- वन्यजन्तुको सुरक्षाको जिम्मेवारी प्राय वनभित्र मात्र सिमित ठानिन्छ । तर, पर्सामा भने बढ्दो मानव वन्यजन्तु न्यूनिकरणका लागि राजमार्ग पनि महत्वपूर्ण मोर्चा बनेको छ । उच्च गतिका सवारी र जंगल जोड्ने सडक मानव र वन्यजन्तुको चुनौती बनिरहेका वेला नयाँ पहल सडकमै सुरु भएको छ ।
मकवानपुर । सुन्दा लाग्छ, वन्यजन्तुको सुरक्षाको लागि सडकमा प्रहरी र कर्मचारी किन ओर्लिए, वन्यजन्तुको सुरक्षा त वनजंगलमा पो गर्नुपर्ने हो । तर हैन पर्सा राष्ट्रिय निकुञ्जले वयजन्तुको सुरक्षाको लागि नयाँ अभियान थालेको छ । त्यो पनि सडमा ओर्लिएर ।
कर्मचारी र प्रहरी हरेक विहानै सडकमा आइपुग्छन, सवारी रोक्छन्, अनि सुरु गर्छन् वन्यजन्तु शिक्षा र सुरक्षाको कुरा । सवारीको तिव्र गतिको कारण वन्यजन्तुहरुको क्षति हुने र सवारी दुर्घटनाको कारण मानवीय क्षति समेत हुन थालेपछि पर्सा राष्ट्रिय निकुञ्जले पछिल्लोे ४ महिना यो अभियान चालिरहेको छ । जसले मानवीय र वन्यजन्तुको क्षति रोकेर सुरक्षा त बढाउँछ नै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई पनि न्यूनिकरण गर्छ ।
प्राचिनकाल देखिनै मानिस र प्राकृतिक स्रोत तथा जनावरबीच अन्तरसम्बन्ध रहदै आएको छ । पर्यावरणीय दृष्टिकोण त झनै मानव र वन्यजन्तु मात्रै हैन हर वनस्पतिको समेत बरोबर योगदान रहन्छ, महत्व छ ।
तर समय समयमा वन्तयजन्तुको कारण मानवीय क्षति भएको गुनासाहरुले चर्चा पाउने गर्छन । मान्छेको ज्यानभन्दा ठुलो वन्यजन्तुकको संरक्षण हैन भन्ने तर्कहरुका बीच वन्यजन्तुको महत्वको ज्ञानको पनि कमी हो । यसबारे आवश्यक जनचेतना र शिक्षाको आवश्यक छ । वन्यजन्तुको लागि हर कोहीले सहजै समय दिंदैनन्, तर त्यो सवाल प्रत्यक्ष रुपमा मानव जीवनसँग नै जोडिएको छ । यस्तो जानकारी बुझ्न निजगढ ३ का कृष्ण गोलेलाई ४६ वर्ष लाग्यो । अर्थात उनले ४६ वर्षको उमेरमा वन्यजन्तुप्रति मानवको दायित्व पुरा गर्दै गर्दा आफ्नो समेत सुरक्षा हुने बुझे ।
उनी ६ वर्षदेखि निजगढ (पर्सा)–अमलेखगंज (बारा)–हेटौंडा (मकवानपुर)–हुदै काठमाण्डौ रुटमा सुमो चलाउँदै आएका छन् । यो साता नयाँ नयाँ ज्ञानको कुरा पनि सिक्दै छन् । उनी भन्छन् “केही मिनेटमा धेरै कुरा बुझिने रहेछ । केही मन मोडिएको छ, अरु बुझ्न मन छ ।” उनको त्यो मन मोडिने कारण थियो पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बारा अन्तरगतको अमलेखगञ्ज रेञ्ज पोष्ट। जसले निजगढबाट काठमाण्डौको लागि छुटेको उनको सुमोलाई केही मिनेट अखलेखगञ्जमा रोक्यो ।
उनीसँगै उनका यात्रुलाई पनि जनचेतनामुलक जानकारी दियो । “सुरुमा हतारको समयमा अवरोध गरेकोमा दिक्क थिएँ तर, पछि कुरा सुन्दै जाँदा हाम्रै लागि रहेछ भन्ने लाग्यो” उनले भने “सुमो छुटेपछि यात्रुहरुले पनि सकारात्मक काम भएको भन्दै कुरा गरेको सुन्दै थिएँ ।”
गोले एउटा उदाहरण मात्रै हुन्, अहिले पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बाराको निर्देशनमा पथैलैया र अमलेखगञ्ज रेञ्जपोष्टले यो राजमार्ग हुँदै गुड्ने हरेक सवारीलाई रोकेरै यस्तो सन्देश दिंइरहेको छ । यात्रामा सधैं हतार हुन्छ, तर थोरै समय आफू र आफ्नाहरुको लागि पनि दिनु पर्छ भनेर यो अभियान सुरु गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए ।
“अमलेखगञ्ज पथलैया खण्डमा सवारी गति तिव्र हुदा वन्यजन्तुको क्षेति भएको प्रहरीको रिपोर्ट समेतलाई आधार मानेर हामीले सचेतनामुलक अभियान थालेका हौ” खतिवडाले भने । मानवीय क्षति बढी चर्चामा आउने, वन्यजन्तु क्षतिको पाटो गौण रुपमा हेरिने गरेको कारण पनि मानवीय जिम्मेवारी र वन्यजन्तुको सुरक्षार्थ यो अभियान प्रभावकारी हुने अपेक्षा गरेको उनले बताए ।
सवारी तिव्र गतिमा हुँदा वन्यजन्तुमामात्रै दुर्घटनाको भय हुदैन, मानवीय क्षति समेत हुन्छ । यो क्षेत्रमा सवारी रोकेर यात्रु तथा सवारी चालकहरु शौचको लागि वनक्षेत्रमा प्रवेश गर्दा समेत वातावरणीय प्रभाव संगै मानवीय सुरक्षा चुनौती पनि बढेपछि यो अभियान थालिएको उनले बताए । अन्य समय निकुञ्जको वन्यजन्तुको चिन्ता र चिन्तनमा व्यस्त हुने कर्मचारीहरु अहिले हरेक दिन केही घण्टा राजमार्गमा उभिएर जनचेतनाको सन्देश बाँडिरहेका हुन्छन् ।
पर्सा वन्यजन्तु आरक्षका अनुसार आर्थिक वर्ष ०७३/०७४ देखि ०७९/०८० सम्म आइपुग्दा १९० वटा वन्यजन्तुहरुको सडक दुर्घटनाकै कारण मृत्यु भएको छ । जसमा सबैभन्दा बढी चित्तल ६७ वटा रहेका छन् । यसैगरी बाँदर ४४, बँदेल ४१, जरायो १२ वटा छन् । यो अवधिमा कारको ठक्करबाट एउटा बाघको पनि मृत्यु भएको निकुञ्जको रिपोर्टमा उल्लेख छ । उल्लेख्य मात्रमा हुने सवारी दुर्घटनामा घाइते जनावरलाई उपचारार्थ समेत प्रसस्तै लगानी राज्यकोषबाट खर्च हुने गरेको छ । मानवीय क्षति भने भएको छैन ।
किन हुन्छ द्वन्द्व ?
जब वन्यजन्तुका वासस्थान, आहार, विचरणलगायतका पक्षसँग मानवीय क्रियाकलापहरू प्रतिस्पर्धा गर्न वा बाझिन आइपुग्छन् तब मानव र वन्यजन्तुबीच द्वन्द्व हुन्छ ।
जनसंख्या वृद्धिसँगै वन्यजन्तुहरूको प्राकृतिक आहार र वासस्थानको खण्डिकरण तथा संकुचन भई तिनीहरू खाना र बासको खोजीमा मानवका खेती तथा बस्तीमा प्रवेश गर्दा मानव तथा वन्यजन्तुबीचका द्वन्द्व बढ्दो छ । सामुदायिक वन मार्फत वनक्षेत्र पुनस्र्थापना हुँदै जाँदा पछिल्ला वर्षहरूमा वन्यजन्तुको पुनरागमन भएका कारण यो द्वन्द्व थप बढ्दो छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व कम गर्न यस्ता जनचेतना मुलक कार्यले उल्लेख्य प्रगति हुने गर्छ ।
वन्यजन्तु र मानवबीचको द्वन्द्वले दिनहु जसो बढीरहे पछि यो अभियान थालिएको खतिवडाले बताए । “अहिले सवारी रोकेर सम्झाइ बुझाइ गर्ने गरिरहेका छौ, अलि पछिपछि नियम अनुसार कारवाही प्रक्रियामा उत्रन पनि बाध्य हुनेछौं” खतिवडाले भने । “पहिलो चरणमा भएकोले हामीले सवारी रोकेर सन्देश दिने कार्यक्रमलाई प्राथमिकता दिएका हौ, यसको प्रभावकारीता कम भएमा हामी ऐन अनुसार कारवारही तर्फ पनि उत्रन बाध्य हुने छौ” खतिवडाले भने ।
अमलेखगञ्ज रेञ्जपोष्टबाट मात्रै दैनिक सानाठुला गरी झण्डै दुईसयवटा सवारी रोकेर चालक तथा यात्रुलाई सचेत पार्ने गरिएको रेञ्जपोष्ट प्रमुख लक्ष्मी घितालले बताइन् । हरेक दिन बिहान र बेलुकी बिशेषगरी सवारीको चाप हुने समयमा यो काम गरिहेको रेञ्जपोष्ट प्रमुख घितालले बताइन् । राजमार्ग असुरक्षाको कारण विभिन्न समयमा बाघ, चितुवा, मृग, हात्ति सवारी दुर्घटनमा परेको धितालले बताइन् । जसबाट मानवीय क्षेति समेत भएको थियो ।
“यो अभियानबाट मानवीय सुरक्षा पनि प्रत्यक्ष्य जोडिएको छ” धितालले भनिन् “राजमार्गबाट ओहोरदोहोर गर्दा वन्यजन्तुको सुरक्षा गर्नमा मात्रै हामी केन्द्रित छैनौ यो दुबै पक्षको सुरक्षा सवाल हो ।” यो क्षेत्रमा स्पीड सिमाको लागि समय सिमा पनि तोकिएको छ । जसको लागि प्रति घण्टा ४० किमी तोकिएको छ ।
वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरणको लागि सरकारले यस्ता राजमार्गहरुमा ओभर पास र अण्डर पासको व्यवस्थापन गर्नुपर्ने चर्चा चल्ने गरेको भए पनि आवश्यकता अनुसार एनिमल वे निर्माण भएका छैनन् । जसले गर्दा राजमार्ग वारपार गर्ने क्रममा वन्यजन्तुहरु मारिन्छन्, मानवीय क्षति समेत हुने गरेको छ ।
वन्यजन्तुको सुरक्षासँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन समेत यो अभियान प्रभावकारी रहेको खतिवडाको दावि छ । “धेरै सवारी चालक तथा सरोकारवाला निकायहरुबाट सकारात्मक प्रतिक्रिया आएको छ, हामीले यो अभियान सधै जारी राख्ने निर्णय गरेका छौ” खतिवडाले भने ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकमा यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त स्थानमा जनकपुरबाट काठमाडौँ जान आइरहेको बा प्र ०३-००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका-८ का ३७ वर्षीय रामबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका-६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकामा रहेकाे शारदा माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको स्वर्ण महोत्सव सप्ताहाव्यापी विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
मकवानपुरगढीकाे वडा नम्बर–५ धादिङमा रहेको विद्यालयले शनिबार हेटौंडामा पत्रकार भेटघाट गरी एक साता सम्म गरिने कार्यक्रमको जानकारी गराइएको हो । आगामी १ मंसिर देखी ७ मंसिरसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि महोत्सव मनाइने प्रधानाध्यापक ईन्द्रबहादुर कार्कीले बताए । एक हप्तासम्म जिल्ला स्तरीय, गाउँपालिका स्तरीय, विद्यालयस्तरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष युवराज सापकोटाले जानकारी दिए ।
विद्यालयको स्वर्ण महोत्सवका अवसरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँ पालिका स्तरीय खुल्ला चेस प्रतियोगिता, भूपु विद्यार्थी मित्रमिलन कार्यक्रम, विज्ञान प्रदर्शनी विद्यालय, रक्त दान, निःशुल्क स्वास्थ परीक्षण शिविर, विद्यालयमा वृत चित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्शन र प्रदर्शन, स्वर्ण जयन्ती गान वा विद्यालय गान निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण विद्यालय स्मृति चिन्ह वा स्वर्ण जयन्ती शिला पट्टको अनावरण, अभिभाबक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता लगायतका ५८ वटा कार्यक्रम गरिने प्रधानध्यापक कार्कीले जानकारी दिए ।
विद्यालयले उत्सवकाे रुपमा मनाउन लागेकाे स्वर्ण महोत्सवमा करिब १५ लाख खर्च हुने अनुमान रहेको विव्यस अध्यक्ष सापकोटाले बताए । विद्यालयले तिहारमा दुई देउसी भैलो कार्यक्रमबाट १३ लाख रुपैयाँ रकम संकलन गरिएको र त्यस रकमबाट केही रकम स्वर्ण महोत्सवका लागि खर्च गरिने बताइएकाे छ । यस्तै बाँकी रकम विद्यार्थी छात्रवृद्धी कोषकाे लागि खर्च गरिने मकवानपुरगढी वडा नम्बर–५ का वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिए । विद्यालयमा हाल ५ सय १४ जना विद्यालय अध्ययनरत छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले अबैध रूपमा खेती गरिएको गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको संयुक्त टोलीले मकवानपुरकाे राक्सिराङ, कैलाश भीमफेदी गाउँपालिकाका बिकट क्षेत्रमा लगाइएकाे गाँजा फडानी गरेकाे हाे ।
१७ कात्तिकदेखि २० कात्तिकसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत ३० विगाहा १० कठ्ठामा लगाइएकाे गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीले राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका बिभिन्न वडामा अवस्थित गाँजा खेती फडानी गरिएको हो।
प्रहरीले अवैध लागुऔषध खेती नियन्त्रण गर्न निरन्तर अभियान चलाइने तथा यस्तो गतिविधि गर्नेहरूमाथि कानूनी कारबाही अघि बढाइने जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश सरकार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको लागि संघीय सरकारकाे अनुमति पर्खेर बसेकाे छ । प्रदेश सरकारले लाइसेन्स छपाइ प्रक्रियाकाे लागि अत्याधुनिक क्षमताका ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना समेत गरेको छ।
तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद गरिएका मेसिन सञ्चालनमा आउन सकेको छैन। मुद्रण मेसिन एउटाले प्रतिघन्टा १५० वटा लाइसेन्स छाप्ने क्षमता राख्दछ। सवारी चालक अनुमति पत्रकाे परीक्षा उत्तीर्ण गरेका तथा नविकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्स पर्खाइमा छन् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ।
प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्रालय मन्त्री जयराम थापाले भने “जेनजी प्रदर्शनका क्रममा मन्त्रालय र जिल्ला स्थित केही कार्यालयहरु क्षति भएपनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ, तर सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना कानुनी अड्चनका कारण छपाइ सुरु गर्न सकिएको छैन।” सुरक्षण मुद्रण ऐन २०८१ को दफा ९ को उप दफा ३ मा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको उनले जानकारी दिए ।
बागमती प्रदेश सरकारले संघीयसरकारलाई आवश्यक स्वीकृतिका लागि पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव वीरेन्द्र देव भारतीले जनताको हितका काममा हामी प्रतिबद्ध रहेकाे बताउँदै आवश्यक अनुमति प्राप्त भए लगत्तै छपाइ प्रक्रिया सुरु गर्ने गरि तयारी गरिएको जानकारी दिए ।
लाइसेन्स प्रदेश तहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने अपेक्षा प्रदेश सरकारले गरेको छ। हाल बागमती प्रदेशको १२ लाख र देश भरका १३ लाख गरि २५ लाख सवारी चालक लाइसेन्स छाप्न बाँकी रहेकाे तथ्याङ्कले देखाउँछ । अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाई ढिलो हुने, सामग्री ढुवानी र वितरणमा समय लाग्ने तथा जनताले अनावश्यक दुःख भोग्नु पर्ने अवस्था भने कायम छ।