मकवानपुर । बागमती प्रदेश सरकार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको लागि संघीय सरकारकाे अनुमति पर्खेर बसेकाे छ । प्रदेश सरकारले लाइसेन्स छपाइ प्रक्रियाकाे लागि अत्याधुनिक क्षमताका ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना समेत गरेको छ।
तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद गरिएका मेसिन सञ्चालनमा आउन सकेको छैन। मुद्रण मेसिन एउटाले प्रतिघन्टा १५० वटा लाइसेन्स छाप्ने क्षमता राख्दछ। सवारी चालक अनुमति पत्रकाे परीक्षा उत्तीर्ण गरेका तथा नविकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्स पर्खाइमा छन् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ।
प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्रालय मन्त्री जयराम थापाले भने “जेनजी प्रदर्शनका क्रममा मन्त्रालय र जिल्ला स्थित केही कार्यालयहरु क्षति भएपनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ, तर सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना कानुनी अड्चनका कारण छपाइ सुरु गर्न सकिएको छैन।” सुरक्षण मुद्रण ऐन २०८१ को दफा ९ को उप दफा ३ मा भएको व्यवस्था बमोजिम प्रदेश सरकारले जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको उनले जानकारी दिए ।
बागमती प्रदेश सरकारले संघीयसरकारलाई आवश्यक स्वीकृतिका लागि पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव वीरेन्द्र देव भारतीले जनताको हितका काममा हामी प्रतिबद्ध रहेकाे बताउँदै आवश्यक अनुमति प्राप्त भए लगत्तै छपाइ प्रक्रिया सुरु गर्ने गरि तयारी गरिएको जानकारी दिए ।
लाइसेन्स प्रदेश तहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने अपेक्षा प्रदेश सरकारले गरेको छ। हाल बागमती प्रदेशको १२ लाख र देश भरका १३ लाख गरि २५ लाख सवारी चालक लाइसेन्स छाप्न बाँकी रहेकाे तथ्याङ्कले देखाउँछ । अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाई ढिलो हुने, सामग्री ढुवानी र वितरणमा समय लाग्ने तथा जनताले अनावश्यक दुःख भोग्नु पर्ने अवस्था भने कायम छ।

