प्रहरीले जनाएको छ।
फास्ट ट्रयाकमा काम गरिरहेको लोडर एक्कासि सिमात खोलमा खस्दा लोडर रहेका ६ जना मध्य २ जनाको मृत्यु भएकाे हाे । घाइते भएका ४ जना मध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। मृतक दुवै जना तथा घाइते मध्ये ३ जना चिनियाँ नागरिक रहेकाे १ जना नेपाली नागरिक रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए।
घाइतेलाई उद्धार गरी हेटौंडा ल्याइएको बताइएकाे छ । मकवानपुर प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।
मकवानपुर । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले ७ नम्बर वडा कमिटीले समृद्ध वडा निर्माण गर्ने परिकल्पना सहित प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ ।
सोमबार हेटाैडा ७ नागश्वतीमा वडा भेलाको आयोजना गर्दै एमालेले १३ वटा क्षेत्र पहिचान सहित विकासको प्रतिवद्दता अघि सारेको छ । प्रतिवद्दता पत्र सार्वजनिक गर्दै पुर्व वडा अध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवार राजन थापाले गएको ५ बर्षमा प्रतिवद्दता गरिएका करिब ९० प्रतिशत कामहरु सप्पन्न गरेको बताए । यस्तै उनले अघिल्लो कार्यकालमा पूरा हुन बाँकी कामलाई पुर्णता दिदै नयाँ योजना सहित वडालाई विकसित,समृद्ध र सुन्दर बनाउने गरि एमालेको दृस्टिकोण नीति तथा कार्यक्रम र योजनालाई पूरा गर्ने वडाबासीमा प्रतिवद्दता व्यक्त गरे ।
वडा अध्यक्षका उम्मेदवार थापाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताए । प्रतिबद्धता पत्रमा खेलकुद, सडक तथा पूर्वाधार, धार्मिक पर्यटन टथा सास्कृतिक, स्वास्थ, कृषि, खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बलराम बलले राष्ट्र, राष्ट्रियता र विकासको लागि एमालेलाई मतदान गर्न वडाबासीमा आग्रह गरे ।
एमाले नेता श्रीधर पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा एमालेले मात्रै गर्ने भन्दै आफुलाई कम्युनिस्ट ठान्ने समाजवादी काङ्ग्रेसको पुच्छर भएको आराेप लगाए । काङ्ग्रेसको सबैकुरा मानेर अघिबढिरहेकोले नेकपा समाजवादी एस नभइ काङ्ग्रेसले भनेको मान्ने पार्टीमा परिणत भएको निष्कर्श सहित आफुले जिल्लामा निर्माण गरेको नेकपा एस परित्याग गरि एमालेमै फर्किएको बताए ।
नेकपा एमाले ७ नम्बर वडा कमिटीका अध्यक्ष कुलप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुब प्रसाद चौलागाईं, जिल्ला सदस्य सुबोध रिमाल, वडा सदस्यका उम्मेदवारहरु देवराज रिमाल, तुलसा अधिकारी, सपना बिक , नरबहादुर भ्लोन लगाएतको उपस्थिति रहेको थियो ।
मकवानपुर । गजल मञ्च मकवानपुरको अध्यक्षमा केशव समर्पण चयन भएको छ । आइतबार भएको गजल मञ्चको तेस्रो अधिवेशनले मकवानपुरका पत्रकार तथा गजलकार समपर्णलाई अध्यक्षमा चयन गरेकाे हाे ।
यसैगरी मञ्चको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी आशुतोषलाई चयन गरिएको छ । सदस्यहरुमा किशन पौडेल, स्वस्तिका दाहाल, भोला शिवाकोटी, रोशनी चौलागाई रहेका छन् । उक्त कार्यसमितिले १ जना सदस्य पछि मनोनयन गर्ने गरी ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यसैगरी मकवानपुरका गजलकार विश्वनाथ सञ्जेललाई स्रष्टा सम्मान,२०७८ बाट सम्मानित गरिएको छ । गजल मञ्चकाे १ सय ९० औं विशेष यात्रामा सम्मान पत्रसहित सञ्जेल सम्मानित गरिएको हो । कार्यक्रममा सञ्जेलको परिचयबारे झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष चिरञ्जीवी लामिछानेले चर्चा गरेका थिए ।
यसैगरी ५ जना गजल संग्रह प्रकाशन गर्ने स्रष्टालाई कृति प्रकाशन सम्मानबाट सम्मानित गरिएको छ । कहर गजल संग्रहका किसन पौडेल, संयुक्त गजल संग्रह गोधुली चिन्तनका एसआर मञ्जरी ओली र भोला शिवाकोटी, अक्षर आराधनका गजल संग्रहका मसान उपासक र फर्कियौ किनारबाट गजल संग्रहका विश्वनाथ सञ्जेललाई सम्मान गरिएको हो । २०७४ सालदेखि हालसम्म गजल संग्रह प्रकाशनमा ल्याएका गजलकारलाई सम्मानित गरिएकाे छ।
सम्मानित भएका कृतिकारहरुले २/२ वटा गजल वाचन समेत गरेकाे कार्यक्रममा गजल यात्रा-३ गजल मञ्च मकवानपुले प्रकाशनमा ल्याइएकाे छ । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले विगत वर्षमा गजल यात्रा नियमित हुन नसक्दा संस्था बन्द हुने अवस्था सिर्जना भएको बताए ।
गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा गजलकार रमेशमोहन अधिकारी, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, गजलमञ्च मकवानपुरका संरक्षक मुक्तिगोविन्द वैद्य लगायतको उपस्थिति रहेको थियो ।
