मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी मकवानपुरले हेटौंडामा छात्रवास र नगर बसको व्यवस्था माग गरेको छ ।
संगठनले सामुदायिक विद्यालयले असुल गर्दै आएको शुल्क खारेजी समेत माग गरेको छ । संगठनले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरिएको हो। हेटौंडा उपमहानगरपालिका आर्थिक रूपमा सम्पन्न हुंदाहुंदै कलिला बालबालिकालाई पौष्टिकयुक्त खाजाको लागि प्रतिव्यक्ति १० रूपियाँ थप गर्न माग गर्दा उक्त एजेन्डालाई बेवास्ता गरेको प्रति संगठनको ध्यानाकर्षण भएको जनाएको हो ।
संघीय सरकारले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई प्रतिव्यक्ति १५ रुपियाँ दिदै आएकोले यो कमि भएको महसुस गर्दै उपमहानगरपालिकाले १० थपेर २५ रूपियाँ पुर्याउन माग गरिएको हो ।
हेटौंडाको निजि शैक्षिक संस्थाले माफियालाई पाल्नकै लागि पाठ्यपुस्तक परिवर्तन गर्ने, पोषाक खरिदमा हुंदै आएको एकाधिकार रोक्नु पर्ने माग संगठनले गरेको छ । निजि विद्यालयहरूले मनोमानी रूपमा आफूखुसी तोक्दै आएको शुल्कमा नियन्त्रण हुनुपर्ने माअग अनेरास्ववियुले गरेको छ ।
यसैगरी स्कुल समयमा स्कुल अगाडि हेभि सवारी रोक्नुपर्ने, शैक्षिक संस्थाको नजिक सुर्तीजन्य, मदिराजन्य पदार्थको बिक्रीवितरण नियन्त्रण गर्नुपर्ने, विद्यार्थीलाई सवारी साधनमा ४५ प्रतिशत छुट दिनुपर्ने माग रहेको संगठन जिल्ला अध्यक्ष विशाल पौडेलले बताए ।
संगठनले यस बारे नगरपालिका, जिल्ला प्रशासनसमक्ष ज्ञापन पत्र बुझाए पनि यसको सुनुवाइ भएको छैन । असारको तेस्रो साता लाग्दासम्म सरकारी विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको कारण पढाई अवरुद्ध भएको प्रति संगठनको ध्यानाकर्षण भएको पौडेलले बताए । अबको एक सातामा पुस्तक उपलब्ध हुनुपर्ने र नभएमा आन्दोलन गर्ने संगठनको तयारी रहेको अनेरास्ववियु केन्द्रिय कमिटी स्थायी कमिटी सदस्य सन्तोष पौडेलले बताए ।
सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि स्पिड नियन्त्रणमा समेत ध्यान दिन प्रशासनसमक्ष अनुरोध गरिएको पौडेलले बताए । अब सरोकारवालासंग अन्तरक्रिया गर्ने र चरणबद्ध आन्दोलन गर्ने पौडेलले बताए ।
दिवाखाजाको बारेको सवालमा नीति तथा कार्यक्रममा थप गरिने आश्वासन नगर प्रमुखबाट पाएकोले आगामी २० असारसम्म पर्ख र हेरको अवस्थामा आफूहरू रहेको अध्यक्ष पौडेलले बताए । २० असारसम्म पनि दिवा खाजाको माग पुरा नभए विद्यार्थी लिएरै आन्दोलनमा उत्रने अध्यक्ष पौडेलले बताए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले १० परिवारलाई बिऊ बाख्रा बितरण गरेको छ । दिगो आर्यआर्जनमा टेवा पु¥याउने लक्ष्य सहित आदिवासी जनजाती महिलाहरुका लागि उपमहानगरपालिकाले बिऊ बाख्रा बितरण गरेको हाे ।
उपमहानगरका बिभिन्न वडामा रहेका बिपन्न समुदायका आदिवासी जनजाती महिलाहरुलाई प्रतिघर २ वटाका दरले १० परिवारलाई बिऊ बाख्रा बितरण गरिएकाे उपमहानगरपालिकाले जनाएकाे छ । हेटौंडा-८ का कमला गुरुङ र प्रमिला चौधरी, हेटौंडा ११ का माया थापा मगर र उर्मिला गुरुङ, हेटौंडा १३ का उजेली कुमाल र सुनिता मुक्तान, हेटौंडा-१५ का कुमरी तामाङ, हेटौंडा-१६ का बिष्णुमाया प्रजा चेपाङ, हेटौंडा-१७ का निर्मला भुजेल र सरिता राईलाई उपमहानगरका उप प्रमुख राजेश बानियाँले बिऊ बाख्रा हस्तातरण गरेका हुन् ।
उपमहानगरको समाजकल्याण शाखाले २ लाख १५ हजार १ सय रुपैयाँको लागतमा २० वटा बाख्रा खरिद गरी उनीहरुलाई वितरण गरेको हाे । कार्यक्रममा बिऊ बाख्रा हस्तान्तरण गर्दै उपप्रमुख बानियाँले सितैमा पाएको भनेर वेवास्ता नगरी दियो आय आर्जनमा जोडिन आग्रह गरे । उनले उपमहानगरपालिका कृषिको प्रवर्द्धन र विकासका लागि योजना बनाएरै काम गर्ने तयारीमा रहेका भन्दै पालिकाका हरेक वडामा पशु प्राविधिकको व्यवस्था गर्ने बताए ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषल मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगपालिका समाज कल्याण शाखाका अधिकृत भैरबबहादुर कुमालको सहभागिता रहेको थियो ।
मकवानपुर । नेपाल प्रेस युनियनकाे ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटाैंडामा हुने भएकाे छ । हेटाैंडाकाे राेयल पार्टी प्यालेसमा हुने महाधिवेशनकाे प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ ।
प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटाैंडामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनकाे तयारी तीव्र पारिएकाे जनाएकाे छ । बिहीबार नै रिगल हेटाैंडा रिसाेर्टमा महाधिवेशन तयारीकाे लागि सचिवालयसमेत उद्घाटन गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयकाे उद्घाटन गरेका हुन् ।
सचिवालय उद्घाटन गर्दै बानियाँले युनियनकाे महाधिवेशन सम्पन्न गर्न पार्टीले सबै प्रकारकाे सहयाेग गर्न तयार रहेकाे बताए । मुलुकमा लाेकतन्त्र र प्रजातन्त्रकाे रक्षा गर्न पत्रकारकाे अहम् भूमिका हुने भन्दै बानियाँले पत्रकारले सत्य र तथ्यमा आधारित भई सत्य सामाग्री प्रवाह गर्नुपर्नेमा जाेड दिए ।
पत्रकार सम्मेलनमा बाेल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनकाे महाधिवेशनकाे तयारी तीव्र पारिएकाे भन्दै साउन पहिलाे साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुकाे सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने बताए । महाधिवेशनकाे तयारीका लागि केन्द्रीय तथा स्थानीय समितिहरु गठन भइसकेकाे पनि उनले बताए । विविध कारणले यसअघि युनियनकाे महाधिवेशन सर्दै आएकाेमा यस पटक भने जस्ताेसुकै कठिन परिस्थितिका बाबजुत पनि महाधिवेशन सम्पन्न गर्ने उनले पतिवद्धता जनाए ।
महाधिवेशनले युनियनकाे नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने छ ।
महाधिवेशन सम्पन्न गर्नकाे लागि युनियनले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयाेजक राममणि दाहालकाे संयाेजकत्वमा स्थानीय समन्वय समिति गठन गरेकाे छ । जसकाे सहसंयाेजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी रहेका छन् । आवास व्यवस्थापन समिति संयाेजककाे जिम्मेवारी रुपेश दुलाललाई दिइएकाे छ भने भाेजन व्यवस्थापनमा सुजन विडारीलाई संयाेजक ताेकिएकाे छ । पाेष्टराज अधिकारी’कुमार’काे संयाेजकत्वमा सचिवालय व्यवस्थापन हुनेछ भने प्रचार प्रसारकाे जिम्मा केशव समर्पणलाई दिइएकाे छ ।
अध्यक्ष बद्री सिग्देलकाे संयाेजकत्वमा मूल आयाेजक समिति गठन गरिएकाे छ । स्वागत सत्कार समिति संयाेजकमा उपाध्यक्ष ईश्वरी ओझा रहेका छन् । विधान मस्याैला संशाेधन समितिकाे संयाेजक वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने प्रतिनिधि व्यवस्थापनकाे जिम्मा कार्यबहाक महासचिव भिष्मराज ओझालाई दिइएकाे छ । काेषाध्यक्ष सराेज अधिकारीकाे संयाेजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएकाे छ भने तेज रावलकाे अध्यक्षमा निर्वाचन समिति गठन गरिसकिएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ राधाकृष्ण मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
विहीबार दिउँसो कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००४ प १५९९ नंबरको मोटरसाईकल राधाकृष्ण मन्दिर नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ फुर्केचौर का २५ वर्षीय विशाल थापाको उपचारको क्रममा दिउँसो संचो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा ना ५१ प ७३५९ नंबरको मोटरसाइकलका २५ वर्षीय लक्ष्मण आचार्य र हेटौंडा-१८ का २३ वर्षीय सुमन थापा घाईते भएका थिए । थापा र आचार्यको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बालबालिकाको अवस्था सुधार्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने
Tags: No Comments
मकवानपुर । बालबालिकाहरुको विद्यमान अवस्थामा सुधार ल्याउन स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताइएको छ ।
संविधानले बालबालिकाको संरक्षण, उनीहरुको वृद्धि विकास तथा हितको लागि महत्वपूर्ण व्यवस्था गरेको भए पनि स्थानीय स्तरसम्म आइपुग्दा कार्यान्वय पक्ष फितलो भएको कारण बालबालिकाको विद्यामान अवस्थामा सुधार नआएको सरोकारवालाहरुले बताएका छन् ।
सिविन बाल हेल्प लाइन मकवानपुरले आयोजना गरेको बालश्रमको विद्यमान अवस्था, न्यूनीकरणका प्रयास, चुनौती र भावीकार्यदिशमा विषयक प्रदेश स्तरीय सरोकारवालसँग कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् ।
बालमैत्री स्थानीय शासन लागु भएका स्थानीय तहहरुमा समेत बालमैत्री संरचनाहरु नभएको, बालमैत्री स्थानीय शासनको पूर्ण कार्यान्वयन नभएको, स्थानीय तहका जनप्रतिनिधिहरुले बालमैत्री अभियानमा सहकार्य गर्न राम्रो चासो नदिने गरेको बाल क्लबका प्रतिनिधिहरुले गुनासो गरेका छन् । बालबालिकाहरुको अवस्थामा सुधार ल्याउन स्थानीय तहको वडा सदस्य, वडा अध्यक्षदेखि नै जिम्मेवार बन्नु पर्ने उनीहरुले बताए ।
“हाम्रो सवालमा साथ दिनुभन्दा हाम्रो अभियानमा भाँचो हाल्ने काम सम्म भएका छन्” मकवानपुर जिल्ला मनहरी गाउँपालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष आशिस बुढाथोकीले भने ।
गाउँपालिका स्तरीय बालक्लब सन्जाल अध्यक्ष बुढाथोकीका अनुसार मनहरी गाउँपालिकामा ८८ वटा बाल क्लब संजाल छन् । जसको अगुवाइमा १०० भन्दा बढी बालबालिका रोकिएको उनले बताए । “विगतमा सबै जनप्रतिनिधिको साथ पाउन गाह्रो भयो, आशा छ अब हालै निर्वाचित भएर आउनु भएका जनप्रतिनिधिबाट साथ होला ।”
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले सबैलाई कर्तव्यबोध गराउन ध्यान दिनुपर्ने बताए । जनप्रतिनिधिहरुलाई कर्तव्य बोध गराउनमा आफूले पनि निर्देशन गर्ने उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्न अझै धेरै बुझाउनु पर्ने अवस्था रहेको बताइन् । “जसरी भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सबैको मत सहजै जुट्छ, बालबालिका महिलाको क्षेत्रमा काम गर्न त्यो सहमति जुटाउनै संघर्ष गर्नुपर्छ” उनले भनिन् ।
कार्यक्रममा सिविन नेपाल अध्यक्ष माधब प्रधानले संविधानमा भएको कुरालाई कार्यान्वयनमा ल्याउने स्थानीय तहबाटै रणनीति र कार्यनीति आवश्यक भएको बताए ।
कार्यक्रममा अधिवक्ता सागर भण्डारीले कानुनी चुनौती तथा विवादित बुँदाहरुको कारण बालबालिकाहरुको अवस्थामाथि सुधार ल्याउन समस्या भएको बताए । स्थानीय तहमा बालकल्याण अधिकारी नियुक्ति नहुंदा समस्या भएकोले तत्काल यस्तो पदपुर्ति हुनुपर्ने उनले बताए ।
बालबालिका सम्बन्धि स्थिति पत्र प्रकाशन गर्ने, सबै पालिकामा १०९८ संचालन गर्ने, सामूहिक लगानीमा अस्थायी गृह बनाएर, बैकल्पिक स्याहारको व्यवस्था गर्ने जस्ता विषयमा गोष्ठिमा सहभागी सरोकारवालाहरुले सुझाव दिएका थिए ।
बागमती प्रदेशको ८ स्थानीय तह र मकवानपुर जिल्लाको ३ स्थानीय तह हालसम्म बालमैत्री स्थानीय शासन लागु भएको घोषणा भैसकेको छ । सिविन नेपाल अध्यक्ष माधब प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाको १० स्थानीय तहका प्रतिनिधिहरु, सामाजिक विकास मन्त्रालय, स्वास्थ मन्त्रालय, जिल्ला समन्वय समिति, बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।
