मकवानपुर । मकवानपुरमा शनिबारदेखि चुनावी माइकिङ गर्न र सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ । यसैगरि बैठकले सार्वजनिक सवारीसाधनमा झण्डाको प्रयोग गर्न समेत रोक लगाउने निर्णय गरेको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।
२०७९ साल वैशाख ३० गते देशभरका ७ सय ५३ वटै स्थानीय तहमा एकै पटक निर्वाचन हुँदैछ। निर्वाचन आयोगले उक्त दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ।
७ सए ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र २ जना खुल्ला वडा सदस्यलाई यही वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ। मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन्। गाउँपालिका र नगरपालिकामा १/१ जना अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख निर्वाचित हुनेछन्। यस्तै पालिकाका प्रत्येक वडामा पाँच सदस्यीय वडा समिति निर्वाचत हुनेछ।
आसन्न स्थानीय तह निर्वाचनमा ८७ लाख ४१ हजार ५ सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १ सय ८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्न पाउछन् । मतसङ्केत गर्ने दिन मतदाता फोटोसहितको मतदाता परिचयपत्र लिएर आफ्नो नामावली भएको मतदान केन्द्रमा जानुपर्नेछ।
मतदानको दिन नजिकिएसँगै निर्वाचन आयोग तथा राजनीतिक दलहरुले मतदाता शिक्षाका कार्यक्रम अगाडि बढाएका छन्। आयोगले सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमार्फत मतदानका लागि अपिल गर्दै आएको छ । यस्तै राजनीतिक दल तथा तिनका उम्मेदवारले मतदातालाई नमूना मतपत्रमार्फत बदर नहुने गरी मतदान गर्न सिकाइरहेका छन्।
मतदातालाई सहज होस् भनेर निर्वाचन आयोगले सम्पूर्ण जिल्लाका नमूना मतपत्र सार्वजनिक गरिसकेको छ। मतपत्रको पहिलो कोलममा अध्यक्ष/प्रमुख, दोस्रोमा उपाध्यक्ष/उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला वडा सदस्य, पाँचौँमा दलित महिला वडा सदस्य र छैटौँको दुई कोलममा वडा सदस्य दुई जना उम्मेदवारको निर्वाचन चिह्न राखिएको छ।
प्रत्येक मतदाताले आफूलाई मन परेका उम्मेदवारको कोठाभित्र स्वतिक छापद्वारा मतसङ्केत गर्नुपर्छ। स्वस्तिक छाप र मसी प्रत्येक मतदान केन्द्रमा व्यवस्था गरिएको हुन्छ।
मतदाताले अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुई जना गरी सात जनालाई मात्र मतदान गर्न पाउँछन्। कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ। दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ ।
यसैगरी स्वस्तिक छापको सट्टा औँठा छाप लगाएमा, मतपत्रमा केरमेट गरेमा, कुनै चिह्न कोरेमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा र मतपेटिका बाहिर मत खसालेमा त्यस्तो मत बदर हुने आयोगले जनाएको छ। मतदाताले मतदान केन्द्रमा राखिएको गोप्य मतदानस्थलमा गई आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई, छापको मसी नलतपतिने गरी पट्याएर मतपेटिका खसाल्नुपर्छ।
मत बदर हुने अवस्थाहरुः
१) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको
२) औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मतसङ्केत गरिएको
३) मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको
४) उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यन्त्र मत सङ्केत गरिएको
५) उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरिएको
६) कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको
७) निर्वाचित गर्नुपर्ने सङ्ख्या वा बढी उम्मेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछट्टै मतसङ्केत गरिएको
८) मत सङ्केत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको
९) आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको
१०) मतपेटिका भन्दा बाहिर राखिएको
११) जाली मतपत्र
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन मिति नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरका आकाक्षि अधिकारीलाई पार्टी अन्तिम समयमा आएर पन्छाउंदै दीपक बहादुर सिंहलाई मेयरको उम्मेदवार बनाएपछी उनी रुस्ट भएका थिए ।
विगतमा राप्रपामा कृयाशिल भई जीवनका उर्जाशिल समय ब्यतित गरेको उल्लेख गर्दै अधिकारीले भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो नरहने बताएका छन् । उनी ३२ बर्ष राप्रपामा सक्रिय भएर काम गरेका नेता हुन ।
यस्तो छ विज्ञप्तीको पुर्णपाठ:
पार्टी स्थापनाकाल देखीको ३२ बर्ष राप्रपालाई मुलुकको राष्ट्रिय राजनितीमा स्थापित गर्न तल्लो तहमा नै बसेर अनबरत रुपमा रगत पसिना बगाईरहे । सकेको बल,बुद्धि,श्रम,सीप लगाईरहे । आफ्नो क्षमता अनुसार सकेको आर्थिक लगानी परि गरिरहे । निष्ठा,सिद्धान्तलाई केन्द्रमा राखिराखे ।पार्टिमा बिभिन्न उतारचढाव आयो,शंधर्ष र कठिन दिनहरू पार गरे।यो बिचमा पार्टि सुन्य अवस्थामा पुग्यो यस्तो कठिन, असहज र चुनौतीपुर्ण अवस्थामा पनि पार्टीलाइ स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढे। पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भैरहे । पार्टीलाई विधि र प्रद्धतीमा अगाडि बढाउन प्रयास गरिरहे । वास्तवमा मेरो ३ दशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको ईमान्दारिता, नैतिकता र जनताको स्नेह हो। मैले आफ्नो राजनैतिक जिवन भरी निष्ठाको राजनिती गरे कुनै लाभको पदमा बसेर फाईदा लिएको थाहा छैन, बरू सधै कठिन परिस्थितिमा दुख कष्ट गरे। तर पार्टी भित्र “काम गर्ने कालू, मकै खाने भालु” प्रवृत्ति मौलायो। पछिल्लो समय अनुकुलताको राजनिती , मौसमी राजनीति, सामन्ती र सर्बसत्ताबादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । तेहि प्रवृत्तिसङ्ग केन्द्रीय नेतृत्व नतमस्तक भयो। नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शिर्ष नेताको निर्णय अदुरदर्शि, अपरिपक्व र अन्यायपुर्ण देखियो । नेतृत्वले गर्ने मुल्य,मान्यता र आदर्शको कुरा ढोङ्ग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गर्यो । कुनै कार्यकर्ताको मेहनत र लगनको मुल्यांकन त परै जावोस् , उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारको रुपमा प्रयोग भयो ।कस्ले दुख गरेको छ,कस्ले मेहनत गरेको छ,हेक्का राख्न नसक्ने लाचार निरिह नेतृत्व संग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरि काम गर्न सक्छ? राप्रपा भित्र योगदान दिने व्यक्तिको मुल्यांकन नहुने, र पछिल्लो समयमा काहिकतै भुमिका निर्वाह नगरेको व्यक्तिले मौका पाउने परिपाटी अस्वीकार्य छ। सधै कठिन घडीमा पार्टीलाइ थाम्ने काम गरे तर सहज र अनुकूल वातावरणमा एउटै व्यक्तिले मात्र अवसर पाउने प्रवृत्ति पार्टीमा हावि भयो। पछिल्लो कालखण्डमा पार्टीमा योगदान गरेर राप्रपा मकवानपुरको अस्तित्व जोगाउन सफल भएर एउटा भुमिका बनाएको व्यक्तिको मान मर्दन गरियो। हामीले बनाएको जग र मेहेनतलाई अवमूल्यन गरियो। अराजक र अवसरवादीहरूले भोलि पार्टीलाई नै आफनो स्वार्थ पुर्तिको लागि जे पनि गर्न सक्ने सम्भावना टडकारो छ। पार्टी नेतृत्व पनि त्यस्मा संलग्न भयको देखिन्छ। यसले एउटा स्वाभिमानी राजनितीक ब्यक्तिको निष्ठा र आत्मसम्मान माथी गम्भीर प्रश्न उठाएको छ । अपमानित ,अपहेलित भएर स्वाभिमान माथी प्रश्न उठिसकेको अबस्थामा पनि अन्यायको विरुद्धमा बिद्रोह नगरि निरीह भई त्यसकै साक्षि बस्नलाई यो आत्माले स्वीकृत दिएन । अन्यायको विरुद्धमा सतिसाल बनेर खडा हुने निष्कर्षमा पुगेको छु । मेरो निर्णय सहि या गलत भन्ने निर्क्यौल भबिष्यलाई छोडेको छु । यसलाई अबसर नपाउदाको पीडा वा रोदनको रुपमा मात्रै नबुझियोस् । मेरा यी भनाई कुनै आग्रह वा पुर्बाग्रह प्रेरित छैनन् । मेरो कोहि कसै प्रती कलुशित भावना थियन, छैन र कहिल्यै रहदैन पनि । राप्रपाको बिचार बोकेका कारण तिरस्कृत भएको अपहेलित भएको मात्र होइन मृत्यु सङ्ग नजिकै पुगेको त्यो कारुणिक दृश्य अहिले सम्झिदा भावुक हुन्छु । राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भाबी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथिहरु सङ्ग नजिक भए। माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।
कोरोना मत्थर भएसँगै नेपाली चलचित्रको प्रदर्शन क्रम बढेको छ । यसैक्रममा शुक्रबारबाट दुईवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आउने भएको छन् । केही साताअघिसम्म हप्तामा एउटा पनि नेपाली चलचित्र रिलिज हुँदैनथ्यो । तर, अहिले कोरोना घटेकै कारण दुईवटासम्म चलचित्र एउटै मितिमा जुधेको हल सञ्चालकहरू बताउँछन् ।
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘षट्कोण’ मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलबाट आउँदै छ । यो चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेको हुन् । ‘साइको थ्रिलर’ जनरामा निर्माण भएको यो चलचित्र अहिलेको सिनेमा भन्दा केही फरक कथामा आफूले तयार गरेको निर्देशक काप्रीले बताएका छन् । आफ्नो फिल्म सस्तो मनोरञ्जनको फिल्म नभएको र फरक फिल्म भएकै कारण दर्शकलाई विशेष फिल्म लाग्ने पनि उनले बताएका छन् । ‘षट्कोण’बाटै मिलनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् ।
६ जना पात्रको आआफ्नै किसिमको भूमिका भएको र अपराध कथामा फिल्म केन्द्रित भएकाले यो चलचित्रको नाम ‘षट्कोण’ राखिएको पनि निर्माण पक्षको कथन छ । यो चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामालगायतको मुख्य भूमिका छ ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन छ ।
यस्तै, दीलिप रायमाझी, प्रियंका कार्की, वर्ष सिवाकोटी, सलोन बस्नेत, शिवहरि पौडेल, किरण केसीसहित विभिन्न कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्का जवान’ शुक्रबारबाट मुलुका १ सय १८ वटा सिनेमा हलमा आउँदै छ । यो चलचित्र हास्यप्रधान रहेको यसका निर्माता एवं अभिनेता किरण केसीले बताएका छन्, ‘चलचित्र पूर्ण मनोरञ्जनप्रधान र हाँसोको खुराकले भरिएको छ । चलचित्रले हँसाउँदै गर्दा दर्शकलाई केही महत्वपूर्ण सन्देश पनि दिन्छ,’ केसीले राजधानीसँग भने । राजधानीबाट
आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा प्रतिनिधिको उम्मेदवार बनेकाहरुसँग प्रतिवद्धता लिन हामीले म बनाउँछु मेरो वडा/पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार भगवती बिकसँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
म दलित समूदायको प्रतिनिधित्व गरेर वडा सदस्यको रुपमा उठेको छु । अघिल्लो कार्यकाल पनि मैले यही समुदायबाट निर्वाचन जितेको थिए । वडावासीलाई अघिल्लो मौकाको लागि हाद्र्धिक धन्यवाद । मैले अघिल्लो कार्यकालमा पनि सकेको काम गरेको छु, यो कुरा वडावासीहरु जानकार नै हुनुहुन्छ ।
तर मैले जुन समुदायको प्रतिनिधित्व गरेर गएँ, त्यो समूदायमा धेरै कामहरु बाँकी नै छन् । हाम्रो वडाको दलित समूदायमा अझै सशत्तिकरणको काम भएकै छैन । वडाले दिने सेवा सुविधा लिन आउनुहोस् भन्दा समेत वडामा आउन सक्ने हुनुहुन्न उहाँहरु । सेवा लिन झण्झटिलो छ बरु नलिने भनेर पछि हट्नुहुन्छ दलित समूदायका व्यक्तिहरु उहाँहरुलाई उहाँहरु बस्नुभएकै टोलबाट सशक्त बनाउनु जरुरी देखेको छु मैले ।
हामी स्थानीय सरकारमा वडाको प्रतिनिधि सबैभन्दा नजिक छौ, तर दलित समूदाय वडैसम्म पनि पहुँच छैन, अब हाम्रो टीम ले जितेर आएपछि दलित समूदायलाई उहाँहरुकै घरघर र आँगनमा सेवा प्रदान गर्ने छौ । उहाँहरुको आवाजलाई स्थानीय सरकारको हैसियतले सम्बोधन गर्ने छौ । सरकारले प्रदान गरेको समाजिक सुरक्षाको सेवा लिनदेखि उहाँहरुको सामाजिक हैसियत उकास्नको लागि म र मेरो टीम लाग्ने छ ।
यि त भए दलित समूदायको कुरा ।
नेकपा एमालेले उठाएको हाम्रो टीमले जितेर आएपछि हामीले यो ५ वर्षको कार्यकालमा के के गर्ने भनेर योजना बनाएका छौ, हामी ति सबै योजनाहरु क्रमैसँग पुरा गर्दै जाने छौ । महिला तथा बालबालिकाको लागि पनि हामीले दीर्घकालीन योजनाहरु बनाएका छौ । महिलालाई उद्यमशिलता प्रवद्र्धनका लागि विभिन्न ब्यवसायिक तथा सिपमुलक तालिमहरु प्रदान गर्ने र घरेलु उद्यमको विकास गर्ने योजनाहरु छन् । महिलाहरुबाट उत्पादित सामग्रिहरु विक्रि वितरणको उपयुक्त ब्यवस्था गर्न सहजीकरण गरिने, उद्यमि महिलाहरुको अनुभव आदानप्रदान तथा अभिप्रेरणा कार्यक्रम संचालन गरि अन्य महिलाहरुलाई व्यवसायमा जोडिन प्रेरित गरिनेछ ।
किशोरीहरुलाई किशोरी शिक्षा तथा जीवन उपयोगी सिप विकास कार्यक्रम संचालन गरिनेछ । साथै, सेल्फ डिफेन्स तालिमहरु प्रदान गरिनेछ । निरक्षर वा अर्ध साक्षर महिलाहरुलाई साक्षरता कक्षा संचालन गरी पुर्ण साक्षर बनाईनेछ । यसैगरी यस वडालाई बाल श्रममुक्त क्षेत्र बनाईनेछ । यस वडामा निर्माण गरिने हरेक पुर्वाधारहरु बालबालिका र अपाङग मैत्री बनाउने हाम्रो टीमको योजना छ ।

वडावासीलाई हाम्रोलाई माया गरेर मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । मसंगै मेरो टीममा रहनु भएका अध्यक्षका उम्मेदवार सुशिल घिमिरे र सदस्यहरु ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाललाई जिताइदिनु हुन मेरो अनुरोध छ ।
