मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालले आयाेजना गरेकाे प्रथम राष्ट्रिय बालसाहित्य उत्सवमा ८ जना स्रष्टा सम्मानित भएका छन् । नवसर्जक साहित्य चौतारीले शनिबार हेटौंडामा आयोजना गरेको बालसाहित्य उत्सवको अवसरमा ८ जना स्रष्टालाई सम्मान गरिएको हो ।
१५ हजार ५ सय ५५ रुपैयाँ राशीकाे लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद प्रधान सम्मानित भएका छन् । यस्तै प्रदेश–१ नवसर्जक सम्मान–२०७९ बाट अन्वेषा चापागाई, मधेस प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अभिजित राम, बागमती प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुज्ञा नेपाल सम्मानित भएका छन् ।
यसैगरी गण्डकी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुराग सापकोटा, लुम्बनी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट पवन अधिकारी, कर्णाली प्रदेश नवसर्जक सम्मान–२०७९ बाट नवीन पाण्डे, सुुदुरपश्चिम प्रदेश नवसर्जक सम्मान–२०७९ बाट ऋष्टिना करिया प्रधान थारुलाई सम्मान गरिएको छ । जनही ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाइँको सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमूख प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । रमेशमोहन अधिकारी, विष्णुप्रसाद न्यौपाने, डिबी बर्तौला, पत्रकार सुरेश श्रेष्ठ, अर्चना दाहाल जयन्ती आचार्य, ओमकुमारी बन्जारा रानाभाट, रुबिना शर्मा, प्रभा पौडेल, पुस्कल नेपाल, सञ्जय साह, जागेश्वर नेपाल, अजमत अली अन्सारीको निर्णयबाट उक्त सम्मानबाट स्रष्टाहरुलाई सम्मान गरेका हुन् ।
नवसर्जक साहित्य चौतारी स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा गत पुसमा आयोजना गर्ने योजना बनाइएको कार्यक्रम कोभिडको दोस्रो लहरसँगै स्थगित गरिएको थियो । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट मुख्य प्रायोजक रहेको कार्यक्रममा प्याब्सन मकवानपुर र हेटौँडा नगर समितिकाे सहकार्य रहेकाे छ ।
मकवानपुर । साविक विजेता विभागीय टाेली त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै आर्मी क्लब फाइनलमा प्रवेश गरेको हाे ।
खेलको ४९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दा खेलकाे निर्धारित समय बराबरीमा सकिएकाे थियाे । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो ।
टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गर्न सफल भए । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिदा सन्तोष केसीले गोल गर्न सकेनन् । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो । सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा स्थानीय टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको हो ।
सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभेनिरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो । सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए ।
अब जेठ ३० गते साेमबार हुने फाइनलमा विजय युथ र आर्मी उपाधिकाे लागि भिड्ने छन् । विजय युथले शुक्रबार विभागीय टाेली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।
मकवानपुर । अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ । नेपालमा मनसुन प्रवेश गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको छ ।
नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ।
शनिबार आज राती प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
जेठ २९ गते आइतवार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उल्लेखित प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले भनेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले ऐन कानुन निर्माणको क्रममा सरोकारवालाहरूसंग सहकार्य नगरेको बताईएको छ ।
न्याय तथा अधिकार संस्था (जुरी) नेपालले बागमती प्रदेशको राजधानी मकवानपुरमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । कानुनको मस्यौदा निर्माणका क्रममा होस् वा संशोधनका क्रममा सरोकारवालासँग समितिले छलफल नै नगरेको अधिवक्ता मुकुन्द अघिकारीले बताए । सम्बन्धि बिषयबिज्ञ वा कन्सल्याल्सिको भूमिकामा केहि व्यक्तिलाई परामर्शकर्ताको रुपमा लिइए पनि मसिनो गरि वास्तविक सरोकारवालाहरूको सहभागिता कानुन निर्माणक्रममा नभएको वरिष्ठ अधिवक्ता केशव काफ्लेले बताए ।
सरोकारवालाहरूले मस्यौदाको रूपमा दिएको सुझावलाई नै कतिपय अवस्थामा कानूनकै रूप प्रदान गरिएको र त्यो कानुन बारे स्वयम् समितिको सदस्यहरू नै अनविज्ञ हुने गरेको अधिवक्ता तथा प्राध्यापक कृष्ण दाहालले बताए । बागमती प्रदेशमा कानुन निर्माण तथा कार्यान्वयनको सवालमा मकवानपुर जिल्लाका केहि सरोकारवालाहरूसंग समूह छलफल नगरिंदा यसको प्रभावकारीता मै प्रश्न उठ्ने गरेको नागरिक समाजको बुझाई छ ।
प्रदेशको लागि आवश्यक कानुन बन्न्नु सकारात्मक भए पनि कार्यान्वयन पाटो फितलो भएको निष्कर्ष छलफलमा आएको र उक्त सवाल बारे प्रदेशको सभामुखलगायतलाई जानकारी गराउने जुरि नेपालका अधिवक्ता धर्मराज रेग्मीले बताए ।
अधिवक्ता रेग्मी, रोस्ली पोखरेल र जुरी नेपाल नेपाल बागमती प्रदेश फिल्ड संयोजक अधिवक्ता अप्सरा बस्नेतले छलफलमा सहजीकरण गरेका थिए । छलफल कार्यक्रममा गैसस मकवानपुर उपाध्यक्ष रमिला सापकोटा, अनौपचारिक क्षेत्र सेवा केन्द्र बागमती प्रदेशद्वारा गठित मानव अधिकार समूह हेटौंडाको संयोजक चन्दावती पनेरू, ब्युल डाइमण्ड सोसाइटीको किरण थापा तथा सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
मकवानपुर । तोकिएको समयमा मर्मत गरेर सरकारी स्तरबाट पुस्कार लिने दाबीका साथ थालिएको काम समय सिमाभित्र नसक्दा ३ महिना म्याद थप गरिएको छ ।
निरन्तर काम गर्दा गर्दै पनि नसकिएको भन्दै ३ महिनाको लागि म्याद थप गर्न माग गरेपछि बागमती प्रदेश सरकारले सुरुङ मार्गको मर्मत गर्ने समय सिमा थापेको हो । बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाले पूर्णता पाएको छैन ।
राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर यो सुरुङ मार्ग खनिएको थियो । लामो समयसम्म प्रयोग र मर्मतसम्भार नभएपछि जीर्ण भएको सुरुङलाई सम्पदाका रूपमा संरक्षण गर्न बागमती प्रदेशको तत्कालीन सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता दिंदै बजेट छुट्याएका थिए ।
मर्मत तथा संरक्षणका लागि २०७८ साल साउनबाट पुनः निर्माण गर्न थालिएको सुरुङ मर्मतको काम अहिले अन्तिम चरणमा छ । पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता गरेको थियो । करिब ५०० मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ ।
सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो । तर मर्मत कार्य अन्तरगत सुरुङमार्ग अझै दोस्रो मुखमा छिचोल्न बाँकी छ । सहज रूपले आवत जावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २१५ मिटर मात्र बाँकी रहनेछ । प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा। सहदेव भण्डारीका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय सीमा आगामी साउन महिनासम्म थपिएको छ ।
सुरुङ पुनर्निर्माणको काम हालसम्म ७० प्रतिशत सकिएको डा। भण्डारीले जानकारी दिए । सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको छ । सकेसम्म पुरानै स्वरूपमा मर्मत गर्न लागिएको भण्डारीले बताए ।
सन् १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको थियो । पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ ।
उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको पूर्व मुख्यमन्त्री पौडेलको भनाइ छ ।
“प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो ” पौडेलले भने ।
हेटौंडाको चुरीयामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवद्र्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पुरा भएपछि सुरुङमार्गका अध्ययन प्रयोजनका लागि खुल्ला गरिने छ । “यो स्थान इञ्जिनियरीङ्गको विद्यार्थीको लागि महत्वपूर्ण सावित हुनसक्छ” पौडेलले भने ।
हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको शालिक समेत स्थापना गरिसकेको छ ।
