मकवानपुर । मकवानपुरका पत्रकार श्रीराम अर्जुन मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीरामलाई २५ हजार राशीको उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।
२०६६ सालमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका कार्यसमिति सदस्य बनेका श्रीराम अर्जुन हाल संघको सचिव रहेका छन् । उनले दुई कार्यकाल सचिव भई कार्यसम्पादन गर्दै आइरहेका छन् । स्थानीय पत्रिकामा चलचित्र पत्रकारिता सुरु गर्दै आएका श्रीराम अर्जुनले लामो समय फिल्मी खबर साप्ताहिकका लागि हेटौंडाबाट काम गरेका थिए । उनी हाल हेटौंडाबाट सञ्चालित सिधाखबर डटकम, इमेज च्यानल र हिमालय टाइम्सको मकवानपुर संवाददाताको रुपमा कार्यरत छन् ।
शनिबार नेपाल सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रीरामलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा श्रीराम अर्जुनसँगै वरिष्ठ चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसैगरी संघले चलचित्र क्षेत्रसँग आबद्ध भएकालाई चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७७, ७८ र ७९ बाट सम्मानित गरेको छ । चलचित्र पत्रकारिता सम्मान २०७७ बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल )प्रदान गरिएको थियो ।
त्यस्तै, चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट कुमार आचार्य र गीता अधिकारी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८बाट मनोज न्यौपाने र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट पोखराका रेम रसाइलीलाई प्रदान गरिएको थियो ।
त्यस्तै, चलचित्र पत्रकारिता सम्मान २०७९ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट उध्दब रसाइली पुरस्कृत तथा सम्मानित भएका छन ।
चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशीको र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशीको रहेको छ ।
संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकारहरु, महानायक राजेश हमाल, अभिनेता भुवन केसी, सराेज खनाल, कृष्ण मल्ल लगायत कलाकारहरुको आतिथ्यता रहेको थियो ।
In: मुख्य खबर, राष्ट्रिय, साहित्य/ कला
Tags: No Comments

