आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । निर्वाचनमा प्रतिनिधिको उम्मेदवार बनेकाहरुसँग प्रतिवद्धता लिन हामीले म बनाउँछु मेरो वडा/पालिका स्तम्भ सुरु गरेका छौ । यसै अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा ५ मा एमालेबाट वडा सदस्यको उम्मेदवार भगवती बिकसँग सोधेका छौं तपाईलाई नै किन जिताउनु पर्ने, वडाको विकासमा तपाईको संकल्प के छ ?
म दलित समूदायको प्रतिनिधित्व गरेर वडा सदस्यको रुपमा उठेको छु । अघिल्लो कार्यकाल पनि मैले यही समुदायबाट निर्वाचन जितेको थिए । वडावासीलाई अघिल्लो मौकाको लागि हाद्र्धिक धन्यवाद । मैले अघिल्लो कार्यकालमा पनि सकेको काम गरेको छु, यो कुरा वडावासीहरु जानकार नै हुनुहुन्छ ।
तर मैले जुन समुदायको प्रतिनिधित्व गरेर गएँ, त्यो समूदायमा धेरै कामहरु बाँकी नै छन् । हाम्रो वडाको दलित समूदायमा अझै सशत्तिकरणको काम भएकै छैन । वडाले दिने सेवा सुविधा लिन आउनुहोस् भन्दा समेत वडामा आउन सक्ने हुनुहुन्न उहाँहरु । सेवा लिन झण्झटिलो छ बरु नलिने भनेर पछि हट्नुहुन्छ दलित समूदायका व्यक्तिहरु उहाँहरुलाई उहाँहरु बस्नुभएकै टोलबाट सशक्त बनाउनु जरुरी देखेको छु मैले ।
हामी स्थानीय सरकारमा वडाको प्रतिनिधि सबैभन्दा नजिक छौ, तर दलित समूदाय वडैसम्म पनि पहुँच छैन, अब हाम्रो टीम ले जितेर आएपछि दलित समूदायलाई उहाँहरुकै घरघर र आँगनमा सेवा प्रदान गर्ने छौ । उहाँहरुको आवाजलाई स्थानीय सरकारको हैसियतले सम्बोधन गर्ने छौ । सरकारले प्रदान गरेको समाजिक सुरक्षाको सेवा लिनदेखि उहाँहरुको सामाजिक हैसियत उकास्नको लागि म र मेरो टीम लाग्ने छ ।
यि त भए दलित समूदायको कुरा ।
नेकपा एमालेले उठाएको हाम्रो टीमले जितेर आएपछि हामीले यो ५ वर्षको कार्यकालमा के के गर्ने भनेर योजना बनाएका छौ, हामी ति सबै योजनाहरु क्रमैसँग पुरा गर्दै जाने छौ । महिला तथा बालबालिकाको लागि पनि हामीले दीर्घकालीन योजनाहरु बनाएका छौ । महिलालाई उद्यमशिलता प्रवद्र्धनका लागि विभिन्न ब्यवसायिक तथा सिपमुलक तालिमहरु प्रदान गर्ने र घरेलु उद्यमको विकास गर्ने योजनाहरु छन् । महिलाहरुबाट उत्पादित सामग्रिहरु विक्रि वितरणको उपयुक्त ब्यवस्था गर्न सहजीकरण गरिने, उद्यमि महिलाहरुको अनुभव आदानप्रदान तथा अभिप्रेरणा कार्यक्रम संचालन गरि अन्य महिलाहरुलाई व्यवसायमा जोडिन प्रेरित गरिनेछ ।
किशोरीहरुलाई किशोरी शिक्षा तथा जीवन उपयोगी सिप विकास कार्यक्रम संचालन गरिनेछ । साथै, सेल्फ डिफेन्स तालिमहरु प्रदान गरिनेछ । निरक्षर वा अर्ध साक्षर महिलाहरुलाई साक्षरता कक्षा संचालन गरी पुर्ण साक्षर बनाईनेछ । यसैगरी यस वडालाई बाल श्रममुक्त क्षेत्र बनाईनेछ । यस वडामा निर्माण गरिने हरेक पुर्वाधारहरु बालबालिका र अपाङग मैत्री बनाउने हाम्रो टीमको योजना छ ।

वडावासीलाई हाम्रोलाई माया गरेर मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । मसंगै मेरो टीममा रहनु भएका अध्यक्षका उम्मेदवार सुशिल घिमिरे र सदस्यहरु ज्ञानबहादुर थापा, रामबहादुर राई, रञ्जिता सिलवाललाई जिताइदिनु हुन मेरो अनुरोध छ ।

