मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भए पछि संघीय र प्रदेशको निर्वाचनको चर्चा सुरु भएको छ । सरकार आगामी कार्तिक अन्तिमसम्म प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको तयारीमा जुट्दैगर्दा नेताहरूमा चुनावको चर्चा सुरूभएको छ । यसैबीच नेकपा एकीकृत माओबादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारी आगामी चुनावमा मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ बाट चुनावी मैदानमा उत्रने भएका छन् ।
पाँच दलिय गठबन्धन दलहरुका तर्फबाट बिडारीले उम्मेदवारी दिने चर्चा सुरू गरेका हुन् । संघीय सरकारले आउँदो मंसिर महिनामा प्रदेश र संघीय चुनाब गर्ने तयारी गरिरहेको समयमा मकवानपुरमा पाँच दलिय गठबन्धनका तर्फबाट रामनारायण बिडारीले उम्मेदवारी दिने चर्चा चलेको हो ।
संघ र प्रदेशका सांसदको म्याद मंसिरमा सकिदै छ। आउँदो चुनाबसम्म पाँच दलिय गठबन्धन कायम रहेमा आफ्नो उम्मेदवारी हुने उनले बताए । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका बिडारीले गठबन्धनका तर्फबाट आफूले चुनाबका लागि टिकट प्राप्त गर्ने विश्वास व्यक्त गरे।
२०४८ सालमा थाहा दर्शनबाट यसै क्षेत्रमा चुनाब लडेका विडारीले अबको चुनाबमा आफूले लड्न खोज्नु हक र अधिकार भएको दाबी गरे । २०४८ सालको चुनाबमा निकटतम प्रतिद्वन्दी भएर चुनाबमा पराजित भएको स्मरण गराउँदै उनले अब पार्टीको केन्द्रीय कमिटी र जिल्ला कमिटीको सहमतीमा मात्र चुनाबी मैदानमा उत्रने बताए ।
आफ्नो क्षेत्रमा एक पटक पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई आफैले छोडिदिएको र अब भने आफै चुनाब लड्न पाउनु पर्ने उनको भनाइ छ । उनी माओबादीबाट दुइ पटक समानुपातिक सांसद भइसकेका छन् ।

