मकवानपुर । गजल मञ्च मकवानपुरको अध्यक्षमा केशव समर्पण चयन भएको छ । आइतबार भएको गजल मञ्चको तेस्रो अधिवेशनले मकवानपुरका पत्रकार तथा गजलकार समपर्णलाई अध्यक्षमा चयन गरेकाे हाे ।
यसैगरी मञ्चको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी आशुतोषलाई चयन गरिएको छ । सदस्यहरुमा किशन पौडेल, स्वस्तिका दाहाल, भोला शिवाकोटी, रोशनी चौलागाई रहेका छन् । उक्त कार्यसमितिले १ जना सदस्य पछि मनोनयन गर्ने गरी ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यसैगरी मकवानपुरका गजलकार विश्वनाथ सञ्जेललाई स्रष्टा सम्मान,२०७८ बाट सम्मानित गरिएको छ । गजल मञ्चकाे १ सय ९० औं विशेष यात्रामा सम्मान पत्रसहित सञ्जेल सम्मानित गरिएको हो । कार्यक्रममा सञ्जेलको परिचयबारे झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष चिरञ्जीवी लामिछानेले चर्चा गरेका थिए ।
यसैगरी ५ जना गजल संग्रह प्रकाशन गर्ने स्रष्टालाई कृति प्रकाशन सम्मानबाट सम्मानित गरिएको छ । कहर गजल संग्रहका किसन पौडेल, संयुक्त गजल संग्रह गोधुली चिन्तनका एसआर मञ्जरी ओली र भोला शिवाकोटी, अक्षर आराधनका गजल संग्रहका मसान उपासक र फर्कियौ किनारबाट गजल संग्रहका विश्वनाथ सञ्जेललाई सम्मान गरिएको हो । २०७४ सालदेखि हालसम्म गजल संग्रह प्रकाशनमा ल्याएका गजलकारलाई सम्मानित गरिएकाे छ।
सम्मानित भएका कृतिकारहरुले २/२ वटा गजल वाचन समेत गरेकाे कार्यक्रममा गजल यात्रा-३ गजल मञ्च मकवानपुले प्रकाशनमा ल्याइएकाे छ । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले विगत वर्षमा गजल यात्रा नियमित हुन नसक्दा संस्था बन्द हुने अवस्था सिर्जना भएको बताए ।
गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा गजलकार रमेशमोहन अधिकारी, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, गजलमञ्च मकवानपुरका संरक्षक मुक्तिगोविन्द वैद्य लगायतको उपस्थिति रहेको थियो ।

