मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले महिला नेतृत्व पाउने अवसर रहेको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्रबहादुर बानिँयाले बताएका छन् ।
हेटौंडा–१८ मा चुनावी घरदैलो कार्यक्रममा बोल्दै बानिँयाले उपमहानगरपालिकामा जनताको मतले पहिलो पटक महिला नेतृत्व आउने अवसर रहेको बताएका हुन् । गठबन्धनबाट मेयर पदकी उम्मेदवार यसअघि उपमेयर भई जनताको मन जितेकाले मेयरको नेतृत्व दिईएको बताउँदै पहिलो पटक महिला र जनजातिको छोरीले उपमहानगरपालिकामा जनताको सेवा गर्ने अवसर रहेकाले सबैलाई मतदानका लागि आग्रह गरे ।
उपमहानगरपालिकामा काम गरेकी सशक्त र पढेलेखेकी नेतृ लामालाई गठबन्धनले अघि सारेको उनले बताए । उनले उपमेयर हुँदा निस्कलंक जनप्रतिनिधिको रुपमा चिनिएकी र लोकप्रिय भएर वडामा जितेर कामबाट आफुलाई चिनाएका राजेश बानियाँलाई उपमेयरको जिम्मेवारी दिएको बताए । गठबन्धनले निस्कलंक उम्मेदवार उठाएकाले हेटौंडामा गठबन्धनको विजय सुनिश्चित रहेको उनले दावी गरे ।
घरदैलो कार्यक्रममा मेयरकी उम्मेदवार मिनाकुमारी लामा, उपमेयरका उम्मेदवार राजेश बानियाँ, वडा अध्यक्षका उम्मेदवार रामबाबु बानियाँ, नेकपा एकिकृत समाजवादीकी जिल्ला अध्यक्ष मुनु सिग्देल लगायतको उपस्थिति रहेको थियो ।

