आँचल साहित्य कला पुञ्जद्वारा १० जना स्रष्टा सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुरका नारी साहित्यकारहरुको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले हेटौंडामा एकसाथ १० जना स्रष्टालाई सम्मान गरेकाे छ ।
शनिबार साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गरेकाे हाे ।साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाईमा लैजाने स्रष्टाहरुलाई एकसाथ सम्मान गरिएकाे आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यसवर्ष प्रदान गरिएकाे हो । आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गरिएकाे अध्यक्ष न्यौपानेले बताईन ।
मकवानपुरका अग्रज पत्रकार परियार सम्मानित
मकवानपुरका अग्रज पत्रकार कृष्णराम परियार सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिबार नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित सम्मान गरेको छ । ४३ वर्षदेखि पत्रकारितामा क्रियाशील परियारलाई इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान, २०७८ प्रदान गरिएको हो ।
पुञ्जले पत्रकार परियारसहित साहित्यकारहरु जनार्दन खनाल, तीर्थदेवी शिलवाल, सरिता तिवारी, देवराज खरेल, प्रशन्ना चौलागाईं, भूषिता वशिष्ट, छवी अनित्य, चित्रकार ऋत्विक के.बी. र मकवानपुरकी प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई नगद सहित सम्मान गरेको हो ।
पुञ्जकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु निमेश निखिल, आरसी रिजाल, गायिका शुसिला पाण्डे मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
सम्मानित व्यक्तित्व तथा पुरस्कारहरु
बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान –२०७८
समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ लामो समय मकवानपुरको साहित्यमा सेवा गरेर, साहित्यलाई पछ्याउँदै हिँड्नु भएकी साहित्यकार तीर्थदेवी सिलवाललाई प्रदान गरिएकाे छ । सिलवाललाई १० हजार १ राशी र सम्मानपत्रसहित सम्मानित गरिएकाे हाे । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मान पाउने पहिलो व्यक्ति मकवानपुरकी कवि प्रतिमा पाठक हुन । २०७५ सालका लागि रुकु कार्कीलाई प्रदान गरिएको थियो । यो सम्मान संस्थाबाट स्थापना भएको अक्षयकोषसहितको पहिलो सम्मान हो ।
प्रतिभा घिताल छन्द पुरस्कार–२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ का लागि झापामा जन्मनु भएकी साहित्यकार विशेषत छन्दलाई माया गर्ने भुषिता बशिष्ठलाई प्रदान गरिएकाे छ । एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्षमा छन्दमा कलम चलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदान गरिदै आएकाे छ । १० हजार १ रुपैयाँ राशीको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । पहिलो पटक यो पुरस्कार महाकाव्यकार बुनु लामिछानेलाई प्रदान गरिएको थियो । त्यसैगरी प्रभा भट्टराई र कृष्णदेवी शर्मालाई प्रदान गरिसकिएको छ ।
ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान– मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो समयदेखि क्रियाशिल अग्रज पत्रकार कृष्णराम परियारलाई प्रदान गरिएकाे छ । आँचलले एक लाख रुपैयाँको अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिलाई यो सम्मान प्रदान गर्दै आएको छ । परियार ७ हजार ७ सय ७७ नगद तथा सम्मानपत्रबाट सम्मानित भएका हुन् । २०७५ सालमा स्थापना भएको यो सम्मान पहिलो पटक अग्रज पत्रकार कौशल पाण्डेलाई प्रदान गरिएको थियो । यस अघी मकवानपुरका अग्रज प्रताप विष्ट, नवराज शर्मा पनि यो सम्मानबाट सम्मानित भइसकेका छन ।
टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८
साहित्यकार रुकु कार्की तथा बहिनीहरु प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले स्वर्गिय पिता तथा माताद्धयको नाममा स्थापना गरिएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ हेटौडाका कवि निवन्धकार देवराज खरेललाई प्रदान गरिएकाे छ । खरेल ११ हजार १ सय ११ रुपैयाँ राशी र सम्मानपत्रसहित सम्मानित भएका हुन् । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने व्यक्तिलाई दिइने यस सम्मान यस अघी ललिता दोषी र निमेष निखिललाई प्रदान गरिएको थियाे ।
अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५ सम्म अध्यक्षको रहेकी स्वर्गिय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनमा बसेर साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने हुने कवि सरिता तिवारीलाई प्रदान गरिएकाे छ । १ लाख ९० हजार अक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने व्यक्तिहरुलाई १५ हजार १ राशीसहित सम्मान प्रदान गरिदै आइएकाे छ । । यो सम्मान यस वर्षदेखि प्रदान गरिएकाे हाे ।
मुक्ति तारा नव प्रतिभा सम्मान २०७८
समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उनकी धर्मपत्नी तारा वैद्यको नाममा स्थापना गरेको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाईँलाई ५ हजार १ राशीसहित सम्मान गरिएकाे छ । साहित्यमा कलम चलाउनु हुने नवप्रतिभाहरुलाई यो सम्मान दिइदै आएको छ । यो सम्मानबाट पहिलो पटक प्रसिद्धिका लम्साललाई सम्मानित भएकी थिइन् ।
खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८
मकवानपुरका हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले आफ्नो पिताको नाममा स्थापना गरेको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ साहित्यकार जनार्दन खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । ५ हजार १ रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मानबाट पहिलोपटक रामचन्द्र आचार्य ‘फुर्सदी’ सम्मानित भएका थिए । पुरस्कार स्थापनकर्ता पौडेलको २०७९ असार ७ गते निधन भएको छ ।
मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८
शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ यस वर्षका लागि चित्रकारिताका उदयमान नवप्रतिभा ऋत्विक के. बी. लाई प्रदान गरिएकाे छ । ऋत्विकले पछिल्लो समय साहित्यमा पनि आफ्नो उपस्थिति देखाउन थालेका छन । ऋत्विक ३ हजार ५ नगरसहित उक्त सम्मानबाट सम्मानित भएका हुन् ।
आँचल साहित्य /कला सम्मान २०७८
आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको आँचल साहित्य/कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पु¥याउने हुने भलिवल खेलाडी चुडा खड्कालाई ५ हजार १ राशीसहितको यो सम्मान प्रदान गरिएकाे छ । समाजसेवी/साहित्यसेवी मुक्ति गोविन्द वैद्यले उक्त सम्मानकाे नगद सौजन्य गरेका छन । यसअघि यो सम्मानबाट कलाकार सूर्य सन्यासी सम्मानित भएका छ्न् ।
सुन्तलीमाया युवा प्रतिभा सम्मान २०७८ चन्द्र किरण श्रेष्ठ र मेनुका शर्माले स्थापना गर्नु भएको यो सम्मानबाट नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य सम्मानित भएका छन । युवाहरूलाई प्रदान गरिने सम्मानको राशी १० हजार १ रहेको छ । २०७७ मा स्थापना भएको यो पुरस्कारबाट यस अघि मकवानपुरकै कवि सुवास खनाल सम्मानित भएका थिए ।
मकवानपुर । बज्जिका भाषा र मिडिया नामक पुस्तक विमोचन गरिएको छ । पत्रकार एवम् साहित्यकारद्वय
सञ्जय साह (रौतहट) र गिरिजा अधिकारी (मकवानपुर)द्वारा लिखित पुस्तक गरुडा नगरपालिका रौतहटका मेयर कन्थमणी प्रसाद कलवारले विमोचन गरेका हुन ।
बज्जिका साहित्य संगम रौतहटको आयोजनामा शुक्रबार गरुडामा आयोजित प्रतिभा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा मेयर कलवारले लेखक अधिकारी र साहको लेखनयात्राको निरन्तरताको कामना गरे । उनले भने, ‘सञ्जयजी, गिरिजाजी पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको मार्गमा अघि बढिरहनुहोस्, यहाँहरुको लेखनले मधेश र मधेशीहरुको पहिचान बज्जिका भाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ, अझै अन्य विषयमा रचनात्मक ढंगले कलम चलाउनुहोला ।’
‘हामीले केही कार्यक्रमहरु तय गरेका छौँ । सरोकारवालाहरुसँग छलफल गरी आगामी दिनमा भाषा, साहित्य एवम् संस्कृतिको संरक्षण, र प्रर्वद्धनमा अझै प्रभावकारी रुपमा नगरपालिकाले काम गर्नेछ । हामी सँगै छौँ ।’ उनले भने ।
कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीले मधेश क्षेत्रको भाषा, संस्कृतिको संरक्षणका सन्दर्भमा पहाडी र हिमाली समूदायकोसमेत सहयोग आवश्यक रहेको बताए । उनले आफु लामो समय अमेरिकामा रहेको भएपनि लेखन र साहित्यमार्फत् स्थानीय कला, भाषा तथा संस्कृतिको जगेर्णा गर्न लागिपरेको बताए ।
कार्यक्रममा पुस्तकका लेखक अधिकारीले पुस्तकमा बज्जिका भाषाको अवस्था, यसको प्रभाव, महत्व, संरक्षणको क्षेत्रमा देखिएका चुनौती, आगामी दिनमा गर्नुपर्ने तयारी, भाषा प्रर्वद्धनको क्षेत्रमा मिडियाको भूमिकालगायतका विषयमा तथ्यसहितका जानकारीहरु समावेश गरिएको बताए ।
सो अवसरमा साहित्यकारहरुले उक्त पुस्तकमाथि समिक्षा गरेका थिए भने बज्जिका भाषामा कविता सुनाएका थिए । संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई पुस्तकका लेखक साहले सहजिकरण गरेका थिए । कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीलाई नगद ५ हजार राशीसहितको तुल्सी साहित्य सम्मान प्रदान गरिएको थियो भने लेखक एवम् तु खबर डटकमका सम्पादक अधिकारीलाई बज्जिका भाषाको विस्तार, अध्ययन, अनुसन्धान र प्रर्वद्धनको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाकी उपमेयर पुनम कुमारी चौधरी, साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्ग महालक्ष्मी साहित्य पुस्स्कारबाट सम्मानित भएका छन् । मकवानपुरकाे अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाजले मकवानपुरले महालक्ष्मी सहित्य पुरस्कार यस वर्ष प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङ्गलाई प्रदान गरेको हाे । समाजले उक्त पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।
भाषा,साहित्य कला र संस्कृतिको संरक्षण एवम संवद्र्धनको हेतुले विस २०५६ सालमा स्थापना गरिए प्रदान गरिन थालेकाे उक्त पुरस्कारको राशि ५१ हजार रहेको छ । शुक्रबार बिसौं पुरस्कार कार्यक्रमको आयोजना गर्दै प्रदान गरिएको हो ।
यस्तै मातृभूमि साहित्य समाज मकवानपुरको संयोजन र व्यवस्थापनमा ईश्वर मैनालीद्धारा बुबाको नाममा स्थापना गरेको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७८ बाट मकवानपुरका पत्रकार राममणि दाहाल सम्मानित भएका छन् । यस वर्षकाे उक्त पुरस्कार मकवानपुरमा लामो समय देखी पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार दाहाललाई प्रदान गरिएकाे हाे । उक्त पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ । दाहाल गोरखापत्रमा आवद्ध रहेका छन् । उनी पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष समेत हुन् ।
यसगरी कार्यक्रममा मकवानपुरे साहित्यकार किशन पौडेलको लघुकथा ‘खुसी’ को गृह बिमोचन तथा पुस्तकको सक्षिप्त चिनारी भएकाे छ । कार्यक्रममा विभिन्न स्रष्ट्राहरुकाे विभिन्न सिर्जनाहरु सुनिएका थिए । समाजका अध्यक्ष माधब पोख्रेलको अध्यक्षता तथा साहितयकार केशवराज आमोदीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी(अन्जली),महालक्ष्मी विकास बैंक हेटौडा शाखा प्रमुख शम्भुप्रसाद पराजुली लगायत मकवानपुरका विभिन्न स्रष्टाहरुको उपस्थिती रहेको थियो ।
यसै गरी मातृभूमि साहित्य समाजले भाषा साहित्य कला लगायतका विभिन्न विधाका ६ जनालाई समेत शनिबार आज सम्मानित गर्दैछ । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका ६ स्रष्टालाई विभिन्न पुरस्कारबाट सम्मान गर्ने भएकाे हाे ।
समाज अध्यक्ष पोखरेलले हातेमालो मातृभूमि युवा सृजनशील २०७८, गायिका सुनिता बुर्लाकोटी लुईटेल (हेटौंडा) र समाजका पुर्व अध्यक्ष राजबाबु पहाडीद्वारा स्थापित झलक बहादुर बानियाँ जीवन संघर्ष पुरस्कार मातृभूमि सम्मान, २०७८ हेटौडा १८ हर्नामाडी स्थित कमला आधारभूत विद्यालय कक्षा ७ की विद्यार्थी सृजना लोलाई प्रदान गरिने जानकारी दिए । लुईटेललाई १० हजार रुपैयाँ र लोलाई ६ हजार ५ सय रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिने भएको हो ।
यसैगरी, आशिष श्रेष्ठले बुवाको नाममा स्थापना गरेकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार, २०७८ समाजसेवी सिद्धिलाल श्रेष्ठ (हेटौंडा), समाजका उपाध्यक्ष कृष्ण प्रसाद दहालद्वारा बुवाको नाममा स्थापित इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८ संचारकर्मी सुषमा केसी श्रेष्ठ (काठमाडौं), अर्चना रिजालद्वारा आफ्ना श्रीमानको नाममा स्थापित शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ गोकुल लाल श्रेष्ठ (मकवानपुर) र निरा गोर्खाली (मकवानपुर) लाई प्रदान गरिने भएको छ । उनीहरुलाई जनही १५ हजार रुपैयाँ पुरस्कार राशी प्रदान गरिने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।
यसअघि संसद्मा दर्ता भइसकेको सो विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको थियो । त्यसरी फिर्ता गरिएको विधेयकको मस्यौदा पुनः पुरानै प्रावधान समेटेर अर्थ मन्त्रालयमा पठाइएपछि विधेयक फेरि विवादमा परेको छ ।
पुरानै मस्यौदा अर्थ मन्त्रालय पठाइयो
पुरानै प्रावधानलाई यथावत् राखेर संघीय मामिला मन्त्रालयले सो विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएपछि मन्त्रालयकै अधिकारीसमेत मन्त्रीसँग असन्तुष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा ऐनमा गर्नुपर्ने नयाँ व्यवस्था’bout मन्त्रालयस्तरमा कुनै छलफल नगरेको मन्त्रालयका सहसचिवको गुनासो छ । ‘मन्त्रीज्यूले बाहिरबाहिरै विधेयकको मस्यौदा तयार पारेर पठाउनुभयो, हामीलाई खासै कुनै जानकारी नै भएन्,’ मन्त्रालयका एक सहसचिवले राजधानीसँग भने । मन्त्री श्रेष्ठले विधेयकको मस्यौदा बनाउँदा अन्य केही मन्त्रीसँग मात्रै गोप्य साँठगाँठ गरेको र स्वतन्त्र विज्ञ तथा प्रशासनविद्सँग छलफल नगरेको भन्दै मन्त्री श्रेष्ठको मन्त्रालयभित्रै आलोचना भएको छ ।
मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले लामो समयदेखि चरम बेवास्ता गर्दै आइरहेको थियो । अहिले मन्त्रालयले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाए पनि सो विधेयकले अन्तिम रूप पाउन भने केही हप्ता लाग्ने बताइएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शेरबहादुर देउवा आफंैले लिएपछि पुरानै प्रावधान समेटिएको विधेयक अर्थ मन्त्रालयबाट स्वीकृत नहुने स्रोतको दाबी छ ।
त्यसैले अर्थ मन्त्रालयमा सो विधेयक रोकिने बताइएको छ । अर्थले केही प्रावधान थप गरी तथा संशोधन गरी स्वीकृत गरेमा पनि सो विधेक अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेपछि फेरि कानुन मन्त्रालय पठाउनुपर्छ । कानुनले पनि स्वीकृत गर्न केही समय लगाउनेछ । त्यसपछि मन्त्रिपरिषद्ले फेरि लोकसेवा आयोगमा पठाउनुपर्ने कानुनी प्रावधान छ । यसो हुँदा विधेयकले अन्तिम रूप पाउन अझै महिनौं दिन लाग्न सक्ने र सो अवधिसम्म निर्वाचन घोषणा भइसक्ने तथा संसद् पनि नरहने हुदा विधेयक चालू अधिवेशनबाट स्वीकृत नहुने करिबकरिब पक्कापक्कीजस्तै रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिनिधि सभामा झन्डै साढे दुई वर्षदेखि रहँदै आएको संघीय निजामती सेवा विधेयक केही समयअघि सरकारले फिर्ता लिएको थियो । विधेयक फिर्ता लिएर नयाँ रूपमा पुनः संसद्मा जाने आशा गरिए पनि मन्त्री श्रेष्ठले भने पुरानै प्रावधान यथावत् राखेर अर्थ मन्त्रालय पठाएका हुन् ।
– विवादास्पद प्रावधान यथावत्
– प्रदेश र स्थानी तहलाई केन्द्रसँग विच्छेद गराउने खेल
– सरोकारवाला र प्रशासनविद्सँग भएन छलफल
– विधेयकको मस्यौदा मन्त्रालयभन्दा बाहिरै तयार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार मन्त्री राजेन्द्र श्रेष्ठ, भूमिसुधारमन्त्री शशि श्रेष्ठ, तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेल, ऊर्जामन्त्री पम्फा भुसाललगायतको मिलिमतोमा यसअघि राज्यव्यवस्था समितिले विवादबीच स्वीकृत गरेको संघीय निजामती सेवा विधेयकमा भएको व्यवस्थाअनुसार नै हालको विधेयकलाई अघि बढाउन खोजेका हुन् । उनीहरू संसद् सकिएपछि पुरानै प्रावधान समेटेर अध्यादेशका आधारमा संघीय निजामती सेवा ऐन ल्याउने गृहकार्यमा लागेको स्रोतको दाबी छ । सरकारले संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा देशको कर्मचारी प्रशासन २९ वर्षअघि बनेको निजामती सेवा ऐन र नियमावलीअनुसार सञ्चालन हुन बाध्य छ । यो कानुन समयमा आउन नसक्दा सातै प्रदेश सरकारले पनि प्रदेश निजामती सेवा ऐन बनाउन सकेका छैनन् भने ७ सय ५३ वटा स्थानीय तहले स्थानीय सेवा ऐन बनाउन सकेका छैनन् ।
हाल अर्थ मन्त्रालयमा पठाइएको विधेयकको मस्यौदामा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद प्रदेश वा स्थानीय तहकै कर्मचारी राख्न प्रस्ताव गरिएको भने प्रदेश प्रमुख सचिव तथा प्रदेश मन्त्रालयका सचिव पनि प्रदेशकै कर्मचारी राख्न प्रस्ताव गरिएको छ ।
यस्तो प्रस्तावले प्रदेश र स्थानीय तहलाई केन्द्र सरकारबाट पूर्णरूपमा विच्छेद गर्न सक्ने भन्दै प्रशासनविद्ले यस प्रस्तावको विरोध गरेका छन् । प्रशासनविद्ले प्रमुख प्रशासकीय अधिकृत र प्रमुख सचिव पद केन्द्रकै कर्मचारी हुनुपर्ने सुझाव दिँदै आएका छन् ।
तर, अहिले मन्त्रालयले प्रस्ताव गरेको सो विधेयक मस्यौदामा समेटिएको विवादास्पद प्रावधानले संविधानले परिकल्पना गरेको तीनै तहको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयनका आधारमा सञ्चालन हुने भन्ने मान्यतालाई खण्डीकरण गर्ने दाबी प्रशासकको छ । राजधानी दैनिकबाट
मकवानपुर । मकवानपुरमा स्थानीय तहबाटै विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने भएको छ । सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले मकवानपुरका १० वटा पालिकाबाटै फाराम भर्ने व्यवस्था मिलाएको हाे ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्नेको भिडभाड बढेको र साइबरहरूले मनपरि ढंगले रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहबाटै फारम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
स्थानीय तहहरूको सहयोग र समन्वयमा स्थानीय तहमै ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्रको निःशुल्क अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयमा विहीबारकाे पत्रकार सम्मेलनमा प्रजिअ पाण्डेले बताए ।
शुक्रबारबाटै जिल्लाको १० वटै स्थानीय तहबाट निःशुल्क ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । इन्टरनेटको पहुँच भएकाहरूले घरबाटै फाराम भर्न सकिने छ । आफै अनलाइन फारम भर्न नसक्नेले आफ्नो पालिकाबाट निःशुल्क अनलाइन फारम भर्ने सेवा लिन जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेकाे सूचनामा भनिएकाे छ ।
‘आफ्नै स्थानीय तहमा निःशुल्क अनलाइन फाराम भर्न सकिन्छ ।’ प्रजिअ पाण्डेले भने । मंगलबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग बैठक बसेर स्थानीय तहबाटै ई–पासपोर्ट र राष्ट्रिय परिचयपत्र लागि अनलाइन फाराम भर्न सकिने वातावरण मिलाइएको पाण्डेले जानकारी दिए ।

