मकवानपुर । बज्जिका भाषा र मिडिया नामक पुस्तक विमोचन गरिएको छ । पत्रकार एवम् साहित्यकारद्वय
सञ्जय साह (रौतहट) र गिरिजा अधिकारी (मकवानपुर)द्वारा लिखित पुस्तक गरुडा नगरपालिका रौतहटका मेयर कन्थमणी प्रसाद कलवारले विमोचन गरेका हुन ।
बज्जिका साहित्य संगम रौतहटको आयोजनामा शुक्रबार गरुडामा आयोजित प्रतिभा सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा मेयर कलवारले लेखक अधिकारी र साहको लेखनयात्राको निरन्तरताको कामना गरे । उनले भने, ‘सञ्जयजी, गिरिजाजी पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको मार्गमा अघि बढिरहनुहोस्, यहाँहरुको लेखनले मधेश र मधेशीहरुको पहिचान बज्जिका भाषाको संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ, अझै अन्य विषयमा रचनात्मक ढंगले कलम चलाउनुहोला ।’
‘हामीले केही कार्यक्रमहरु तय गरेका छौँ । सरोकारवालाहरुसँग छलफल गरी आगामी दिनमा भाषा, साहित्य एवम् संस्कृतिको संरक्षण, र प्रर्वद्धनमा अझै प्रभावकारी रुपमा नगरपालिकाले काम गर्नेछ । हामी सँगै छौँ ।’ उनले भने ।
कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीले मधेश क्षेत्रको भाषा, संस्कृतिको संरक्षणका सन्दर्भमा पहाडी र हिमाली समूदायकोसमेत सहयोग आवश्यक रहेको बताए । उनले आफु लामो समय अमेरिकामा रहेको भएपनि लेखन र साहित्यमार्फत् स्थानीय कला, भाषा तथा संस्कृतिको जगेर्णा गर्न लागिपरेको बताए ।
कार्यक्रममा पुस्तकका लेखक अधिकारीले पुस्तकमा बज्जिका भाषाको अवस्था, यसको प्रभाव, महत्व, संरक्षणको क्षेत्रमा देखिएका चुनौती, आगामी दिनमा गर्नुपर्ने तयारी, भाषा प्रर्वद्धनको क्षेत्रमा मिडियाको भूमिकालगायतका विषयमा तथ्यसहितका जानकारीहरु समावेश गरिएको बताए ।
सो अवसरमा साहित्यकारहरुले उक्त पुस्तकमाथि समिक्षा गरेका थिए भने बज्जिका भाषामा कविता सुनाएका थिए । संगमका अध्यक्ष किसुन दयाल यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई पुस्तकका लेखक साहले सहजिकरण गरेका थिए । कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीलाई नगद ५ हजार राशीसहितको तुल्सी साहित्य सम्मान प्रदान गरिएको थियो भने लेखक एवम् तु खबर डटकमका सम्पादक अधिकारीलाई बज्जिका भाषाको विस्तार, अध्ययन, अनुसन्धान र प्रर्वद्धनको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाकी उपमेयर पुनम कुमारी चौधरी, साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
In: मुख्य खबर, साहित्य/ कला
Tags: No Comments

