मकवानपुर । मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सोमबारदेखि पुनः सुरु हुने भएको छ । असार २ गतेबाट परिचयपत्र विवरण संकलन रोकिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै विवरण संकलन पुनः हुने जानकारी गराएको हो ।
असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य असार ६ गते सोमबार देखि पुनः संचालन गरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ ग्राम लागु औषध खैरो हिरोईन सहित १ जनालाई पक्राउ गरेको छ ।
हेटौंडाको रातोमाटे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा म्बार १५ बाट खैरो हिरोइन सहित व्यक्ति पक्राउ गरेको जनाएको छ । रातोमाटे चेकपोष्ट स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १ चाईनाक्वाटर बस्ने ३४ वर्षीय निराजन घिमिरेलाई नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । प्रवक्ता घिमिरेका अनुसार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
धनराज गिरी
घरभित्र बैकुण्ठ छ,सारा तीर्थधाम ।
सन्तान हुन् लवकुश अझ जूनघाम ।
मिठो बोली स्थायी शान्ति सरल हार्दिकता,
दूर धोबी,मातापिता सज्जन सीताराम ।
स्वर्ग भन्नु निवास हो मुस्कान हो पूँजी,
सुखी खुशी परिवार बिना चक्काजाम ।
भन्न जति सजिलो छ,हुन त्यति मुस्किल,
तर विवेक हावी भए हुन्छ हुन्छ काम ।
समझदारी जिम्मेवारी इमानदारी मन्त्र,
कर्मयोग अमृत हो ,गर्जो टार्ने दाम ।
कमाउने ,रमाउने आफ्नै सीमाभित्र,
रहे मर्यादामा सधैं नाम चल्छ भाम ।
यस्तो हुन,भित्र छुन,मनको कुरा सुन,
सरल सज्जन बन्नू जिउनु बिना छलछाम ।
चितवन
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भए पछि संघीय र प्रदेशको निर्वाचनको चर्चा सुरु भएको छ । सरकार आगामी कार्तिक अन्तिमसम्म प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको तयारीमा जुट्दैगर्दा नेताहरूमा चुनावको चर्चा सुरूभएको छ । यसैबीच नेकपा एकीकृत माओबादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारी आगामी चुनावमा मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा उत्रने भएका छन् ।
पाँच दलिय गठबन्धन दलहरुका तर्फबाट बिडारीले उम्मेदवारी दिने चर्चा सुरू गरेका हुन् । संघीय सरकारले आउँदो मंसिर महिनामा प्रदेश र संघीय चुनाब गर्ने तयारी गरिरहेको समयमा मकवानपुरमा पाँच दलिय गठबन्धनका तर्फबाट रामनारायण बिडारीले उम्मेदवारी दिने चर्चा चलेको हो ।
संघ र प्रदेशका सांसदको म्याद मंसिरमा सकिदै छ। आउँदो चुनाबसम्म पाँच दलिय गठबन्धन कायम रहेमा आफ्नो उम्मेदवारी हुने उनले बताए । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका बिडारीले गठबन्धनका तर्फबाट आफूले चुनाबका लागि टिकट प्राप्त गर्ने विश्वास व्यक्त गरे।
२०४८ सालमा थाहा दर्शनबाट यसै क्षेत्रमा चुनाब लडेका विडारीले अबको चुनाबमा आफूले लड्न खोज्नु हक र अधिकार भएको दाबी गरे । २०४८ सालको चुनाबमा निकटतम प्रतिद्वन्दी भएर चुनाबमा पराजित भएको स्मरण गराउँदै उनले अब पार्टीको केन्द्रीय कमिटी र जिल्ला कमिटीको सहमतीमा मात्र चुनाबी मैदानमा उत्रने बताए ।
आफ्नो क्षेत्रमा एक पटक पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई आफैले छोडिदिएको र अब भने आफै चुनाब लड्न पाउनु पर्ने उनको भनाइ छ । उनी माओबादीबाट दुइ पटक समानुपातिक सांसद भइसकेका छन् ।
मकवानपुर । मकवानपुरका पत्रकार श्रीराम अर्जुन मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीरामलाई २५ हजार राशीको उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।
२०६६ सालमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका कार्यसमिति सदस्य बनेका श्रीराम अर्जुन हाल संघको सचिव रहेका छन् । उनले दुई कार्यकाल सचिव भई कार्यसम्पादन गर्दै आइरहेका छन् । स्थानीय पत्रिकामा चलचित्र पत्रकारिता सुरु गर्दै आएका श्रीराम अर्जुनले लामो समय फिल्मी खबर साप्ताहिकका लागि हेटौंडाबाट काम गरेका थिए । उनी हाल हेटौंडाबाट सञ्चालित सिधाखबर डटकम, इमेज च्यानल र हिमालय टाइम्सको मकवानपुर संवाददाताको रुपमा कार्यरत छन् ।
शनिबार नेपाल सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रीरामलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा श्रीराम अर्जुनसँगै वरिष्ठ चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसैगरी संघले चलचित्र क्षेत्रसँग आबद्ध भएकालाई चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७७, ७८ र ७९ बाट सम्मानित गरेको छ । चलचित्र पत्रकारिता सम्मान २०७७ बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल )प्रदान गरिएको थियो ।
त्यस्तै, चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट कुमार आचार्य र गीता अधिकारी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८बाट मनोज न्यौपाने र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो ।
त्यस्तै, चलचित्र पत्रकारिता सम्मान २०७९ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट उध्दब रसाइली पुरस्कृत तथा सम्मानित भएका छन ।
चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशीको र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशीको रहेको छ ।
संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकारहरु, महानायक राजेश हमाल, अभिनेता भुवन केसी, सराेज खनाल, कृष्ण मल्ल लगायत कलाकारहरुको आतिथ्यता रहेको थियो ।
