मकवानपुर ।हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित मिनाकुमारी लामाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् ।
मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश डिल्लिरत्न श्रेष्ठले नगरप्रमुखमा निर्वाचित लामालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । आफूले पद तथा गोपनीयताको सपथ ग्रहण गरे लगतै लामाले उपमेयर राजेश बानियाँ, १९ वटा वडाका अध्यक्षहरु र १९ वटै वडाका सबै वडासदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् ।

आफूले मुलुक र जनताको हितको लागि काम गर्ने प्रण पहिले पनि गरेको र अहिले सपथ लिएपछि झनै जिम्मेवारी आभाष भएको लामाले बताइन् । सपथ ग्रहणपछि छोटो मन्तव्यमा दिंदै नगरप्रमुख लामाले बिजयी गराउनको लागि भूमिका खेल्ने मतदाताहरुको मन नदुख्ने गरी कानुन बमोजिम काम गर्ने बताइन् । उपमेयर, वडा अध्यक्षहरु र सदस्यहरुलाई पनि यसै अनुरुप काम गर्न उनले निर्देशन दिइन् ।

पद तथा गोपनीयताको सपथ लिएसँगै सबै जनप्रतिनिधिहरुले आजैबाट आफ्नो जिम्मेवारी बहन गर्ने छन् । नगरप्रमुख भएपछि लामाले पहिले पटक नीतिगत निर्णय सदर गर्दै कार्यभारको सुरुवाती गर्ने कार्यक्रम रहेको छ ।

आजै सबै जनप्रतिनिधिहरुलाई विजयी प्रमाणपत्र पनि वितरण गरिएको छ । कार्यक्रममा निवर्तमान नगरप्रमुख हरिबहादुर महतले विजयी जनप्रतिनिधिहरुलाई अबको ५ वर्ष निष्ठा पूर्वक काम गर्न प्रेरणा मिलोस भन्दै शुभकामना दिए ।
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला पार्टी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माण कम्पनीले पालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई हस्तान्तरण गरेको छ ।
दुई तले भवनमा २६ वटा कोठा छन् । भवन निर्माणको लागि ३ करोड १८ लाख ४२ हजार तीन सय ६४ रुपैंयामा सम्झौता भएको थियो । निर्माण कम्पनी रविना/अविषा जेभिले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।
सोमबारदेखि नयाँँ प्रशासनिक भवनबाट पूर्णरुपमा सेवाप्रवाह हुने अध्यक्ष मुक्तानले जानकारी दिए । २०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिने सम्झौता भए पनि निर्माण कम्पनिले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेर निर्माण सम्पन्न गरेको हो ।
२०७७ साल जेठ १५ गते आगलागिका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो । त्यसपछि कालिकाटारमैं रहेको भवानी माध्यामिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी क्रियाकपालमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम र लागूऔषध नाईट्रोभेट १५० ट्याबलेट सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएको प्रवक्त प्रहरी नायब उपरीक्ष टेक बहादुर कार्कीले बताए ।
मकवानपुर हेटौडा उपमहानगरपालिका १५ पिपलबोट स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा संभावित लागु औषध भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना १४ प ३१६४ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौडा ११ बस्ने २८ वर्षिय सविन पहाडीले लुकाई ल्याएको लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम फेला परेको बताएको छ ।
यसैगरी हेटौडा ४ पारिजातपथ स्थित पैदल हिडिरहेका हेटौडा ५ शान्तिनगर बस्ने १९ वर्षिय युवराज चौलागाईलाई पनि शंकास्पद लागेर जाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाईइएको लागूऔषध नाईट्रोभ्याट ४५ ट्याबलेट फेला पारेको पछि प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौडा १० बसपार्कमाबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौडा ११ थानाभर्याङ डेरा गरी बस्ने ३३ वर्षिय लक्ष्मण घलानलाई पनि नियन्त्रणमा लिएको छ ।
घलानको झोला जाँच गर्दा लागु औषध नुर्फिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाईट्रोभेट १०५ वटा ट्याबलेट फेला परेकोले लागु औषध सहित उनलाई नियन्त्रणमा लिएको प्रवक्त कार्की बताए ।
मकवानपुर । आइतबार देशका विभिन्न भागमा आज हावाहुरी र चट्याङ्सहित बर्षाको सम्भावना रहेको छ । बिहानै सुरु भएको बर्षा अहिले कम भएको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले हावाहुरी तथा चट्याङ सहितको क्षणिक बर्षा हुँदै आएको जल तथा मौसम बिज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
देशका अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देस भरका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकोछ ।
मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोला जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
पर्सा बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको जीप आज साँझ ५ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र ४ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
८ जना सवार जीपमा घाइते भएकाहरुलाई हेटाैडा र काठमाडाैं उपचारका लागि पठाइएकाे हाे । दुर्घटनामा घाइते भएकाहरु मध्य हेटौंडा अस्पतालमा २ जना, चुरेहिल अस्पतालमा १ जना र १ जना काठमाण्डौं स्थीत ट्रमा सेन्टरमा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ ।
घटनामा मृत्यु भएकाको पहिचान नखुलेको प्रहरीले बताएकाे छ । घाइतेमध्ये चालकसहित ३ जनाकाे हेटौंडा र १ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
