मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने समय १० दिनमात्र बाँकी रहँदा सत्ताधारी ५ दलिय गठबन्धनले हेटौंडा नगरको लागि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । हेटौंडा रिसोर्टमा आज प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।
प्रतिवद्धतापत्रमा उपमहानगरपालिकावासीलाई ३ सय युनिटसम्मको बिजुली नि:शुल्क प्रदान गर्नेदेखि प्रत्यक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
एक घर एक रोजगारीलाई प्राथमिकता राख्नुका साथै न्युन मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।
नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निशुल्क गर्ने,हेटौंडा विकास प्राधिकरण गठन गर्ने, नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ । हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्ध रहेको जनाएका छन् ।
नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ । धार्मिक क्षेत्रहरुको सुधार तथा पर्वद्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैचा बनाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
नगरमा सुविधासम्म सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने कुरामा पनि गठबन्धनका उम्मेदवारहरुले ध्यान दिएक छन् ।
गठबन्धनको प्रतिबद्धतामा नगरको भोकाहरुकोे लागि खानाको व्यवस्थापन गर्ने पनि उल्लेख छ । नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवर्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिवद्ध बनेको छ भने नगरस्तरीय नाट्याशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।
प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा गठबन्धनबाट मेयर पदका उम्मेदवार मीना लामा, उपमेयर पदका उम्मेदवार राजेश बानियाँ, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादीका नेता केदार न्यौपाने, विरोध खतिवडा, नेकपा माओवादी केन्द्रकी नेतृ प्रमिला पुलामी, नेपाली कांग्रेस मकवानपुरका सभापति वुद्ध लामालगायतको उपस्थिति रहेको थियो ।
गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेकपा एमालेले भने हेटौंडा नगरको सवालमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छैन ।
मकवानपुर/ नेकपा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठले आफूले चाहेर पनि स्थानीय तहको विकास चाहेजति गर्न नसकेको बताएकी छिन् ।
निर्वाचन लक्ष्यित चुनावी सभालाई सम्बोधन गर्दै उनले हेटौंडाको पदमपोखरीमा यस्तो बताएकी हुन् । आर्थिक उपार्जन, महिला सशक्तीकरण तथा मानवीय विकासको योजना लिएर एमाले अघि बढेको उनले बताइन् । एमाले आशा देखाउने भन्दा पनि काम गरेर देखाउने पार्टी भएको उनले बताइन् । आफ्नो टोल आफैं बनाउन आफ्नो समुदायबाट नेतृत्व गर्ने स्थानीय मतदाताले नै चनाखो भएर सुर्य चिन्हमा मतदान गर्ने उनले आग्रह गरिन ।
एमाले वडा कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भारती पाठकले कृषि, वनलगायतको व्यवस्थापन र विकासमा एमालेको विशेष योजनामा रहेको बताइन् । पदमपोखरी क्षेत्रमा मध्यवर्ती क्षेत्रको समस्या समाधानमा पहल एमालेले गर्ने पाठकले बताइन् । महिलाको सर्वपक्षीय विकास गर्न पनि स्थानीय नेतृत्वमा एमाले कै नेतृत्व चाहिने पाठकले बताइन् ।

कार्यक्रमा एमाले नेता श्रीधर पोखरेलले हेटौंडा नगरमा गठबन्धनले जिते भ्रष्टाचार बढ्ने छ भन्दै आशा र सर्तको पछि लागेर गठबन्धनलाई सहयोग नगर्न अनुरोध गरे । “एमाले प्रतिबद्धता लिएर नेतृत्वमा जान्छ, काम गरेर देखाउछ, अधुरा विकास पुरा गर्ने एमालेले गर्ने छ, युवालाई बिदेश हैन, आफ्नै माटोमा सुन फलाउन सिपालु बनाउने छ” पोखरेलले भने । चुनावी सभामा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयर र उपमेरका उम्मेदवारहरु अनन्त पौडेल र सुमित्रा काफ्लेले आफूहरुको जित सुनिश्चित भएकोले कार्यकर्ताहरुलाई संयमित भएर मत बदर नहुने गरी मतदान गर्न आग्रह गरे । हेटौंडा उपमहानगरपालिका वडा न. १२ का एमाले वडा अध्यक्ष बखानसिंह घलानको अध्यक्षतामा वडाको बराल टोल, सिग्रनी, मिलनटोललगायत विभिन्न ८ स्थानमा कोण सभा तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको थियो ।
मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार अनन्त पौडेलले हेटौंडा विकासको रफ्तार बढाउन एमाले नेतृत्व आवश्यक भएको बताएका छन् ।
हेटौंडा १२ मा आज भएको चुनावी सभाहरुलाई सम्बोधन गर्दै उनले एमालेलाई नेतृत्वबाट हटाइएपछि ठप्प भएको विकासमा गतिदिन आफूहरुको उम्मेदवारी रहेको बताएका हुन् ।
विगतमा एमालेले गरेको विकासमा इट्टा थप्ने योजना बोकेर स्थानीय स्तरमा एमाले समस्या बुझ्न र समाधानको लागि सल्लाह लिन टोलटोल आएको उनले बताए ।

आसन्न स्थानीय तहको निर्वाचनमा एमाले आफैं दैडेर पहिलो हुने पार्टीको रूपमा अघि बढेको उनले बताए । एमालेले जिताएर पठाएको व्यक्ति अहिले एमालेकै विपक्ष रहेको लाजमर्दो अवस्थाको प्रसङगमा उनले भने “जसको नुन खायो उसैको विरुद्धमा लाग्ने, साँघुरा मन भएकाहरुले फराकिलो हेटौंडाको विकास कसरी गर्छन ?”
“घरदैलोको क्रममा जहा जहा पुग्दा पनि हामीले धेरै माया पाएका छौ, हामी चुनावी दौडमा मात्रै घरदैलोमा हैन,सधै तपाईहरूका साथ हुने छौ” उनले भने “जनताको आंगन र चुलोसंग जोडिएको योजनाहरू बोकेर आएका छौ ।”
कार्यक्रममा एमाले सरकारले हेटौंडालाई प्रदेशको राजधानी बनाएको उनले बताए । शहरिया गरिबिको तथ्यांक संकलन गरेर उनीहरूको जीवनस्तर उकास्ने योजना रहेको उनले बताए । वडाको अधुरा विकास पुरागर्ने एमाले सरकारले पहिलो प्राथमिकता दिने उनले बताए ।
यसैगरी हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयरको उम्मेदवार रहेकी सुमित्रा काफ्ले कृषिको विकासमा फड्क्क मार्न आतुर रहेको बताइन् ।
हेटौंडा १२ को विभिन्न टोलहरुमा भएको कार्यकर्ता भेटघाटमा काफ्लेले पदमपोखरीलाई व्यवस्थित शहरीकरणको रुपमा अगाडि बढाउने सोचमा एमाले रहेको बताइन् । “यहाँको माटो देखेर म लोभिएको छु, यो कृषिको उर्वर भूमि हो, आय आर्जन बढाउन व्यवसायीक कृषिबाट अगाडि बढाउने योजना हामी बनाउँने छौ” काफ्लेले भनिन् ।

सामूहिक कृषि खेति, सामूहिक उद्यमको लागि एमालेको नेतृत्वले पहल गर्ने उनले बताइन् । “यो मलोलो माटोमा कृषि पर्यटनको संभावना खोज्ने छौ, कृषि र पर्यटनलाई जोडेर अघि बढ्ने छौ” उनले भनिन् “कृषि व्यवसायलाई बीमाबाट निर्धक्क बनाउने छौ ।”
यसैगरी शिक्षामा गुणस्तरीयता, महिला तथा युवाको सशक्तिकरण, निशुल्क स्वास्थ सेवा, पिउने पानीमा एमाले नेतृत्वले काम गर्ने काफ्लेले बताइन् ।
आफूहरु चुनाव नजिक आएकोले मत माग्नभन्दा पनि स्थानीय स्तरको समस्या र समाधानको लागि सल्लाह गर्न आएको उनले बताइन् ।
एमाले महानगरको अवधारणा लिएर सोहि अनुरूपको विकासमा लागि परेको बताउँदै काफ्लेले भनिन् “सिङ्गो नगरको विकासको लागि पार्टीले खास खास योजनाहरु बनाएको छ, यहाँहरुको सल्लाह, सुझाव र निर्देशन अनुसार कार्यान्वयन गरिने छ ।
कार्यक्रममा नेकपा एमालेबाट हेटौंडा १२ को वडा अध्यक्षको उम्मेदवार राजेश नगरकोटीले आफू यहाँको स्थानीयवासी भएकोले पनि यहाँको समस्या भिजेर हुर्केको भन्दै अभिभावकत्वको जिम्मेवारी दिन स्थानीयलाई आग्रह गरे ।

यसैगरी कार्यक्रममा एमाले जनवर्गीय संगठन सदस्य आरती पाठकले चुनावमा कुनै पार्टीलाई हराउने भन्दा आफू जित्न लागिपरेको बताइन् । कार्यक्रम वडा अध्यक्ष बखानसिंह घलानको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारले विगतमा भ्रष्टाचार गरेको आरोप लागेका व्यक्तिलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कायममुकायम उपकुलपति बनाउने तयारी गरेको छ ।
गलत प्रतिबेदन पेश गरी भ्रष्टाचार गरेको मुद्दाका आरोप लगेका मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर सतिस कुमार देबलाई बागमती प्रदेश सरकारले कायममुकायम उपकुलपति बनाउने तयारी गरेको हो ।
देबलाई उक्त मुद्दामा बिशेष अदालत काठमाडौँले सफाई दिएप् पनि सर्बोच्च अदालतले झगडीया झिकाउने आदेश गरेको छ । तर सर्बोच्चको यो आदेशसंगै उनी स्वतः निलम्बनमा पर्ने कानूनी ब्यवस्था भएपनि यस विपरित अहीलेसम्म पदमै बहाल रहीरहेका छन् ।
बागमती प्रदेश सरकारले प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीलाई निलम्बन गरी उनै विवादित छविका रेक्टर सतिस देबलाई कायम मुकायम उपकुलपतिमा नियुक्ती गर्ने तयारी गरेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३, अख्तीयार दुरुपयोग आयोग ऐन २०४८ को दफा १७ बमोजिम स्वत निलम्बनमा रहनुपर्ने ब्यक्ती उपकुलपति बन्न दौडधुप समेत गरिरहेका छन् । उनले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अध्यादेश ल्याउन समेत सरकारलाई प्रभावमा पारेका थिए ।
राष्ट्रिय चिकीत्सा शिक्षा आयोगको सदस्यमा रहँदा मापदण्ड विपरित चारवटा शैक्षिक संस्थालाई अनुमति दिएको भन्दै उनी बिरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत गिता प्रसाद तिमल्सीना, माधब खत्री र कमल पौडेलको प्रतिबेदनले उनी बिरुद्ध नेपाल सरकार बादी भई बिशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।
अख्तीयार दुरुपयोग आयोग ऐन २०४८ को दफा १८ बमोजिम अनुसन्धान तहीकातबाट अपराध गरेको भन्ने मनासिब आधार कारण भएमा आयोगले प्रचलीत कानून बमोजिम मुद्दा चलाउने कानूनी प्राबधान छ । उनलाई सोही दफा बमोजिम मुद्दा दायर भएको थियो ।
विशेष अदालत काठमाडौँले उनलाई सफाई दिएपछि उनी बिरुद्धको भ्रष्टाचार मुद्दा सर्बोच्चमा पुगेको हो । सर्बोच्च अदालतका न्यायधिश मिरा खड्का र पुरुषोत्तम भण्डारीको इजलाशले झगडिया झिकाउने आदेशमा मापदण्ड अनुसार उपकरण नभएको, बेड समेत पर्याप्त नभएको, ८ बेड मात्रै भएको शैक्षिक संस्थालाई अनुमति प्रदान गर्ने गरी भएको निर्णय कानून विपरित रहेको उल्लेख गरेको छ ।
अख्तीयार दुरुपयोग आयोगको प्रतिबेदनको आधारमा मुद्दा दायर भएको प्रतिवादीलाई बिशेष अदालत काठमाडौँबाट मिति २०७२–११–९ मा सफाई पाउने गरी भएको फैसल्ला प्रमाण मुल्यांकनको दृष्टिकोणबाट फरक पर्न सक्ने देखिएको भन्दै सर्बोच्च अदालतते झगडीया झिकाउन भनेको छ । उनलाई झिकाईएको म्याद सूचना दिन समेत सर्बोच्चले आदेश गरेको छ ।
मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म रेक्टर देबले कसुरबाट उन्मुक्ती नपाउने कानूनका जानकार बताउँछन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३, अख्तीयार दुरुपयोग आयोग ऐन २०४८ को दफा १७ बमोजिम रेक्टर देब स्वतः निलम्बनमा परेका छन् । तर बागमती प्रदेश सरकारले उनलाई अहिलेसम्म पदीय जिम्मेवारीमै राखेको छ । निलम्बनमा परेका ब्यक्तीले पदीय जिम्मेवारी बहन गर्न वा थप जिम्मेवारी दिन कानुनतः प्रतिबन्ध छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ईद (ईद उल फित्र) पर्वको शुभकामना दिएका छन् । मंगलबार मुख्यमन्त्री पाण्डेले इस्लाम धर्मावलम्बीहरुको महान् चाड ईद (ईद उल फित्र) पर्वको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि कामना गर्दै शुभकामना दिएका हुन् ।
शुभकामना सन्देशमा पाण्डेले विविधतायुक्त नेपाली समाजमा रहेका हरेक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरु रहेको बताएका छन् । हाम्रा साझा सांस्कृतिक धरोहरका रुपमा रहेका असल संस्कृति तथा परम्पराहरुको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन प्रर्वधनमा सघाउ पुग्न गई राष्ट्रिय अर्थतन्त्रमा मद्दत पुग्नेमा विश्वस्त रहेको पाण्डेले बताए ।
‘चाडपर्वहरुले हामी बिच नयाँ उमड्ड र उत्साहका साथ एक अर्काको अस्तित्व र उपस्थितिलाई सम्मान व्यक्त गर्दै एक आपसमा एकता तथा बन्धुत्व स्थापित गर्न सफल भएको अनुभूति भएको छ’ शुभकामना सन्देशमा उनले भनेका छन् ‘भविष्यमा अझ आपसी सद्भाव मित्रतामा वृद्धिको कामना गर्दछु ।’
संविधानको कार्यान्वयन गर्दै नेपाल भित्रका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा देशलाई अघि बढाउनु आजको आवश्यकता भएको उनले जारी गरेकाे शुभकामना सन्देशमा उल्लेख छ । यसका लागि बागमती प्रदेश सरकार प्रदेश भित्र मनाइने पर्व तथा संस्कृतिको संरक्षण¸ जगेर्ना र विकास गर्न प्रतिबद्ध रहेको उनले बताए ।
यस्तै, ईद पर्वले हामी बिच आत्मीयता¸ आपसी समझदारी¸ एकता¸ सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भइ समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।

