मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नेकपा एमालेबाट भारी मतान्तर सहित बिजयी भएका नेतृत्वहरू पुनः त्यहि पदमा दोहोरीदां अहिलेको निर्वाचनमा धरौटी जफतको अवस्थामा पुगेका छन् ।
नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादी रोजेका र सोही पदमा फेरी उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्षहरूले लज्जास्पद हार ब्यहोरेका छन् । एक वडा अध्यक्षको पनि हालत उस्तै हुने लक्ष्यण देखिएको छ ।
मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हालका अध्यक्षमा उम्मेदवार जीवन लामा र कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् हाल अध्यक्षका उम्मेदवार रहेका टंक मोक्तानले लज्जास्पद हार बेहोरेका हुन् ।
यता बकैया गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार रामकाजी लामिछानेले पनि लामो मत अन्तरमा हार व्यहोर्नुपर्ने लक्ष्यण देखिएको छ ।
कैलाशका टंक मोक्तानले यो पटक १ सय २० मत मात्र ल्याएपछि उनको धरौटी जफत भएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवार हुंदा झण्डै ३ हजार मत ल्याएका उनको मत यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार हुंदा १२० मा खुम्चिएको हो । उनी स्थानीय तह निर्वाचन २०७४ मा २ हजार ८ सय २ मत ल्याउँदै एमालेबाट विजयी भएका थिए ।
यसै गरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामाले पनि एमालेबाट उम्मेदवार हुंदा २०७४ को निर्वाचनमा भन्दा यसपटक एकीकृत समाजवादी हुंदा लामो मतान्तरमा हार व्यहोरे ।
उनले हालको निर्वाचनमा जम्मा ४ सय ७९ ल्याएका छन् । गत स्थानीय तहको निर्वाचनमा लामाले ३ हजार २ सय ४ मत ल्याएर एमालेबाट विजयी भएका थिए ।
यता बकैया गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार रामकाजी लामिछानेले पनि लामो मत अन्तरमा हार व्यहोर्नुपर्ने लक्ष्यण देखिएको एकीकृत समाजवादीकै एक नेताले बताए । बकैयाको यो वडामा हालसम्म २ हजार ६ सय मत गणना गर्दा लामिछानेले जम्मा ५ मत पाएका छन् भने उनको प्रतिस्पर्धीले ८९२ मत ल्याएका छन् ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचनको मत परिणाममा हेटौंडाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार मिना लामालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिहले मतान्तर लम्ब्याएका छन् ।
सोमबार सांझसम्म १९० मतले अगाडि रहेकी लामालाई रातभरको मतगणनामा दीपकले १९८ मतले पछि पारेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको २२ हजार ८५३ मतगणना गर्दा राप्रपाका दीपकले ८ हजार २६५ मत पाएका छन् । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको उम्मेदवार लामाले ८ हजार ६७ मत पाएकी छिन् ।
एमाले अहिले पनि तेस्रो स्थानमा रहेको छ । नेकपा एमालेले ६ हजार ५२१ मत पाएको छ । एमाले राम्रो पक्कड रहेको दाबि गर्दै आएको हेटौंडाको ४ वडाबाट पनि मेयरमा राप्रपालाई मत गएपछि एमाले तेस्रो नम्बरबाट माथि उठ्न सकिरहेको छैन । यो वडाबाट वडा अध्यक्षको उम्मेदवार भने अग्रस्थानमा छन् ।
उपमेयरमा भने नेकपा एमाले ८ हजार ३३,गठबन्धनले ११ हजार ७९१ र राप्रपाले २ हजार १० मत पाएको छ । हाल वडा नम्बर ३, ४,,५,६,१६, १७ को मतगणना जारी छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले विजयी भएकाे छ । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मकवानपुरगढी ३ मा एमालेको प्यानलनै विजयी भएको हाे।
मंगलबार बिहान प्राप्त मतपरिणाम अनुसार मकवानपुरगढी-३ को वडाध्यक्षमा नेकपा एमालेका भागवत घिमिरे सहित सदस्यमा प्यानलनै निर्वाचित भएका हुन्। घिमिरेले गठबन्धनका उम्मेदवार अर्जुन प्रसाद दाहाललाई ५७ मतले पराजित गर्दै वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्। घिमिरेले ९ सय ४३ ल्याउदा गठबन्धनका उम्मेदवार दाहालले ८ सय ८६ मत प्राप्त गरेका छन्।
वडा अध्यक्षमा घिमिरेसँगै महिला सदस्यमा मञ्जु याेञ्जन दलित महिला सदस्यमा विमला सुनार खुला सदस्यमा प्रेम बहादुर थाेकर र विदुर हुमागाई विजयी भएका छन् ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमाले विजयी भएकाे छ । एमालेका वडा अध्यक्ष उम्मेदवार अनिल कुमार बानियाँ गठबन्धन तर्फका नेपाली काग्रेसका उम्मेदवार रामवावु बानियाँलाई पराजित गर्दै निर्वाचित भएका हुन ।
अनिल बानियाँले १ हजार ८ सय ९८ मतसहित दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु बानियाँले १ हजार ७ सय २० मत ल्याए । यसैगरी ,राप्रपाबाट दामोदर बानियाँले १ सय ४३, स्वतन्त्र सुन्दर दाहालले ९३ मत र जनता समाजवादी पार्टी, नेपालका मोहन थिङले ३७ मत ल्याए ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भइ एक कार्यकाल काम गरेकाे अनिलसँगै नेकपा एमालेबाट खुल्ला सदस्यमा ताेयानाथ तिमल्सिना र दलित महिला सदस्यमा पुजा मंग्राती विजयी भएका छन् । तिमल्सिना र मंग्राती पनि २०७४ सालकाे निर्वाचनमा निर्वाचित प्रतिनिधि हुन् ।
यसैगरी गठबन्धन तर्फबाट नेपाली काँग्रेसका खुला सदस्य याेगराज खतिवडा र महिला सदस्यमा विष्णुमाया थपलिया निर्वाचित भएका छन् । २०७४ सालकाे निर्वाचनमा वडा अध्यक्ष सहित प्यानलै जितेकाे एमालेले यस बर्ष दुई सदस्य गुमाएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका ९ मा नेपाली कांग्रेस विजयी भएको छ।
बकैया ९ को मतगणना अन्तिम नतिजा अनुसार कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चनले ७ सय ३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विर बहादुर भुलोनले ६ सय ५६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी ९ नम्बर वडाको सदस्यमा कांग्रेसको प्यानलेनै जित हासिल गरेको छ। योसँगै बकैयाको ४ वटा वडामा कांग्रेसका उम्मेदवारले हित हासिल गरेको छ।
