मकवानपुर / बागमति प्रदेशको राजधानी रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला नगर प्रमुख बन्ने भएकी छिन् । लामो समय एमालेको लालकिल्ला रहेको हेटौंडा उपमहानगरपालिका सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी मिनाकुमारी लामालाई जित हासिल गर्न कठिन हरेको आकंलन गरिन्थो । तर मतगणना अन्तिम चरणमा आइपुग्दासम्म उनको जित निश्चित भएको छ ।
मत गणनाकाक्रममा लामालाई आएको मतको अवस्थालाई र उनको अग्रतालाई हेर्दा हेटौंडावासीले पहिलो महिला नगर प्रमुख पाउने पक्कापक्कि देखिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपप्रमुखको रुपमा भारी मतले विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा रहेकी उनले गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी छिन् ।
हालसम्मको मतगणनालाई हेर्दा उनका प्रतिस्पर्धी रहेका एमालेका अनन्त प्रसाद पौडेल र राप्रपाका दिपक बहादुर सिंहले कमव्याक गर्ने सम्भावना कम रहेको देखिन्छ । भलै सुरुवाती मतगणनामा पौडेल अगाडी भए त कहिले सिंहको अनेपेक्षित मतले हेटौंडाको चनावी माहोल ततायो । एमालेको लालकिल्ला मानिएको नगरका वडाहरुका अपेक्षित मत पौडेललाई आउन सकेन ।
लामाको लगातारको अग्रता र मतपरिणामले हेटौंडाले महिला मेयर पाउने देखिन्छ । अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गरेकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने अवसर प्राप्त हुने देखिन्छ । गठबन्धनबाट नगरप्रमुख भएमा लामालाई काम गर्न भने त्यति सहज देखिन्न् । पाँच दलीय गठबन्धनको स्वार्थ अनुरुप नगरको काम गर्न पर्ने उनमा बाध्यता रहन सक्छ ।
हेटौंडाको पहिलो महिला मेयर भई उत्कृष्ठ कार्य सम्पादनबाट हेटौंडाको मुहार फेर्न लामा कतिको सफल हुनेछिन त्यो हेर्न बाँकी रहने छ ।
को हुन मिना कुमारी लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा जन्म भएको मीना कुमारी लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो ।
२०४६ सालबाट विद्यार्थी जीवनबाट नै राजनितीमा यात्रा सूरु गरेर हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम।ए। र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल।एल।बी।सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडी बढिन् ।
२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भई काम गरेर राजनितीसँगै अध्ययनलाई अगाडी बढाउदै २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासंग विवाह भयो ।
श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीति संगै अघि बढेकी मीना २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप(सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरिन् ।
२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भएकी हुन् ।
लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको हो । खबरब्रेकको सहयोगमा
मकवानपुर । शुक्रबार बिहानैबाट मकवानपुर सहित अन्य जिल्लामा बर्षा भइरहेको छ । मेघ गर्जन सहित हल्का बर्षा भएको हो ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले सामान्य बदलि रहि बर्षा भएको हो । यो प्री मनसुनको अबस्था भएको महाशाखाले जानकारी दिएको छ ।
आज जेठ ६ गते शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मकवानपुर । निर्वाचनमा हारजित सुनिश्चित सवाल हो । तर हार्छु भनेर कोहि मैदानमा आउंदैन । जो मैदानमा आउंछ,जित्ने आधार देखेरै आउँछ र जित्नकै लागि जोड बल गर्छ, र पनि हार जितको संभावना आधा आधा नै हुन्छ ।
यसो त हार व्यहोर्नु भनेको यात्रा नै सकिनु र जित हासिल गर्नु भनेको सर्वश्रेष्ठ नै हुनु पनि हैन । प्रतिस्पर्धामा आउने व्यक्ति कोहि पनि कमजोर हुंदैन भन्ने हेटौंडा ५ का शुसिल घिमिरेले आफूले विजयी भएपछि निकतम प्रतिस्पर्धीलाई कांधैमा बोकेर सम्मान र आदर जनाए ।
एउटा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ खेलाडी शुसिल घिमिरे, आफ्नो वडा र वडा भित्रको टोल टोलको विकास गर्ने सपना सजाएर स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैदानमा आए । नेकपा एमालेबाट घिमिरे वडा अध्यक्षको उम्मेदवार बने । परिस्थिति यस्तो आयो कि उनले प्रतिस्पर्धा गर्नु पर्ने व्यक्तिको रूपमा गठबन्धनले उनैको स्कुले गुरू हयगृव आचार्यलाई उभ्यायो ।
चुनावी मैदानमा उत्रिए गुरू-शिष्य शुसिल र हयगृव । “आफ्नो चुनावी तयारी गर्दै गर्दा पटक पटक गुरूलाई भेट्थे, हामीबिच सधैं हार्दिकता नै भयो” शुसिलले भने “मैले गुरूलाई सम्मान गर्थे, उहाँको माया पनि सधैं पाएँ ।”
निर्वाचन भयो, अन्तिम नतिजा आयो । शिष्य सुशील घिमिरेले २५३० मत पाए, गुरू हयगृव आचार्यले १३९० मत पाए । शिष्यले गुरूलाई ११४० मतान्तरमा जिते । विजय जुलुसले वडा परिक्रमा गर्ने कार्यक्रम तय गर्दै गर्दा आफ्ना गुरू र अन्य दलका प्रतिस्पर्धीलाई सम्झेको बताउँछन् शुसिल । “सबैलाई खुब सम्झिरहे, चुनावको दिनसम्म म एमालेको प्रतिनिधि थिएँ, अब म वडाको प्रतिनिधि हुं, हामीबिचको प्रतिस्पर्धा चुनावकै दिनबाट सकियो” उनले भने ।
घिमिरेले आफ्नो जितलाई वडा निबासी सबैको जित भनेका छन् । ” अबको ५ बर्ष काम गरेर वडावासीको मन जित्न सकेभने मात्र मेरो जित हुनेछ, अहिलेको जित मेरो हैन वडावासीको हो” उनले भने।
बिजय जुलुस सहित गुरू हायगृवको घरमा पुगेका घिमिरेलाई हायगृवले टिका लगाउंदै सफल कार्यकालको शुभकामना दिए । गुरूको आशिर्वाद पाएपछि शुसिलले कांधैमा बोके गुरूलाई । “
शुसिल मेरो चेला हो, उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ,म ढुक्क छु” हयगृवले भने “आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुसि छु ।” प्रतिस्पर्धी घरैमा भेट्न आउँदा टिका लगाएर शुभकामना दिंदै हयगृवले फराकिलो मन देखाए भने,शुसिलले गुरूप्रतिको सम्मान र मर्यादा प्रकट गरे । कार्यकर्ताले तालि,सिठ्ठि र हुटिङ गरे,माहोल एकाएक भावुक बन्यो ।
चुनावी मैदानमा हारजित जे भए पनि टोलको विकासमा सबैको समन्वय र सहभागिताले मात्रै स्थानीय तहको प्रतिनिधित्वको अर्थ राख्ने उनले बताए । शुसिललाई हयगृवले हेटौंडा ५ को बालज्योती माविमा प्राथमिक तह अध्यापन गराएका थिए ।
हेटौंडा ५ मा एमालेको टिम नै विजयी भएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर पदमा रोचक प्रतिस्पर्धा कायमै छ । पछिल्लो २ दिन यता तेस्रो स्थानमा रहेको नेकपा एमाले मतान्तरको खाडल पुरेर बिहीबार रातिबाट दोस्रो स्थानमा उक्लिएको छ ।
मतगणनाको सुरुवातमा पहिलो स्थानमा गठबन्धन र एमाले बिचको आलोपालो अग्रता थियो । तर अघिल्लो २ दिनयता तेस्रोमा झरेको एमालेले आफूलाई उछिनेको राप्रपालाई पुन पछि पारेको छ । यता गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना कुमारी लामाले पनि आफ्नो अग्रतामा मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।
हेटौंडा वडा १४ को मतगणना सुरू भएसंगै एमालेले आफ्नो मतान्तर घटाउंदै ल्याएको हो । २ दिन अघि राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले १३८ मतले अघि लागेको छ ।
यता अब गठबन्धनकी मिना लामा र एमालेका अनन्त पौडेल बिचको मतान्तर १ हजार २६ रहेको छ । एमालेलाई दोस्रो स्थानमा बढाउन योगदान गरेको हेटौंडा १४ नम्बर वडामा एमाले वियजी भएको छ ।
हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ । हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कुल ४५ हजार ६९९ मत गणना सकिएको छ । हेटौंडा उपमहानगरपालिकामा झण्डै ७४ हजार मतदान भएको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेती र उपाध्यक्षमा सीता पुलामी मगर (रेखा) विजयी भएका छन ।
चुनावी गठवन्धनबाट नेपाली काग्रेसबाट अध्यक्षमा कालाखेती र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा मगर उम्मेदवार भइ निर्वाचित भएका हुन् । अध्यक्षमा काङ्ग्रेसका कालाखेतीले ९ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । नेकपा (एस) ले १ हजार ६ सय १४ मत प्राप्त गरेको छ ।
उपाध्यक्षमा माओवादीका मगर रेखाले ७ हजार ४ सय ७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १ सय ३८ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १ सय ४१ मत प्राप्त गरेकी छिन् ।
