मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकामा रहेकाे शारदा माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको स्वर्ण महोत्सव सप्ताहाव्यापी विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
मकवानपुरगढीकाे वडा नम्बर–५ धादिङमा रहेको विद्यालयले शनिबार हेटौंडामा पत्रकार भेटघाट गरी एक साता सम्म गरिने कार्यक्रमको जानकारी गराइएको हो । आगामी १ मंसिर देखी ७ मंसिरसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि महोत्सव मनाइने प्रधानाध्यापक ईन्द्रबहादुर कार्कीले बताए । एक हप्तासम्म जिल्ला स्तरीय, गाउँपालिका स्तरीय, विद्यालयस्तरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष युवराज सापकोटाले जानकारी दिए ।
विद्यालयको स्वर्ण महोत्सवका अवसरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँ पालिका स्तरीय खुल्ला चेस प्रतियोगिता, भूपु विद्यार्थी मित्रमिलन कार्यक्रम, विज्ञान प्रदर्शनी विद्यालय, रक्त दान, निःशुल्क स्वास्थ परीक्षण शिविर, विद्यालयमा वृत चित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्शन र प्रदर्शन, स्वर्ण जयन्ती गान वा विद्यालय गान निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण विद्यालय स्मृति चिन्ह वा स्वर्ण जयन्ती शिला पट्टको अनावरण, अभिभाबक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जवाफ प्रतियोगिता लगायतका ५८ वटा कार्यक्रम गरिने प्रधानध्यापक कार्कीले जानकारी दिए ।
विद्यालयले उत्सवकाे रुपमा मनाउन लागेकाे स्वर्ण महोत्सवमा करिब १५ लाख खर्च हुने अनुमान रहेको विव्यस अध्यक्ष सापकोटाले बताए । विद्यालयले तिहारमा दुई देउसी भैलो कार्यक्रमबाट १३ लाख रुपैयाँ रकम संकलन गरिएको र त्यस रकमबाट केही रकम स्वर्ण महोत्सवका लागि खर्च गरिने बताइएकाे छ । यस्तै बाँकी रकम विद्यार्थी छात्रवृद्धी कोषकाे लागि खर्च गरिने मकवानपुरगढी वडा नम्बर–५ का वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिए । विद्यालयमा हाल ५ सय १४ जना विद्यालय अध्ययनरत छन् ।

